ट्रेकिङ रुटहरु जोगाउन राज्यले नीति निर्माण गर्नुपर्छ

हरि भुजेल
अध्यक्ष
ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखरा

ट्रेकिङ व्यवसायको अवस्था कस्तो छ अहिले ?
ट्रेकिङ व्यवसाय फस्टाउँदो छ । हरेक वर्ष पदमार्गीहरुको संख्या बढ्दो छ । अघिल्लो वर्षको भन्दा यो वर्ष पनि पदमार्गी बढेका छन् । त्यसैले समग्रमा भन्दा ट्रेकिङ व्यवसाय सन्तोषजनक छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष कति प्रतिशतले पदमार्गी बढे ?
अघिल्लो वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले पदमार्गी बढेका छन् । यसमा भारतीय धार्मिक पर्यटकलाई जोडिएको छैन । उनीहरुलाई पनि टिम्स कार्ड वितरण गरेपनि पदमार्गीको रुपमा समावेश गरिएको छैन । ट्रेकिङ भनेको चक्रीय अन्नपूर्ण, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, अपर मुस्ताङलगायतका रुटहरुमा पर्यटकहरु पदमार्गमा जाने गरेका छन् । यी पदमार्गहरुमा जाने पर्यटकको संख्यामा बृद्धि भएको हो ।

jutta mela

ट्रेकिङका समस्या वा चुनौतिहरु पनि छन् ?
ट्रेकिङमा बग्रेल्ती समस्याहरु छन् । पहिलो राज्यको नीतिगत समस्या र दोश्रो प्राकृतिक समस्याहरु मुख्य रुपमा ट्रेकिङमा साझा चुनौतिका रुपमा देखिएका छन् । अवैध रुपमा सञ्चालित ट्रेकिङ व्यवसाय मौलाउनु, गाइड एण्ड पोर्टरका कुराहरुको सुनुवाई नहुनु, राज्यले टिम्स कार्ड इम्प्लिमेन्ट गरेपनि त्यसको जवाफदेहिताचाहिं निजी क्षेत्रको टानले मात्रै गर्नु तर टिम्सबाट प्राप्त सबै रकम पर्यटन वोर्डको खातामा जम्मा हुनु लगायतका समस्याहरु नीतिगत समस्याहरु हुन् । त्यस्तै, ट्रेकिङ ट्रायलका ट्रेकिङ रुटहरु मोटरेवल बाटोले ध्वस्त पार्नु, राउण्ड अन्नपूर्णमा मौषम पूर्व अनुमान गर्ने पूर्वाधार निर्माण नहुनु, ट्रेकिङ रुटको गन्तव्यमा सिधै हेलिकोप्टर प्रवेश गर्नुलगायतका प्राकृतिक चुनौतिहरुपनि देखा परेका छन् ।

यसको समाधानका लागि के गर्नुपर्छ ?
यसको दीर्घकालीन समस्या समाधानका लागि राज्यले आचारसंहिता (कोड अफ कन्डक्ट) बनाउनुपर्छ । ट्रेकिङ रुटहरु जोगाउनका लागि कसले के गर्ने ? के नगर्ने ? भनेर राज्यले त्यसको नीति निर्माण गर्नुपर्छ । लेकसाइडका प्रत्येक पसलदेखि रेष्टुरेण्टसम्म ट्रेकिङ गाइड एण्ड पोर्टर्स एभाइलेवल हियर भनेर लेखेको पाइन्छ । यो तुरुन्त रोक्नुपर्छ र दर्ता भएर सञ्चालनमा रहेका ट्रेकिङ एजेण्ट्सबाट मात्र ट्रेकिङ गाइड र पोर्टरहरु लैजाने व्यवस्था गर्नुपर्छ । निशेधित क्षेत्र घोषित क्षेत्र अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर प्रवेश तुरुन्त रोक्नुपर्छ । गाइड र भरिया बिना ट्रेकिङ जानपनि रोक्नुपर्छ ।

किन रोक्ने नि एक्लै जानेलाई ?
व्यक्तिगत रुपमा गाइड र भरिया बिना ट्रेकिङ जाँदा समस्या हुन्छ । ३ हजार मिटर भन्दा माथिको उचाईमा पुग्दा जोकसैलाई पनि हाइ अल्टिच्यूट (हाइ लाग्ने) हुन्छ । यदि एक्लै गएको अवस्थामा हाइ लाग्यो भने ज्यान नै जोखिममा पर्छ । यदि कुनैपनि पर्यटकको ज्यान गयो भने त्यसको सन्देश विश्वभरी नै नराम्रो जान्छ । जसले गर्दा नेपालको ट्रेकिङ बारे नै प्रश्न उठ्न सक्छ । त्यसैले यसबारे बेलैमा निर्णय लिएर एक्ले बिना भरिया र गाइड ट्रेकिङ जाने काम बन्द गर्नुपर्छ ।

फेक रेस्क्यू पनि चुनौतिको रुपमा देखा परेको छ नि हैन र ?
फेक रेस्क्यूको समस्या थियो तर अहिले छैन । त्यहिपनि पोखरामा फेक रेस्क्यू कत्तिपनि छैन । सरकारले निकालेको रेकर्डमै हेरेपनि हुन्छ । हामीसँग १६४ वटा कम्पनी छ त्यसमा कुनैपनि कम्पनी फेक रेस्क्यूमा परेको छैन । यो फेक रेस्क्यू काठमाडौं केन्द्रित केहि कम्पनीले गरेका हुन् । यसलाई सरकारले कडाईका साथ नियन्त्रण गर्नुपर्छ । यसले अन्तर्राष्ट्रिय रुपमा ट्रेकिङको बदनाम गराएको छ । हामी पनि फेक रेस्क्यूलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्छ भनेर भन्दै आएका छौं र यसमा अहिले पनि हामी सहयोग गर्न तयार छौं ।

धेरै चुनौति र समस्या रहेको ट्रेकिङलाई के ग¥यो भने व्यवस्थित र व्यावसायिक बनाउन सकिन्छ ?
मुख्य कुरा त ट्रेकिङ व्यवसाय दर्ता भएकालाई मात्र गर्न दिनुपर्छ । तबमात्र जिम्मेवार हुन्छ व्यवसायी । नत्र जसले गरेपनि हुने भन्ने भयो भने देशकै बेइज्जत हुनुका साथै ट्रेकिङ व्यवसाय नै ध्वस्त हुने खतरा पनि छ । पहिलो कुरा सरकारले नीति बनाएर त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्छ । पदमार्गमा जाने गाइड र भरिया (पोर्टर) दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । अहिले गाइड होइन गार्डका रुपमा मान्छे पठाएर ट्रेकिङ व्यवसाय गर्नेहरु पनि छन् । यसलाई रोकेर ट्रेकिङ व्यवसायलाई मर्यादित बनाउनुपर्छ ।

तपाईं टानमा अध्यक्ष भएर आएको एक वर्ष वितेको छ । एक वर्षे कार्यकाललाई कसरी मूल्यांकन गर्नु हुन्छ ?
मेरो एक वर्षे कार्यकाल सोंचेको भन्दा पनि बढी सफल भएको महशुष गरेको छ । मैले वान म्यान लिडर भन्दापनि टिमवर्क भनेर बुझेको छु । सबैको सहयोग र साथले नै यो एक वर्षे कार्यकाल सफल भएको हो । मैले टान के हो ? र यसले के गर्नुपर्ने हो वा यसको भूमिका के हो भन्ने बारेमा मैले मसिनो गरी बुझेको छु । त्यहि भएर पनि मलाई काम गर्न सजिलो भएको हो ।

यो एक वर्षमा उल्लेख्य केही गर्नु भयो कि ?
हामी यहि कार्यकालमा पहिलो पटक अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनात्मक भ्रमण गर्न सफल भयौं । यो ऐतिहासिक नै हो भन्ने लाग्छ । हामीले यहि कार्यकालमा यसअघि एसएलसी उत्तीर्णलाई मात्रै ट्रेकिङ गाइडको लाइसेन्स लिने प्रावधान थियो भने हामीले अहिले एसएलसी अनुत्तीर्णलाई पनि लाइसेन्स दियौं । हामीले हिमाल आरोहण दिवस यस वर्षदेखि बृहद बनायौं । हिजोका दिनमा टानले मात्रै अन्नपूर्ण हिमाल आारोहण दिवस मनाउँथ्यो भने यस वर्षदेखि पर्यटनसँग सम्बद्ध अन्य संस्थाहरु नाट्टा, हान, रेवानसँग मिलेर कार्यक्रम ग¥यौं ।

अध्यक्ष हुँदै गर्दा गरेका बाचाहरु सबै पूरा भए कि अझै बाँकी छ ?
मेरो संकल्प थियो कि ट्रेकिङमा जाँदा होटलहरुमा खाना खाओस् कि नखाओस् पहिल्यै भरिया र गाइडको पैसा तिर्नुपर्ने बाध्यकारी ब्यबस्था अन्त्य गर्छु भन्ने । हिजो निरन्तरको प्रयासका बाबजुद पनि नसकिएको त्यो कार्य अहिले हाम्रै कार्यकालमा सफल भएको छ । हामी ओझेलमा परेका पदमार्गको खोजी र प्रवद्र्धनलाई निरन्तरता पनि दिएकै छौं ।

आगामी दिनका योजनाहरु के के छन् ?
हाम्रो अझै एक वर्ष कार्यकाल बाँकी छ । यो कार्यकालमा हामीले भिजिट नेपाल २०२० एक्प्लोर गर्दैछौं । यसको अवसरमा हामीले भिजिट ट्रेल २०२० नामाङ्करण गरेर त्यसलाई एक्प्लोर गर्नुका साथै प्रवद्र्धन गर्ने योजना बनाएका छौं । साथै अन्नपूर्ण हिमालको उत्तरी बेसक्याम्प मौरिस हर्जोगले चढेको क्षेत्रमा मौरिस हर्जोग ट्रेल भनेर एक्सप्लोर गर्ने पनि योजनामा छौं । पुराना ट्रेकिङ रुटहरुको मर्मत सम्भार, त्यहाँ रेलिङ निर्माण लगायतलाई पनि हामीले निरन्तरता दिने सोंच बनाएका छौं ।

You might also like

Comments are closed.