चिनीया पर्यटकलाई लक्षित गर्दै पथ प्रदर्शक तयार पारिदै

आर्थिक आवाज
पोखरा । चिनीया पर्यटकलाई लक्षित गर्दै पोखरामा पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाइड) तयार पार्न थालिएको छ । चिनीया पर्यटक बढ्न थालेपछि त्यसलाई मध्यनजर गर्दै दक्ष पथ प्रदर्शक तयार पार्न थालिएको हो ।

यकिन तथ्यांक नभएपनि वार्षिक २ लाख चिनीया पर्यटक नेपाल भित्रिने बताइन्छ । नेपाल भित्रिएका चिनीया पर्यटक मध्ये करीब ९० प्रतिशत पोखरा भित्रिने पर्यटन व्यवसायीको दाबी छ । त्यसरी नेपाल आएका चिनीया पर्यटकलाई ट्रेकिङ लैजाँदा भाषाको समस्या पर्दै आएको छ । चिनीया पर्यटकले अंग्रेजी नबोल्ने, नेपाली पथ प्रदर्शकले चिनीया नबुझ्ने भएकाले ट्रेकिङ जाँदा समस्या आउने गरेको पथ प्रदर्शक बिपिनराज सापकोटाले बताए ।

तिनै चिनीया पर्यटकलाई लक्षित गर्दै नेपाल ट्रेकिङ, ट्राभल्स, ¥याफ्टिङ, एयरलाइन्स , पुरातात्विक, संस्कृति, कार्गो, कुरियर, कर्मचारी मजदुर युनियन (युनिट्राभ)को आयोजनामा पोखरामा १ महिने निःशुल्क चिनीया भाषा तालिम सञ्चालन गरिएको छ । चिनीया पर्यटकसँग उनीहरुकै भाषामा कुरा गर्दै नेपालको प्रकृति र संस्कृतिबारे बुझाउनसक्ने पथ प्रदर्शक तयार गर्नु तालिमको उद्धेश्य रहेको युनिट्राभ पोखराका अध्यक्ष बिजय केसीले बताए । व्यवसायीक पथ प्रदर्शक आजको आवश्यक्ता भएकाले सो अनुसारको पथ प्रदर्शक तयार गर्ने प्रयास आफूहरुको रहेको उनको भनाई छ ।

jutta mela

आधारभुत र विशिष्टिकृत गरी दुई समूहमा गरी कुल साठी जनाले तालिम लिएको अध्यक्ष केसीले जानकारी दिए । उनका अनुसार आधारभुतमा ३५ जना र विशिष्टिकृतमा २५ जनाले तालिम लिएका छन् ।

तालिम पश्चात प्रशिक्षार्थी पथ प्रदर्शकले आफ्नो क्षेत्रमा चिनीया भाषा बोलेर चिनीया पर्यटकको मन जित्ने आशा लिइएको उनले बताए । यो भ्रमण वर्ष लक्षित गरेर तालिम गरिएको हो,‘उनले भने,‘चिनीया भाषा बुझ्ने र बोल्ने गरेमा चिनीया पर्यटक खुशी हुन्छन्, उनीहरुको कुरा बुझेर यहाँको बारे जानकारी गराउँदा दंग पर्छन्, आएका पर्यटक खुशी भएर फर्किए माउथ वर्डले चिनीया पर्यटक बढाउनसमेत मद्धत गर्छ ।’

पछिल्लो समयमा चिनीया पर्यटकको नेपाल आगमन ह्वात्तै बढेको छ । नेपाल आएका चिनीया पर्यटकको पहिलो रोजाई पोखरा र ट्रेकिङ हुने गरेको बताइन्छ । पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बन्नु र पर्यटन वर्ष मनाइरहँदा चिनीया पर्यटक झनै बढ्ने अनुमान गरिएको छ । सोको तयारी स्वरुपपनि व्यवसायीक पथ प्रदर्शक तयार गर्नुपनि तालिम आयोजना गर्नुको कारण रहेको अध्यक्ष बिजय केसीले बताए ।

‘दोषारोपण नगरौं, हामी मिलौं’

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मिलेर जान पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् । मन्त्री र पर्यटन व्यवसायीको खटपट चलिरहेको हल्ला चलिरहेका बेला युनिट्राभको तालिम समापन तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री लम्सालले भने,‘हामी अब मिलौं, दोषारोपणको अन्त्य गरौं ।’ उनले पर्यटन व्यवसायीलाई गुनासो मात्रै गर्ने र कुरा मात्रै काट्ने बानीको अन्त्य गर्नपनि आग्रह गरे ।

मन्त्री लम्सालले पर्यटनबाटै समृद्धीमा पुगिने जिकिर गरे । तपाईंहरु ढुक्क हुनुस्,‘उनले भने,‘हामी पर्यटनबाटै समृद्धीमा पुग्न सक्छौं, पर्यटनबाटै रोजगारीपनि सिर्जना गर्न सक्छौं ।’ उनले भ्रमण वर्षको तयारी तिव्र रुपमा भइरहेको बताए । पर्यटनको दिवसको अवसरमा ६ वटै प्रदेशका मुख्यमन्त्रीलाई गण्डकी प्रदेश बोलाएर भ्रमण वर्षको सन्देश दिन लागिएको उनले जानकारी दिए । उनले गण्डकी प्रदेश सरकार आएपछि मासिक ९ हजार पर्यटक बढेकोसमेत दाबी गरे ।

मन्त्री लम्सालले केहि टाठाबाठा र बिचौलियाले देश तहस्नहस् पारिरहेको आरोप लगाए । उनले ईमान्दार र कर्तव्यनिष्ठहरु पछि पर्दा सोंचेजस्तो उपलब्धी हासिल नगरिएको बताउँदै अब ईमान्दार र कर्तव्यनिष्ठलाई अगाडि बढाउन सबैले पहल गर्नुपर्ने बताए । उनले जथाभावी डोजर चलाउने अवस्थाको चाँडै अन्त्य गर्ने उद्घोष गरे । डोजर ऐन बन्ने क्रममा रहेकाले सो ऐनले डोजरलाई नियमन गर्ने बताए ।

पर्यटन वर्ष २०२० का गण्डकी प्रदेश संयोजक अग्नी कँडेलले समृद्धीको आधार मध्ये पर्यटनलाई पहिलो नम्बरमा राखेपनि सरकारले बजेट भने सो अनुसार नछुट्याएको गुनासो गरे । भनाई र गराइमा तादात्म्यता नमिलेको भन्दै उनले भने,‘यसरी गन्तव्यमा पुगिदैन ।’

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पोखरा च्याप्टरका महासचिव जीवनराज सापकोटाले ट्रेकिङ रुटहरुको पुर्ननिर्माण तथा नया पूर्वाधार निर्माणमा सरकारले ध्यान नदिनुका साथै सडक निर्माण गर्दा वैकल्पिक उपाय नअप्नाई ट्रेकिङ रुट नै ध्वस्त गर्नेसम्मको कार्य भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । यसले पर्यटनमा नकारात्मक असर पार्ने उनले चेतावनीसमेत दिए ।

You might also like

Comments are closed.