तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा स्रष्टा सम्मानसहित विविध कार्यक्रम हुँदै

आर्थिक आवाज
पोखरा, ५ माघ । तमु सांस्कृतिक प्रतिष्ठान नेपालले विविध कार्यक्रमसहित १८औं वार्षिकोत्सव मनाउने भएको छ । वार्षिकोत्सवको अवसरमा माघ ६ गते आइतबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरणसहित विविध कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष चिजकाजी गुरुङ (तमु)ले जानकारी दिए ।

प्रतिष्ठानको नीति बमोजिम प्राविधिक, स्वास्थ्य, कानुन र मास कम्यूनिकेशन विषयको विश्वविद्यालय स्तरको अध्ययनमा तमु विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि हरेक वर्ष वार्षिकोत्सवको दिन संस्थाले पुरस्कृत गर्दै आइरहेको छ । यस वर्ष त्रि.वि. अन्तर्गतको काठमाडौंस्थित रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्नातकोत्तर तहको मास कम्यूनिकेशन विषयमा उत्कृष्ट नतिजा प्राप्त गरी उत्तीर्ण हुन सफल दोलखा जिल्ला जिरी नगरपालिका–२ कि छात्रा भावना कुमारी तमुलाई पुरस्कृत गरिने भएको छ । पुरस्कार रकम वीस हजार रुपैयाँ छ ।

श्रष्टा सम्मानमा पार्वता तमु स्मृति पुरस्कारबाट विगत चार दशकदेखि नेपाली कला तथा तमु चलचित्रमा निरन्तर योगदान पु¥याउदै आएका नृत्यकार, अभिनेता तथा हास्य कलाकार बल बहादुर तमुलाई फेटा, नगद दश हजारका साथ सम्मानपत्र र क्या. मिन बहादुर तमु (डाँफेबाजे) स्मृति पुरस्कारबाट लोक नृत्यमा ४ दशक लामो समय योगदान पु¥याएका श्रष्टा भू.पू प्रहरी निरीक्षक दान बहादुर तमुलाई नगद पच्चीस हजार, फेटा र सम्मानपत्रले सम्मान गरिने भएको अध्यक्ष तमुले जानकारी दिए ।

एन.आर.एन. तथा युवा व्यवसायी हिमाल तमुद्वारा स्थापित लालशोभा तमु उत्कृष्ट आमा अवार्डद्वारा संस्थाको छात्रवृत्ति प्राप्त गरी अध्ययन गरिरहेका तमु विद्यार्थीहरु मध्येबाट एस.ई.ई. मा उत्कृष्ट नतिजा प्राप्त गरी उत्तीर्ण गरेका विद्यार्थीको आमालाई नगद बीस हजारद्वारा पुरस्कृत गर्ने गरिन्छ । यस वर्ष बहादुरे मा.वि. भदौरे, कास्कीका विद्यार्थी निशान तमुकी आमा गौ लक्ष्मी तमुलाई उक्त अवार्ड प्रदान गरिने भएको छ । निशानले २०७४ सालको एस.ई.ईं परीक्षामा जि.पि.ए ३.५५ प्राप्त गरेका थिए ।

देश तथा विदेशमा रहेका संघसंस्था तथा व्यक्ति विशेषको आर्थिक सहयोगबाट विभिन्न शीर्षकमा स्थापना गरिएको अक्षयकोषबाट प्रतिष्ठानले श्रष्टा सम्मान, विद्यार्थी पुरस्कार एवं ग्रामीण भेगका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छनौटको आधारमा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था छ । संस्थामा ५२ जना संस्थापक र १ सय ६४ आजीवन सदस्य छन् नेपाल, कतार, जापान, यू.के, नेदरल्याण्ड, बेल्जियम र अष्ट्रेलियामा रहेका विभिन्न संघ संस्थाहरुसंग प्रतिष्ठानको सौहार्दपूर्र्ण सम्वन्ध रहेको अध्यक्ष तमुले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.