चाडपर्वको मुखमा सुनचाँदीको अभाव

सुरेन्द्र पौडेल
पोखरा, ११ भदौ ।

चाडपर्वको मुखमा पोखराका सुनचाँदी व्यवसायीहरु व्यवसाय नै बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । सुनचाँदी व्यवसाय सम्बन्धी निर्देशिकाको अभाव, सुनको अभाव र सुनको असमान वितरणका विरुद्ध व्यवसायी आन्दोलित भएका हुन् । माग अनुसार सुनको अभाव भएपछि कास्कीमा आइतबार र सोमबार सुनचाँदी व्यवसाय नै बन्द गरिएको छ ।

सुनचाँदी व्यवसायी संघ कास्की र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीको संयुक्त बैठकले भदौ १० र ११ गते कास्कीमा सुनचाँदी व्यवसाय बन्द गर्ने निर्णय भएको हो । सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यबहाक अध्यक्ष भविन्द्र विश्वकर्मा र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीका अध्यक्ष किसान सुनारले संयुक्त विज्ञप्ति जारी गरी चाडपर्वको समयमा सुन अभावका कारण व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए ।

कास्कीमा दैनिक ४ किलो सुनको माग भएपनि राष्ट्रबैंकले सातामा जम्मा ३ किलो सुन मात्र उपलब्ध गराउँदै आइरहेको सुनारले बताए । ‘सुनको बढी माग हुने समयमा सुनको अभाव भएपछि कास्कीमा करिब ५ सय सुनचाँदी व्यवसायी मर्कामा परेका छन्,’ उनले भने, ‘यस्तै अवस्था हो भने व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउनसक्छ ।’

नेपालमा राष्ट्रबैंकले दैनिक २० किलो सुन व्यवसायीलाई उपलब्ध गराउँछ । उपलब्ध सुन मध्ये काठमाडौंका तीन जिल्लालाई ६० प्रतिशत र बाँकी ७४ जिल्लालाई जम्मा ४० प्रतिशत सुन वितरण हुँदै आइरहेको छ । यो असमान सुन वितरण प्रणालीको अन्त्य हुनुपर्ने व्यवसायीहरुको माग छ । दुई दिनसम्म व्यवसाय नै बन्द गरेर आन्दोलन गर्दासमेत माग पुरा नभए थप आन्दोलन गरी अनिश्चितकालीन व्यवसाय बन्द गर्ने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।

२०७० वैशाख १३ गते सुनचाँदी व्यवसायी र सरकारबीच सुनचाँदी व्यवसायसम्बन्धी निर्देशिका तत्काल जारी गर्ने सहमति भएको थियो । उक्त सहमति अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । ‘बिगत लामो समयदेखि सुनचाँदी व्यवसाय सञ्चालन गर्नका लागि छुट्टै निर्देशिका जारी गर्न हामी व्यवसायीहरु संघर्ष गर्र्दै आएकोमा हालसम्म निर्देशिका नबनेकाले व्यवसाय सञ्चालन गर्न निकै अप्ठ्यारो भएकाले तत्काल निर्देशिका जारी गरियोस,’ विज्ञप्तिमा भनिएको छ ।

कोटा प्रणाली अन्तर्गत नेपाल राष्ट्र बैंकद्वारा उपलब्ध गराइने सुन १ केजीको परिणाममा मात्र रहेको हुँदा व्यवसायीहरुलाई असहज भएको भन्दै ५० ग्राम, १ सय ग्राम र ५ ग्रामको परिणाममा समेत सहजै सुन उपलब्ध गराउन माग गरिएको छ । ‘झिटी गुन्टा मार्फत आउने सय ग्राम सुनमा साबिककै अवस्था अनुरुप व्यवस्था गरियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल राष्ट्र बैंकले सुन आपूर्तिमा लगाएको सिन्डिकेट अन्त गरियोस् ।’ कास्कीमा रहेका सुनचाँदी पसलमा ७ सय विदेशी र ५ सय स्वदेशी कालिगढ कार्यरहत रहेको विश्वकर्माले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.