‘जेसिज युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो’

सन्तोष शाही
अध्यक्ष, पोखरा जेसिज

१८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो जेसिज । यतिबेला जेसिज पोखराको नेतृत्वमा छन् युवा व्यवसायी सन्तोष शाही । निर्वाचित भएर आएपछि भएका कामहरु, जेसिजका विशेषता लगायत विषयमा केन्द्रित रहेर शाहीसँग आर्थिक आवाजका लागि सन्देश श्रेष्ठले गरेको कुराकानीः

जेसिजको अहिलेसम्मको आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नु भएको छ ?

jutta mela

म अध्यक्ष भएपछिको कार्यकाललाई मूल्यांकन गर्दा सफल भएको ठान्दछु । जेसिजमा एक वर्ष, एक पद एक कार्यकाल बनाइएको छ । अंग्रेजी क्यालेन्डर अनुसार हाम्रो कार्यकाल रहने गर्दछ । जेसिज १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने संस्था हो । हामी निर्वाचित भएर आएपछि हामीले हाम्रा सदस्यहरुलाई विभिन्न खालका तालिमहरु आयोजना गरिसकेका छौं । बारा र पर्सामा आएको हावाहुरीले प्रभावित भएका जनतालाई हामीले राहत वितरण गरेका छौं । यीबाहेक जेसिजले अन्य सामाजिक कार्यहरुपनि गरेको छ । जेसिजमा आबद्ध युवाहरुको वाककलामा निखारता ल्याउनका लागि हामीले हरेक शुक्रबार ‘प्रवचन माला’ कार्यक्रमपनि गर्छौं । त्यसैगरी हामीले जेसिजको विधान अनुसार हरेक महिना बोर्ड मिटिङ र साधारणसभा पनि सञ्चालन गरिरहेका छौं । यस हिसाबले हाम्रो कार्यकाल सफलतापूर्वक अगाडि बढीरहेको छ ।

नेतृत्वमा आउँदा बनाएको योजना कसरी अघि बढ्दैछ ?

विशेष गरेर पोखरा जेसिजको स्थापना सन् १९७५ मा जुझारु पोखरेली युवाहरुले गर्नु भएको थियो । यसको सचिवालय पोखरा रानीपौवास्थित पुरानोधारामा छ । म अध्यक्ष बन्दा पहिलो लक्ष्य पोखरा जेसिजको भवनमा सुविधायुक्त तालिम हल बनाउने थियो । जेसिजको भवन २०१६ मा बन्न शुरु भएको हो । २०१७ मा भवनको ढलान सम्पन्न भयो । २०१८ मा हामीले गारो लगायौं । यो वर्ष हामीले माथिल्लो तलामा सुविधायुक्त तालिम हल बनाउने लक्ष्य थियो । सोहि अनुसार हामीले तालिम हल बनाएर त्यसमा रंगरोगनलगायतका कार्यपनि गरिसकेका छौं । पोखरा जेसीजका पूर्वअध्यक्षज्यूहरु, सदस्यहरुको सहयोगमा र पोखरा महानगरपालिकाले रंगरोगनमा सहयोग गरेको हो । त्यस्तै हामीले दोश्रो योजना तालिमलाई बनाएका थियौं । खास गरेर पोखरा जेसिज युवाहरुलाई सक्षम बनाउनका लागि धेरैभन्दा धेरै तालिम गर्नुपर्छ भन्ने भएकाले सोहि अनुसार हामीले काठमाडौंबाट प्रशिक्षकहरु ल्याएर तालिमहरु आयोजना गरेका छौं । यसैगरी यस वर्ष ‘सकारात्मक प्रभावका लागि एकता’ भन्ने नारासहित पूर्व अध्यक्ष तथा सदस्यहरुलाई सँगसँगै लिएर हामीले काम गरिरहेका छौं ।

अब बाँकी कार्यकालमा के–के गर्ने योजना छ ?

हामीले जेसिजका सदस्यहरुलाई त तालिम दिइरहेकै छौं । त्यसका साथसाथै हाम्रो जेसिजले ४ वटा क्षेत्रमा काम गर्छ । व्यक्तित्व विकास, सामुदायिक विकास, व्यवसायीक विकास र अन्तर्राष्ट्रिय विकास क्षेत्र । अहिलेसम्म हामी प्राय व्यक्तिगत विकासका कामहरुमा केन्द्रित भयौं । उसो त केही सामाजिक विकासका कामहरु पनि ग¥यौं । अब हामी जेसिज विकेन्ड २०१९ शुरु गर्दैछौं । यो जेठको १०, ११ र १२ गते हुँदैछ । यो सामुदायिक कार्यक्रम भएकाले समाजलाई लक्षित गरेर गर्न लागेका हौं । पहिलो दिन जेठ १० गते काठमाडौंबाट एक्स्पर्ट झिकाएर पोखरेली युवा उद्यमीहरुलाई प्रेरणामूलक कार्यक्रम गर्दैछौं । दोश्रो दिन जेठ ११ गते अन्नपूर्ण गाउँपालिकाको माछापुच्छ्रे मावि ढिकुरपोखरीमा निःशुल्क स्वास्थ्य शिविर, आँखा शिविर र दन्त शिविर आयोजना गर्दैछौं भने तेश्रो तथा अन्तिम दिन जेठ १२ गते असल अभिभावक सम्बन्धी विशेष कार्यक्रम आयोजना गर्दैछौं ।

स्थापना कालको जेसिज र अहिलेको जेसिजले गर्ने कामको शैली उस्तै छ कि भिन्न छ ?

जेसिज आफ्नो उद्धेश्यमै छ । स्थापना कालमा जे उद्धेश्यले स्थापना गरिएको हो त्यो उद्धेश्य नजिकै रहेर जेसिजले काम गरिरहेको छ । जेसिजको उद्धेश्य भनेकै युवाहरुलाई सक्षम बनाउने हो । कुनै युवा सक्षम बन्नका लागि शिक्षा मात्रै काफी हुँदैन । शिक्षा सँगसँगै व्यक्तिको व्यक्तित्व, नेतृत्व र बोल्ने कलाको विकास हुनुपर्छ । यसलाई नै हामीले मुख्य रुपमा अगाडि बढाएका छौं । जेसिजको नेतृत्व गर्नेहरु पोखरा उद्योग वाणिज्य संघ, लायन्सलगायतमा नेतृत्वमा हुनुहुन्छ । यसको मतलव जेसिजबाटै व्यक्तित्व र नेतृत्व विकास गरेर उहाँहरु त्यहाँसम्म पुग्नुभएको र त्यो उपलब्धीमा जेसिजको योगदान छ । त्यसैले जेसिज आफ्नो उद्धेश्यमा अविछिन्न रुपमा अगाडि बढिरहेको छ । यद्वपी पहिले र अहिले काम गर्ने शैली थोरै परिवर्तन भएको छ र आकर्षण पनि बढेको छ ।

पोखरा जेसिजमा कस्ता व्यक्ति, कसरी प्रवेश गर्न सक्नुहुन्छ ?

पोखरा जेसिजमा १८ वर्षदेखी ४० वर्षसम्मका युवाहरु प्रवेश गर्न सक्नुहुन्छ । हरेक वर्ष जनवरी महिनामा सदस्यका लागि आवेदन खुल्छ । नेपाली नागरिक हुनुपर्ने, प्रमाणपत्र तह वा प्लस टु अनिवार्य गरेको हुनुपर्ने भनिएको छ । तोकिएको उमेर समूहका युवाहरु राखिएका शर्त पालना गरेर फारम भर्न आएमा उनीहरु सदस्य बन्न सक्छन् । जेसिजमा सहभागिता अनिवार्य शर्त हो । फारम भर्ने तर सहभागि नहुने भयो भने सदस्यता खारेजपनि हुन्छ । शुरुमा जोसिजको अस्थायी सदस्यता दिन्छौं । त्यसपछि एक वर्षसम्म अस्थायी सदस्यता लिएका सदस्यहरुको कार्यक्रममा सहभागिता वा उपस्थिति हेर्छौं । सहभागिता राम्रो रह्यो भने ति अस्थायी सदस्यलाई बल्ल हामी स्थायी सदस्यता दिन्छौं । हामीले अस्थायी सदस्यता फारम भर्दा १ हजार रुपैयाँ शुल्क लिन्छौं । त्यसपछि स्थायी सदस्यता प्राप्त गरेपछि वार्षिक रुपमा ४ हजार रुपैयाँ नवीकरण शुल्क लिन्छौं ।

पोखरा जेसिजको ब्राण्ड कार्यक्रम के हो जसले जेसिजलाई चिनाउँछ ?

पोखरा जेसिजको ब्राण्ड कार्यक्रम भनेको ‘मिस पोखरा’ हो । हरेक वर्ष घटस्थापनाको दिन हामी मिस पोखराको ग्राण्ड फिनाले गर्छौं । जेठको अन्तिमबाट हामी यसको तयारी शुरु गर्छौं । जसका लागि यस वर्षपनि हामी फारम खुलाउने तयारी गरिरहेका छौं । यो प्रतियोगिता प्रतिभा जन्माउने प्रयासका रुपमा गरेका हौं । मिस पोखरा भएकी निलिमा गुरुङले मिस नेपालकै ताज जित्नु भएको इतिहास पनि छ । त्यस्तै उषा खड्गी पनि पोखरा जेसिजकै उत्पादन हो । सन १९९७ देखि २०१३ सम्म विभिन्न कारणले निरन्तरता नपाएको मिस पोखरा त्यसपछि भने निरन्तर हुँदै आएको छ । पोखरा जेसीज व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने युवाहरुको संस्था भएकाले क्षमता विकास नै हाम्रो पहिलो लक्ष्य हुन्छ । त्यसैगरि पोखरा जेसीजले सामुदायलाई लक्षित गरि गर्ने कार्यक्रमहरु जेसीज विकइण्ड र युवा नारीहरुको क्षमता विकासको लागी गरिने मिस पोखरा हामीले सम्पन्न गर्ने कार्यक्रमहरु मध्ये ठुला कार्यक्रमहरु हुन् ।

You might also like

Comments are closed.