टीभीएस अपाचे पोखरा स्पोर्टस अवार्ड शुक्रबार, तयारी पूरा

 

सन्देश श्रेष्ठ

पोखरा, २२ जेठ

jutta mela

चौथो टीभीएस अपाचे पोखरास्पोर्टस अवार्ड–२०७५ आउँदो शुक्रबार पोखारमा हुने भएको छ । पोखरा सभागृहमा हुने अवार्डको तयारी अन्तिम चरणमा पुगेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मञ्चले यस वर्ष ८ विधामा अवार्ड वितरण गर्दैछ । मञ्चले यसअघी नै ४ विधामा ३÷३ जनाको नाम सार्वजनिक गरिसकेको छ । चौथो टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड–२०७५ को सर्बोत्कृष्ट खेलाडी पुरुषमा युकेश गुरुङ (प्याराग्लाईडिङ), रुपक नेपाली (फूल कन्ट्याक्ट कराँते) र अमृत थापा (स्क्वास) मनोनयनमा परेका छन् । सर्बोत्कृष्ट महिला खेलाडीमा सुमी श्रेष्ठ (फूल कन्ट्याक्ट कराँते), श्रेया केसी (सुटिङ) र प्रीति बराल (सफ्ट टेनिस) मनोनयमा परेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा अर्जुन कुमाल (क्रिकेट), अनुस्का शेरचन (आर्चरी) र सुस्मिता थापामगर (आइटीएफ तेक्वान्दो) परेका छन् । वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा दीपक गोदार (फूल कन्ट्याक्ट कराँते), भीमसेन शाक्य (ह्याण्डबल) र राजेन्द्र पाठक (हक्की) मनोनयनमा परेका छन् ।

खेलाडीले गत वर्ष २०७५ मा देखाएको पर्फमेन्स र प्राप्त अचिभमेन्टलाई आधार मानेर ३÷३ जना खेलाडी मनोनयन गरिएको आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।

यसैगरी खेलकुद पत्रकार मञ्च गण्डकीले वर्ष सर्बोत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकारिता पुरस्कारको नाम अवार्ड वितरण समारोहमा एकैपटक सार्वजनिक गर्ने जनाएको छ ।

सर्बोत्कृष्ट पुरुष बिधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस अपाचे मोटरसाइकल, ट्रफी, ताम्रपत्र र दोसल्ला तथा सर्बोत्कृट महिला बिधामा अवार्ड प्राप्त गर्नेलाई टिभिएस विगो स्कुटर, ट्रफी र दोसल्लाले सम्मान गरिने मञ्च कास्कीले जनाएको छ । त्यस्तै, वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक बिधामा अवार्ड प्राप्त गर्नेलाई नगद २५÷२५ हजार, ट्रफी र दोसल्लाले सम्मान गरिने जनाइएको छ । त्यस्तै, सर्बोत्कृष्ट पुरुष र खेलाडीलाई वल्र्डवाइड कनेक्सन चिप्लेढुंगाको तर्फबाट एक÷एक थान मोवाइलसमेत प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

यसैगरी वर्ष सर्बोत्कृष्ट संघलाई नगद १५ हजारसहित ट्रफी प्रदान गर्ने जनाइएको छ । यसैगरी मञ्चले वर्ष उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाटपनि गण्डकी प्रदेशको एक जना पत्रकारलाई नगद २० हजारसहित दोषल्ला र ताम्रपत्रले सम्मान गर्ने मञ्चले जनाएको छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्ष लाइफटाइम अचिभमेन्ट अवार्डबाट बक्सिङका पूर्व अन्र्तराष्ट्रिय खेलाडी चित्रबहादुर गुरुङलाई सम्मान गर्दैछ । वि.स.२०१८ सालमा जन्मिएका गुरुङले आधा दर्जन पदक जितेका छन् । उनले चीनमा भएको एघारौं एसियाली खेलकुद प्रतियोगितामा काश्य, तेश्रो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत र पाकिस्तानमा भएको चौथो दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण जितेका थिए । चौथो दक्षिण एसियाली खेलकुदमा नेपालले एकमात्र स्वर्ण जित्दा उनै चित्रबहादुरको योगदान थियो । लाइफटाइभ अचिभमेन्ट अवार्ड प्राप्त गर्ने गुरुङलाई चाँदी जडित अवार्ड, सम्मान पत्र र दोषल्लाले सम्मान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।

अग्रज खेलाडीलाई सम्मान र अनुज खेलाडीलाई प्रोत्साहन गर्नका लागि अवार्ड आयोजना गरिएको अध्यक्ष गिरीले बताए । उनले कार्यक्रम सफल पारेर गण्डकी प्रदेशकै नाम उचो राख्नका लागि सहयोग गरिदिन गण्डकी प्रदेशबासीसहित पोखरेली सम्पूर्णलाई आग्रह गरे ।

पत्रकार भेटघाटको अवसरमा नोमिनेसनमा परेका खेलाडीहरुलाई प्रमाणपत्रपनि वितरण गरिएको थियो । प्रमाण पत्र लिन नोमिनेसनमा परेका अधिकांश खेलाडी आएका थिए भने केहि पोखरा उपत्यका बाहिर भएकाले अनुपस्थित थिए ।

प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले ५ लाख, पोखरा महानगरपालिकाले १ लाख ५० हजार, राष्ट्रिय खेलकुद परिषदले एक लाख, नेपाल पर्यटन वोर्डले ५० हजार, मोदी जलविद्युत आयोजनाका आशिष थापाले बुबा सहवीर थापाको स्मृतिमा १ लाख ५ हजार, क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति, गाउँपालिकाहरु, पोखरा महानगरपालिका वडा नम्बर १३लगायतले सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करीब ९ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले जनाएको छ ।

You might also like

Comments are closed.