‘जन्मन र मर्नपनि डराउने दिन आयो’ : गजुरेल

पोखरा, ८ चैत

देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले देशमा फाँसीबाद आउन लागेको बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चाको गण्डकी प्रदेश स्तरीय सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै उनले ओली सरकार फाँसीबादतर्फ उन्मुख भएको आरोप लगाएका हुन् । उनले प्रमुख प्रतिपक्षी दल कांग्रेस भिजेको बिरालोजस्तो भएर निरिह बसेको टिप्पणी गरे । कांग्रेस केहि गर्नै नसक्ने अवस्थामा रहेको बताउँदै उनले ओली सरकारबिरुद्ध आन्दोलन गर्नका लागि आग्रह गर्दा कांग्रेसले दुई तिहाई भएसम्म वर्तमान सरकारलाई केहि गर्न नसक्ने बताएको उल्लेख गरे ।

अध्यक्ष गजुरेलले प्रचण्ड वा शेरबहादुरलाई प्रधानमन्त्री बनाउनका लागि ओली सरकारबिरुद्ध आन्दोलन गर्न नखोजिएको स्पष्ट पारे । उनले भने,‘बरु ब्यबस्था नै परिवर्तनका लागि ओलीलाई हटाउन आन्दोलन गर्दैछांै, यो आन्दोलन ब्यबस्था परिवर्तनका लागि हो, संघीय जनगणतन्त्र ल्याउनका लागि हो ।’

jutta mela

अध्यक्ष गजुरेलले ओलीले शक्ति केन्द्रीकृत गरिरहेको आरोप लगाउँदै देशमा चाँडै निरंकुशता आउने बताए । त्यसैको उपज सेना परिचालनमा एकलौटी निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमा निहित गर्न खोजेको उनको दाबी थियो ।

अध्यक्ष गजुरेलले देश संघीयतामा गएपछि जन्मन र मर्नपनि डराउने दिन आएको टिप्पणी गरे । संघीयतामा बिकृति आउँदा जनताले सास्ती र त्रसित हुनुपर्ने अवस्था आएको बताउँदै उनले भने,‘जन्मदापनि जन्मदर्ताको नाममा कर तिर्नुपर्छ र मर्दापनि मृत्यू दर्ताको कर तिर्नुपर्ने त्रास छ, यसले गर्दा जनता जन्मन र मर्नपनि डराउने दिन आएको छ ।’

अध्यक्ष गजुरेलले ओली सरकार आएपछि भ्रष्टाचार संस्थागत भएको आरोप लगाए । उनले भ्रष्टाचारीलाई प्रधानमन्त्रीले नै संरक्षण गरिरहेकोसमेत आरोप लगाउँदै भने,’हिजो टेबल मुनीबाट भ्रष्टाचार हुन्थ्यो, आज खुलेआम भइरहेको छ, हिजो हजार र लाखमा सिमित थियो तर आज करोडौं र अर्बौंमा पुगेको छ ।’

अध्यक्ष गजुरेलले शिक्षा र स्वास्थ्य डामाडोल भएको बताए । शिक्षा र स्वास्थ्यमा भ्रष्टाचार मौलाएको बताउँदै उनले भने,‘संविधानमा समाजवाद लेखिएपनि अहिले शिक्षामा व्यवसायीकरण र माफियाकरण मौलाएको छ ।’

You might also like

Comments are closed.