‘गाडीको वर्गीकरण गरेर छुट्टाछुट्टै नीति बनाउनुपर्छ’

ध्रुव थापा
अध्यक्षः हिमालय अर्गनाइजेसन
उपाध्यक्षः नेपाल अटोमोबाइल डिलर्स एशोसियसन

नेपालमा अटोमोबाइलको अवस्था कस्तो छ ?

नेपालमा अटोमोबाइलको अवस्था खस्किएको छ । २ वर्षदेखि अटोमोबाइलको ब्यापार डाउन भएको छ । अहिले नै आत्तिएर नाजुक नै त नभनौं । तर सरकारी नीति र बैंकिङ नीतिका कारण अटोमोबाइल थलिएको छ । व्यापार बढ्नुपर्नेमा झन् घटिरहेको छ । तुलनात्मक रुपमा गाडीको भन्दा मोटरसाइकलको सन्तोषजनक नै छ ।

jutta mela

कस्ता साधनको बिक्रीमा गिरावट आएको हो ?

समग्र नेपालमा अहिले अटोमोबाइलको व्यापार घटेको छ । यो मोटरसाइकलमा नभई कार तथा बस, जीप, ट्याक्सी तथा ढुवानीका साधनहरुको ब्यापार घटेको छ ।

अनि गण्डकी प्रदेशमा नि ?

गण्डकी प्रदेशमा पनि अटोमोबाइलको ब्यापार राम्रो छैन । तुलनात्मक रुपमा समग्र अवस्था भन्दापनि गण्डकी प्रदेशमा व्यापारको रेसियो कम छ । काठमाडौंमा बरु अहिले केहि सुधार देखिएको छ । तर गण्डकी प्रदेशमा सुधारको संकेत देखिएको छैन । मोटरसाइकलको ब्यापार भने गण्डकी प्रदेशमा पनि ठीकै छ ।

यसरी व्यापार खस्किनुको कारण के हो ?

अटोमोवाइलको ब्यापार खस्किनुको प्रमुख कारण भनेको बैंकिङ नीति हो । बंैकिङ नीति नै सरकारको नीति भएकाले सरकारी नीति कै कारण अटोमोबाइलको व्यापार खस्किएको हो भन्न सकिन्छ । बैंकले अटोमोबाइलमा ५० प्रतिशत मात्र लोन दिने नीति ल्याएपछि ब्यापार ह्वात्तै घटेको हो । सधैं वार्षिक रुपमा १५ देखि २० प्रतिशत बृद्धि हुन्थ्यो अटोमोबाइलको ब्यापार । तर अहिले बढ्नुको सट्टा घट्दो क्रममा छ ।

अवस्था सुध्रिएन भने अटोमोबाइलको अवस्था कस्तो होला ?

यहि अवस्था जारी रह्यो भने अटोमोबाइलको अवस्था नाजुक हुन्छ । तर अटोमोबाइल आधारभूत आवश्यकता जस्तै भएको छ । सवारी साधन बिनाको जीवन सोच्न पनि सकिन्न । यो नहुने हो भने आवतजावतदेखि ढुवानीमासमेत असर पर्छ । त्यसैले सरकारले यसमा सोंच्नै पर्छ । ब्यापारै चौपट हुन्छ कि भन्ने त हुँदैन । तर तत्काल सुधार हुने सम्भावना पनि देखिदैन ।

सरकारी नीति परिवर्तन गर्नुपर्ने आवश्यक्ता देख्नुहुन्छ ?

सरकारले अब नीति परिवर्तन गर्नुपर्छ । सवारी साधनको क्याटागोराइज गर्नुपर्छ । सरकारले महंगा गाडीमा अहिलेकै नीति ठीक छ । तर आधारभूत आवश्यकताका गाडीहरु अर्थात सस्ता गाडीहरुमा अहिलेको नीति परिवर्तन गर्नुपर्छ । यसरी नियमले नबाँध्दा नै राम्रो हुन्छ ।

समस्या समाधानका लागि पहल पनि भइरहेको छ ?

समाधानका लागि हामीले बारम्बार सरकारलाई झकझकाई रहेका छौं । अर्थमन्त्रीलाई भेटेर पटक÷पटक भनिरहेकै छौं । यो सब सरकारले नै रेगुलेसन गर्ने हो । अटोमोबाइलले नै समग्र अर्थतन्त्रलाई परिचालन गरेको छ । नेपालको अर्थतन्त्रको ३० प्रतिशत त अटोमोबाइलको योगदान छ । त्यतिमात्र होइन प्रत्यक्ष अप्रत्यक्ष गरेर २५ प्रतिशत रोजगारीसमेत अटोमोबाइलले दिएको छ । त्यसैले यसलाई विशेष तरिकाले हेरेर समाधान खोजिनुपर्छ ।

अटो लोन ९० प्रतिशतसम्म दिदा समस्या थियो । साधन लगेर पछि वेपत्ता हुने, लोन नतिर्ने गर्दा हामी पनि समस्यामा थियौं । तर एकैपटक ह्वात्तै घटाएर ५० प्रतिशतमा झार्दा अटो व्यवसाय नै संकटमा प¥यो । यसलाई ७० प्रतिशतसम्म पु¥याउँदा सबैभन्दा उपयुक्त हुन्छ । त्यस्तै अघि मैले भनेझैं क्याटागोराइज गरेरपनि समाधान खोज्न सकिन्छ ।

तपाईंले सवारी साधनलाई आवश्यकता भन्नुभयो, तर सरकार र आम मानिस यसलाई विलासिताको साधन पो भन्छन् त ?

कुरा त्यस्तो होइन । सवारी साधनको क्याटागोराइज गर्नुप¥यो जुन मैले भनेँ त्यो नै अहिलेको यथार्थ हो । हामी महंगा सवारी साधनलाई आवश्यक्ताको साधन भन्दैनौं । तर सस्ता खालका कारहरु, बस, ट्याक्सी, जीप तथा ढुवानीका साधनहरु त आवश्यक्ता हुन् नि । हो तिनीहरुलाई पनि विलासिताको आँखाले हेर्नु भएन । यसलाई छुट्याएर नीति बनाउने वित्तिकै यसको समाधान हुन्छ ।

हिमालय अर्गनाइजेसन अन्तर्गत कुन कुन व्यवसाय छन् ?

हिमालय अर्गनाइजेसनको सबै भन्दा पुरानो भनेको सुजुकी मोटरसाइकल हो । यो हामीले स्थापनादेखि नै गर्दै आएको छौं । त्यस्तै, फोर्स मोटरको इम्पोर्टर र डिष्ट्रिब्यूटर हो हामी । अहिले फोर्स मोटरको नेपाल भर नेटवर्क बिस्तार गरिरहेका छौं । यसैगरी हेभी इक्यूपमेन्ट, फेस कम्पनीको रोलरलगायतका सामग्रीको गण्डकी प्रदेश स्तरीय डिलरसीप, फोर्ड गाडीको डिलरसीपदेखि हस्पिटालिटी, रियलस्टेट, बैंकिङ, एजुकेसनलगायतमा पनि हाम्रो लगानी छ ।

You might also like

Comments are closed.