गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्दै यसो भने प्रदेश प्रहरी प्रमुख शर्माले

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद शर्मा घिमिरेले आज गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण गरेका छन् । कार्यरत प्रहरी कर्मचारीहरुलाई व्यावसायिक प्रहरी सेवा प्रवाहको विषयमा निर्देशन सम्बोधन समेत गरेका छन् ।

कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एव अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त बनाउने उद्देश्यले उक्त निरीक्षण कार्यक्रम सम्पन्न भएको बताइएको छ । निरीक्षणका क्रममा उनले प्रदेश प्रहरी कार्यालयका विभिन्न शाखा, मेष, व्यारेक लगायत सवारी साधनहरुको समेत निरीक्षण गरे ।

निरीक्षण पश्चात कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले प्रहरी सेवा सदैव जनलक्षित हुने भएकाले जनताले आफू सुरक्षित भएको महसुस हुने सेवा प्रदान गर्न आवश्यक रहेको बताउँदै यसप्रति सबैको ध्यानाकर्षण गरेका छन् ।

मानवअधिकारको संरक्षण समेत प्रहरीको प्रमुख दायित्व भएकाले प्रहरीबाट मानव अधिकारको हनन् कदापि हुन नहुने र समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत समाजमा यस सम्बन्धि जनचेतना फैलाउन समेत प्रहरी सक्रियता बढाउन उनले निर्देशन गरेका छन् ।

सोही क्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले समग्र प्रदेश अन्तर्गतको भौगोलिक तथा राजनैतिक अवस्था, शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिविधि, समुदाय प्रहरी साझेदारी अन्तर्गत भएका कार्यक्रमहरु लगायतका विषयहरु समेटिएको प्रस्तुतीकरण प्रहरी नायव महानिरीक्षक समक्ष प्रस्तुत गरे ।

You might also like

Comments are closed.