‘ड्राइभिङ शिक्षालाई कलेजमा विस्तार गर्ने योजना छ’

वसन्त भट्टचन
अध्यक्ष
सनराइज ड्राइभिङ स्कुल प्रालि

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकीमा ट्रायल दिँदा अब सेवाग्राहीले २४ रुपैयाँ मात्र शुल्क तिरे पुग्छ । नयाँ टेण्डर प्रक्रिया अनुसार सस्तो शुल्कमा ट्रायल दिन सकिने व्यवस्था मिलाइएको छ । पोखरामा लामो समयदेखि सेवा प्रदान गरिरहेको सनराइज ड्राइभिङ स्कुल अन्तर्गतको कुशुम सप्लायर्सले टेण्डर पारी ट्रायलका लागि गाडी उपलब्ध गराउँदै आइरहेको छ । यसैक्रममा सनराइज ड्राइभिङका अध्यक्ष वसन्त भट्टचनसँग आर्थिक आवाजले गरेको कुराकानी :

२४ रुपैयाँमा ट्रायल दिन कसरी सम्भव भयो ?
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकी अन्तर्गत कारको ट्रायल दिन अब मात्र २४ रुपैयाँ मात्र लाग्ने भएको छ । एउटा परीक्षार्थीले ट्रायल परीक्षामा लाग्ने इन्धन तथा अन्य खर्चको सबै हिसाब गर्दा करिब २४ रुपैयाँले खर्च पुग्छ । हामीले यसबाट फाइदा नलिइकन सेवाग्राहीलाई सुविधा प्रदान गरेका हौं । ड्राइभिङ सेवा हाम्रो व्यवसाय भएकाले नागरिकलाई सहज बनाउने हाम्रो दायित्व तथा कर्तव्य पनि हो । यसैले सस्तोमा सेवा दिन सुरु गरेका हौं । सामाजिक उत्तरदायित्वसमेत बहन गर्ने उद्देश्यले हामी यो सेवामा जोडिएका हौं ।

ट्रायलका लागि तपाईंहरुकै गाडी कसरी प्रयोगमा आए ?
यातायात व्यवस्था कार्यालय गण्डकीमा ट्रायलका लागि मापदण्ड अनुसारका सवारीसाधनहरु न्युनतम मूल्यमा हामीले उपलब्ध गराउँदै आएका छौं । भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले साधन उपलब्ध गराउन विभिन्न सर्तहरु राखेर टेण्डर आह्वान गर्छ । २०७६ कात्तिक १९ गते सार्वजनिक भएको टेण्डर प्रक्रियामा हामीसहित अन्य फर्महरु सहभागी थिए । नीति नियम अनुसार सबै प्रक्रियाहरु पुरा गरी न्युनतम दररेटमा हामीले टेण्डर प्राप्त गरेका हौं । सोही बमोजिम सरकारको नीति नियम नबाझिने गरी सम्झौतालाई अक्षरंश पालन गर्ने गरी हामीले काम गरिरहेका छौं । धेरैले २४ रुपैयाँमा कसरी काम गर्न सक्नुहुन्छ भनेर पनि प्रश्न गर्नुभयो । सेवाग्राहीको हितका लागि हामी यो काम गर्न सक्छौं । मोटरसाइकल तथा स्कुटरको ट्रायलका साधान पनि न्युनतम मूल्यमा उपलब्ध गराउँदै आएका छौं । अहिलेसम्म कुनै गुनासो आएको छैन ।

jutta mela

ड्राइभिङ व्यवसायमा कहिलेदेखि लाग्नुभयो ?
बिगत २०५४ सालदेखि म निरन्तर यो व्यवसायमा आबद्ध छु । पछिल्लो समय म सहित पोखराका प्रतिष्ठित युवा व्यवसायी साथीहरुको संलग्नतामा सनराइज ड्राइभिङ स्कुल र अन्य व्यवसाय सँगसँगै सञ्चालन गरिरहेका छौं । ड्राइभिङ व्यवसाय पहिला व्यवस्थित थिएन । रंगशालाको ग्राउण्ड प्रयोग भइरहेको थियो । सरकारको प्राथमिकतमा पनि परेको थिएन । रंगशाला भन्दा बाहिरबाट व्यवस्थित रुपमा ड्राइभिङ व्यवसाय सञ्चालन गर्ने अवधारणा हामीले नै ल्याएका हौं । पोखराको नयाँबजारसहित रंगशाला गेट अगाडि, फुलबारी र बिरौटामा हामीले ड्राइभिङ स्कुल व्यवस्थित रुपमा सञ्चालन गरेका छौं । २०७२ सालबाट सनराइज ड्राइभिङ स्कुल सञ्चालनमा आएको हो । पोखरामा रहेका विभिन्न ड्राइभिङ स्कुलहरु मर्ज भएर सनराइजको स्थापना भएको हो ।

सनराइज ड्राइभिङ स्कुलका विशेषताहरु के–के छन् ?
पछिल्लो समय गाडीको ट्रायल परीक्षा दिन नीति नियमहरु पनि परिवर्तन भएका छन् । परिवर्तित नीति नियम अुनुसार हामीले अन्य प्रक्रियाबाट लाइसेन्स लिन नभइ दक्ष भएर परीक्षा पास गरी लाइसेन्स लिने वातावरण तय गर्न सफल भएका छौं । पोखरामा गर्व गर्न लायकको ड्राइभिङ स्कुल सञ्चालन गर्न पाउँदा हामी निकै खुसी छौं । सेवाग्राहीलाई सन्तुष्ट बनाउन हामी निरन्तर खटिरहेका छौं । बिहानदेखि बेलुकासम्म सधैं हाम्रो सेवा उपलब्ध छ । सरकारसँगको सम्झौतामा ट्रायलमा उपलब्ध हुने मोटरसाइकल, स्कुटर, कार, जिप, डेलिभरी भ्यान, मिनिबस, मिनीट्रक, बस ट्रक लहरी, ट्याक्टर, पावर टेलर न्युनतम मूल्यमा ट्रायल दिने साधनहरु हामीले नै उपलब्ध गराएका छौं । त्यही साधनबाट नै सेवाग्राहीले ट्रायल दिन पाउनेछन् ।

पछिल्लो समय कस्ता खालका गाडी ट्रायलमा प्रयोग हुन्छन् ?
नयाँ शुल्कमा ट्रायलमा उपलब्ध हुने साधनहरु नयाँ विशेषतासहितका छन् । पुराना मोडलका साधनबाट ट्रायल दिनुपर्ने बाध्यता हटेको छ । युरो मापदण्डका २०१९ मोडलका गाडीहरु ट्रायलमा राखिएका छन् । पावर स्टेरिङ, एसि, पावर विन्डोज, एबिएस एण्ड इबिडी सिस्टम, एयर व्याग, ८ सय सिसी क्षमताको इन्जिन, ग्राउण्ड किलियरेन्स १ सय ८० सिसी, व्याक सेन्सर लगायतका विशेषता भएका गाडीहरु ट्रायलमा राखिएका छन् ।

ड्राइभिङ व्यवसायका समस्याहरु के–के छन् ?
सरकारले यो व्यवसायलाई केन्द्रित गरेर कुनै नीति नियम बनाएको छैन । कुनै सुविधा पनि हामीले पाएका छैनौं । राज्यलाई कर तिर्ने काम मात्रै भएको छ । राज्यले गर्नुपर्ने दायित्व हामीले निजी क्षेत्रबाट पुरा गरिरहेका छौं । सडक दुर्घटना न्युनीकरणका लागि सचेतना जगाउने तथा दक्ष चालक उत्पादन गर्ने दायित्व राज्यको हो । राज्यले गर्न नसकेको काम हामी निजी क्षेत्रबाट जोखिम बहन गरी गरिरहेका छौं । सोखका लागि तथा विलासिताका लागि खरिद गरिने साधनको र हामीले सेवामुलक व्यवसाय गर्नका लागि गाडी किन्दा पनि समान कर तिर्नुपर्ने बाध्यता छ । सरकारले निश्चित ठाउँ तोकेर मापदण्ड अनुसारको पूर्वाधार बन्ने गरी जग्गा उपलब्ध गराउन समेत सकेको छैन । सिक्ने साधनमा राज्यले करमा सहुलियत दिनुपर्छ भन्ने हाम्रो माग हो ।

सेवाग्राही तथा ड्राइभिङ सिक्न चाहने परीक्षार्थीलाई तपाईंको सुझाव के छ ?
पछिल्लो समय बजारमा साधनहरु बढिरहेका छन् । जनसंख्या बढिरहेको छ । सडक दुर्घटनाहरु पनि बढ्नु चिन्ताको विषय बनेको छ । त्यस कारण दक्ष भएर मात्रै आफ्नो सवारी चलाउन सक्ने हुनुपर्छ । यसका लागि हामीले दक्ष चालक उत्पादन गर्ने अभियानमा कहीँ कतै सम्झौता गर्दैनौं । लाइसेन्स महत्वपूर्ण कुरा होइन, सिप र दक्षता हासिल गर्नु प्रमुख आवश्यकता हो । यो आवश्यकतालाई सनराइज ड्राइभिङ स्कुलले पुरा गर्छ । ड्राइभिङ सिकाउन हामीसँग दक्ष प्रशिक्षकको व्यवस्था छ । हाम्रो चारैवटा शाखामा पुगेर आवश्यकता अनुसारको जानकारी लिइ ढुक्कसँग सेवा लिन सक्नुहुनेछ । पूर्ण पारिवारिक वातावरणमा महिला दिदीबहिनीहरुले समेत कुनै अप्ठ्यारो बिना सेवा लिन सक्नुहुनेछ । हाम्रा सम्पूर्ण शाखामा नयाँ प्रविधिका गाडी तथा अन्य साधनहरुबाट सिकाउने काम भइरहेको छ । ट्रायलमा जुन साधनहरु प्रयोग हुन्छन्, हामीले त्यही मोडलका साधनबाट ड्राइभिङ सिकाउने कामसमेत गरिरहेका छौं । गण्डकी यातायातमा ट्रायलमा प्रयोग हुने सम्पूर्ण साधनहरुसमेत हामीले नै सरकारको नियम अनुसार उपलब्ध गराउँदै आइरहेका छौं ।

सनराइज ड्राइभिङको अबको भावी योजना के छ ?
मैले संसारका धेरै मुलुकहरु घुमेको छु । अन्य मुलुक र नेपालको ड्राइभिङ शिक्षा लिने र दिने प्रक्रिया धेरै फरक छ । यसलाई सुधार्ने तथा व्यवस्थित गर्ने दायित्व सरकारको मात्रै होइन हामी निजी क्षेत्रको पनि हो । ड्राइभिङ शिक्षालाई कलेजका रुपमा विस्तार गर्ने योजनासहित हामी अगाडि बढेका छौं । जुन सेवाग्राही हाम्रो ड्राइभिङ स्कुलमा आइपुग्छन्, उसलाई त्यहाँ आवश्यक पर्ने सम्पूर्ण सिपमुलुक तालिमहरुबाट दक्ष बनाइ रोजगारयोग्य तथा उद्यमी बन्नसक्ने बनाउने योजना छ । पोखरामा मात्रै सीमित नरही पोखरा तथा अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने सोच छ । आफ्नै जग्गामा ड्राइभिङ स्कुल निकट भविष्यमा नै सञ्चालन गर्ने तयारी छ । ड्राइभिङ सिक्न आएको व्यक्तिलाई पहिलो चरणबाट दक्ष बनाउने काम हाम्रो हो । स्कुल तथा कलेजमा गएर ड्राइभिङ शिक्षाका बारेमा पढाउने काम पनि गरिरहेका छौं । लाइसेन्स लिएर बसेकाहरुलाई हाइवे कोर्ष गराउने काम पनि गरिरहेका छौं । हाइवे कोर्षबाट दक्ष भएकाहरुले व्यावसायिक रुपमा नेपाल तथा विदेशमा गाडी चलाउन सिफारिस गर्ने काम पनि भइरहेको छ ।

You might also like

Comments are closed.