गण्डकी प्रदेशले चीनको छिन्घाई प्रान्तसँग भगिनी सम्बन्ध स्थापना गर्ने

आर्थिक आवाज
पोखरा । गण्डकी प्रदेशले चीनको छिन्घाई प्रान्तसँग भगिनी सम्बन्ध स्थापित गर्ने भएको छ । मन्त्री परिषद बैठकले छिन्घाईसँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको हो । त्यसका लागि संघ सरकारसँग अनुमती माग्ने मन्त्री परिषद बैठकले निर्णय गरेको मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार भेटघाटमा गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेश सरकारले गण्डकी प्रदेश विश्वविद्यालयको कुलपति सिफारिसका लागि सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा ३ सदस्यीय समिति बनाएको छ । समितिमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा.गिरीधारी शर्मा र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्याल सदस्य रहेको उनले बताए ।

बैठकले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहितको टोलीको अमेरिका भ्रमण स्विकृत गरेको छ । अमेरिकाको क्यालिफोर्निया प्रान्तमा यहि नोभेम्बर २ देखि ९ तारिखसम्म हुने आपराधिक कृयाकलाप नियन्त्रण र सुरक्षा समन्वय सम्बन्धी तालिममा सहभागि हुन मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, प्रमुख न्यायाधिवक्ता राजेन्द्र घिमिरे र गण्डकी प्रदेश प्रहरी प्रमुख बिनोदप्रसाद घिमिरेको भ्रमण स्विकृत गरेको हो ।

jutta mela

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकका रुपमा मुख्यमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेलाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । कार्यकारी निर्देशक नियुक्त नभएसम्म तत्कालका लागि पाण्डेलाई कार्यकारी निर्देशकको जिम्मेवारी तोकिएको प्रवक्ता बस्नेतले बताए ।

मन्त्री परिषद बैठकले नमूना कार्यालय छनौट गर्नका लागि प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालको संयोजकत्वमा सिफारिस समिति बनाउने निर्णय गरेको छ । समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, प्रमुख न्यायाधीवक्ता र प्रदेश लेखा संयोजक रहने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए । कार्यालयको सेवा छिटो, छरितो, भरपर्दो र पारदर्शी बनाउनका लागि प्रेरित गर्नका लागि पुरस्कृत गर्न लागिएको उनले बताए ।

बैठकले नीजि फर्म नवीकरण सम्बन्धी पुरानै नियमावलीलाई निरन्तरता दिने निर्णय गरेको छ । अर्को नियमावली नबनिसकेकाले पुरानो नियमावलीको म्याद थपिएको उनले बताए ।

सरकारले संघीय योजना आयोगले समपुरक तथा विशेष अनुदानका लागि १९ वटा योजना सिफारिस गर्ने निर्णय गरेको छ । जस अनुसार विशेष अनुदानका लागि ८ र समपुरक अनुदानका लागि ११ वटा योजना सिफारिस गर्ने निर्णय गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए । प्रदेश सरकारले सडक निर्माण, विद्युत बिस्तार, काठेपुल प्रतिष्थापन, सिंचाई, एकीकृत प्रादेशिक सरकारी कार्यालय भवन नवलपुर, एक घर एक धारा कार्यक्रम, आधारभूत खानेपानी पहुँच बृद्धि, स्वास्थ्य क्षेत्र सुदृढिकरण, विपन्न वर्गमा स्वरोजगार तथा ब्यबसाय प्रवद्र्धन, सामुदायिक विद्यालयमा कक्षा ११÷१२ अध्ययनरत विपन्न विद्यार्थी प्रोत्साहन कार्यक्रम, प्रदेश स्तरिय अपाङ्गता पुर्नस्थापना÷रोजगार केन्द्र, नमुना आवासीय विद्यालयहरुमा बिस्तृत परियोजना प्रतिवेदनका आधारमा निर्माण कार्य, गण्डकी विश्वविद्यालय स्थापना र सञ्चालन, गण्डकी प्राविधिक प्रतिष्ठान स्थापना र सञ्चालन, उच्च पहाडी तथा हिमाली क्षेत्रमा आलु खेती प्रवद्र्धन मिसन कार्यक्रम योजना संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

बैठकले सामाजिक विकास मन्त्रालयका सचिव डिल्लीराम शर्माको चीन भ्रमण स्विकृत गरेको छ । बैठकले शर्माको यहि नोभेम्बर ६ तारिखदेखि १२ तारिखसम्म हुने चिनको हैनान प्रान्तमा हुने भ्रमण स्विकृत गरेको हो । विश्वविद्यालय सम्बन्धी कार्यशालामा भाग लिन सचिव शर्मा हैनान जान लागेकाले स्विकृति प्रदान गरिएको प्रवक्ता बस्नेतले बताए ।

You might also like

Comments are closed.