ट्याक्सीको मिटर सम्बन्धी बिबाद तुरुन्त हल गर्न निर्देशन

 

पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले गण्डकी प्रदेश भित्र सञ्चालनमा रहेका ट्याक्सीमा मिटर सम्बन्धी देखिएको समस्या तुरुन्त हल गर्न निर्देशन दिएको छ । बुधबार भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतसँगको छलफलपछि समितिले मिटर सम्बन्धी समस्याका कारण यात्रुले कठीनाई भोग्नुपर्ने अवस्था आएको भन्दै सो समस्या तुरुन्त हल गर्न मन्त्रालयलाई निर्देशन दिएको हो ।

छलफलपछि बसेको समितिको बैठकले ट्याक्सी मिटरमै चल्नुपर्ने भन्दै सो सञ्चालनमा देखिएका समस्या हल गरेर मिटरमा ट्याक्सी चल्ने वातावरण तयार मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति दीपक कोइराला रुपकले जानकारी दिए । उनले भने,‘ट्याक्सी मिटरमै चलाउनुपर्छ,‘भाडादर कायम नहुँदा मिटरमा ट्याक्सी नचलेको हो भने त्यसको समाधान तुरुन्त मन्त्रालयले गरोस् ।’ उनले मिटरमा ट्याक्सी चलाउने वातावरण निर्माणका लागि भाडादर कायम गर्नुपर्ने देखिएकाले सोका लागि कार्यदल गठन गर्न सुझावसमेत दिए ।

jutta mela

यसअघि छलफलमा सहभागीहरुले वैज्ञानिक भाडादर निर्धारण गर्नका लागि कार्यदल गठन गर्न सुझाव दिएका थिए । वैज्ञानिक भाडादर कायम नहुँदा ट्याक्सीमा मनोमानी रुपमा भाडा लिने गरेको र जसका कारण यात्रु ठगिएको भन्दै उनीहरुले कार्यदल गठन गरेर वैज्ञानिक भाडादर कायम गर्दै सो भाडादर अनुसार ट्याक्सी चल्ने वातावरण निर्माण गर्न सुझाए ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले अर्को ब्यबस्था नभएसम्मका लागि वर्तमान कानुन अनुसार ट्याक्सी चल्नुपर्ने बताए । उनले मिटरमा ट्याक्सी चल्नुको विकल्प नभएको बताए । यात्रुलाई पु¥याएर खाली फर्किनुपर्ने अवस्थालाई मध्यनजर गरेरै त्यसरी खाली हिंड्दापनि ट्याक्सीमा २० प्रतिशत नाफा हुने गरेरै भाडादर कायम भएकाले घाटा हुने बहानाबाजीको तर्क नगर्न ट्याक्सी व्यवसायीलाई आग्रह गरे ।

गण्डकी धौलागिरी सार्वजनिक यातायात समन्वय प्रालिका अध्यक्ष केदारप्रसाद पौडेलले मिटर लागु गर्नुपहिले वैज्ञानिक भाडादर कायम गर्नुपर्ने बताए ।

पोखरेली ट्याक्सी प्रालिका अध्यक्ष प्रकाशमणी तिवारीले नया भाडादर कायम नगरेसम्म मिटरमा ट्याक्सी सञ्चालन गर्न नसकिने बताए । पहिले नया भाडादर कायम गरौं,‘उनले भने,‘तबमात्र मिटरमा ट्याक्सी सञ्चालन गर्न सक्छौं ।’ पेट्रोलियम पदार्थको ३५ प्रतिशत र लुव्रिकेन्ट्स लगायतका लागि ६५ प्रतिशत छुट्याएर पहिले भाडादर कायम गर्ने भनेपनि हाल पेट्रोलियम पदार्थको मात्रै गणना गरेर भाडादर कायम गरिन थालेकाले मिटरमा ट्याक्सी सञ्चालन गर्न नसकिएको उनको भनाई छ । लुव्रिकेन्ट्स, सवारी साधनको पार्टपूर्जाको मूल्य बृद्धि, महंगी, करको बृद्धि, सवारी साधनको मूल्य बृद्धि लगायतका कारण सेवा सञ्चालनमा समस्या आएकाले ट्याक्सीको भाडादरपनि अन्य सामानमा भएको बृद्धि अनुसार बढाएर मात्रै मिटरमा ट्याक्सी चलाउन सकिने उनको भनाई छ ।

उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले मनोमानी भाडा लिने कार्यको अन्त्य हुनैपर्ने बताए । ट्याक्सी व्यवसायीले मौकामा चौका हानेर नजिकका ठाउँमा पनि ५ सयदेखि १ हजारसम्म लिने गरेको आरोप लगाए । यात्रु ठग्नु भनेको पाकेट मार्नुजस्तै हो,‘उनले भने,‘बरु बेलैमा वैज्ञानिक भाडादर कायम गरौं, तर नया भाडादर अनुसार मिटरमा ट्याक्सी चल्नै पर्छ ।’

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले उपभोक्ता ठगिने परिपाटी बन्द हुनुपर्ने बताउँदै त्यसका लागि नया भाडादर कायम गर्नुपर्ने भएपनि त्यो तत्काल गर्नुपर्ने बताए ।

सांसद हरिशरण आचार्यले कार्यदल बनाएर वैज्ञानिक भाडादर कायम गर्नुपर्ने बताए । सो कार्यदलले दिएको प्रतिवेदनका आधारमा सरकारले निर्णय गरेर लागु गर्नुपर्ने उनको भनाई थियो । चाँडपर्व नजिकिएकाले यात्रुले थप शास्ती बेहोर्नुपर्ने दिन आउन लागेकाले १५ दिन भित्रैमा यो समस्या समाधान भइसक्नुपर्ने बताए ।

सांसद ईन्द्रलाल सापकोटाले नया भाडादर कायम भएपछि त्यो शत प्रतिशत लागु हुनुपर्ने बताए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दानबहादुर कार्कीले अहिलेको कानून अनुसार नै चल्नुपर्ने बताउँदै ट्याक्सीपनि मिटरमा चल्नुपर्नै बताए । उनले महानगर भित्र नया मापदण्ड बनाउनुपर्ने र त्यो महानगरलेसमेत गर्न सक्ने भएकाले त्यसतर्फपनि ध्यान दिन आग्रह गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ईन्सपेक्टर मुरारी मिश्रले बदमासी गर्नेलाई नछाड्ने चेतावनी दिए । प्रहरीले जहाँ बदमासी गर्छ, त्यहाँ कार्वाही गर्छ,‘उनले भने,‘ट्याक्सीमा बद्मासी भएको छ, त्यो ब्यबसायीले स्वीकार गर्नुपर्छ, बद्मासी गर्नेलाई हामी छाड्दैनौं ।’ उनले किलोमिटर अनुसार भाडादर कायम गर्नुपर्ने बताए ।

मिटरमा नचल्ने ट्याक्सीलाई कार्वाही गर्ने चेतावनी

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मिटरमा नचल्ने ट्याक्सीलाई कार्वाही गर्ने चेतावनी दिए । अर्थ तथा विकास समितिको छलफलमा बोल्दै मन्त्री बस्नेतले ब्यबसायी भन्दैमा जे मन लाग्यो त्यो गर्ने छुट नभएको र त्यो छुट सरकारले नदिने बताए । तपाईंहरुले मिटरमा ट्याक्सी चलाउनै पर्छ,‘उनले भने,‘पहिले तपाईंहरुले कानुन मान्नुस्, अनिमात्रै भाडा समायोजन हुन्छ ।’ उनले राज्यले गरेका निर्णयमा व्यवसायीले आम मान्छेलाई झुक्याउने गरी भाडा समायोजन नभएको भ्रम सृजना गरेको भन्दै त्यस्तो नगर्न चेतावनी दिए ।

व्यवसायीले भाडा नबढाए ट्याक्सी नचलाई थुपार्ने खुलेआम चेतावनी दिएको भन्दै उनले भने,‘यदी त्यस्तो हो भने हामी गाडी थुपार्ने ठाउँ हामी देखाई दिन्छौं ।’ कानुन मान्दैनौं, के गर्न सक्छस् गर भनेर राज्यलाई च्यालेञ्ज गर्ने हो भने त्यो सरकारलाई सह्य नहुने उनले बताए ।

यातायात विधेयक पारित नभएसम्म भाडा समायोजन नहुने भएकाले त्यतिञ्जेलसम्म पुरानै भाडादर अनुसार मिटरमा ट्याक्सी चलाउनुपर्ने उनको भनाई थियो । उनले मूल्य बृद्धिदेखि अन्य सबै क्षेत्रलाई सरकारले नजिकबाट नियालिरहेकाले त्यो अनुसार भाडा समायोजन गर्न सकिने बताए ।

You might also like

Comments are closed.