पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यवसायी बाँचे व्यवसाय बाँच्ने बताए । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखरा(रेबान)को २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनको उद्घाटनसत्रमा मुख्यमन्त्री गुरुङले कोभिड–१९ को असरले पर्यटन क्षेत्रमा निकै ठूलो नोक्सान पारेको उल्लेख गर्दै ‘ हुलमुलमा ज्यान जोगाउनू, अनिकालमा बीउ जोगाउनू’ पर्ने बताए ।
प्रदेशले पर्यटन क्षेत्रमा दैनिक २७ अर्ब रुपैयाँ घाटा व्यहोरिरहेको उल्लेख गर्दै मुख्यमन्त्रीले अहिले व्यवसायीलाई राहत कार्यक्रम उपलब्ध गराएर व्यवसायबाट पलायन हुन नदिन आफूले विशेष पहल गरिरहेको जानकारी दिए । स्वास्थ्य सतर्कताप्रति ध्यान दिएर अब आन्तरिक पर्यटनमार्फत पर्यटन क्षेत्र चलायमान गराउनाको विकल्प नभएको उनको भनाइ थियो । उनले रानीवनलाई जैविक विविधतायुक्त सिटी पार्कमा विकास गर्ने र लेखनाथ पचभैयास्थित जुलोजिकल पार्क र मिनी मुस्ताङको अवधारणालाई साकार पारिने बताए ।
सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड –१९ को असर ठूला ठूला व्यवसायीलाई मात्रै नभएर साना तथा मझौला व्यवसायीलाई पनि परेको उल्लेख गर्दै सरकारले उनीहरुको समस्याको सम्बोधन गर्नुपर्ने बताए । लामो समयदेखिको विवादित फेवाताल सीमाङ्कनको कामले तीव्रता पाएको जनाउँदै उनले फेवातालको विषय टुङ्गेपछि पोखराको पर्यटनमा थप उत्साह थपिने विश्वास गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले कोभिड–१९ को प्रभावले मृतावस्थामा पुग्न लागेको पर्यटन क्षेत्रलाई जीवित राख्नका लागि प्रदेश सरकारलाई सङ्घीय सरकारसमक्ष आफ्ना कुरा आग्रह गरे । संस्थाका पूर्वअध्यक्ष गणेश भट्टराईले निकै असहज अवस्थामा रहेका पर्यटन व्यवसायीले यतिबेला सरकार भएको अनुभूति गर्न नपाएको गुनासो गरे ।
रेबानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले सरकारले रेष्टुरेण्ट व्यवसायलाई पर्यटन क्षेत्रमा सामेल नगराएर विभेद गरेको बताए ।
नेपालभरि १० अर्ब रुपैयाँ लगानी रेष्टुरेण्टमा भएको र करीब १ लाखले रोजगारी पाएको यस क्षेत्रमा अहिले कोभिड –१९ बाट ७० हजारले रोजगारी गुमाएको बताए । प्रत्यक्ष र अप्रत्यक्ष पर्यटनसँग जोडिने यस क्षेत्रप्रति सरकार सधैंँ उदासीन रहेको उनकोे गुनासो थियो ।
संस्थाका अध्यक्ष भीमसेन भुजेलले अहिलेका अवस्थामा मौद्रिक नीति कार्यान्वयन नहुँदा व्यवसायी झन् मर्कामा परेको गुनासो गरे । अधिवेशनको बन्दसत्रले शनिबार नै नयाँ कार्यसमिति चयन गर्ने संस्थाका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । उनका अनुसार रेबान पोखरामा ८० सदस्य छन् । सकेसम्म सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्ने तयारी भइरहेको छ ।
Comments are closed.