तमू (गुरुङ) कलाकार संघ गण्डकीद्वारा आफ्ना सदस्यलाई राहत वितरण

पोखरा ।
तमू (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिले आफनो माताहतका तमू कलाकारलाई राहत वितरण गरेको छ ।
तमू धिं नेपाल नयाँ बजारमा एक कार्यक्रमको आयोजना गरि संघले कोडिभ–१९ बाट समस्यमा परेका कलाकारहरुलाई राहत वितरण गरेको हो ।

संघले ३६ जना कलाकारलाई एक बोरा चामल, २ केजी दाल, २ लिटर तेल, २ किजी दाल, १ केजी नुन र एक पोका सोयाविन राहत स्वरुप प्रदान गरेको छ भने कार्य समितिका २५ जना सदस्य तथा एक जना संस्थापक सदस्य गरि २६ जनालाई घर भाडामा राहत पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको संघका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

कोभिड १९ ले बजार व्यवसाय सबै ठप्प भएपछि दोहोरी साँझमा गाउने, विभिन्ने स्टेज कार्यक्रमहरुमा गीत गाउने, नाच्ने आदि पेशाबाट आफनो जिविको पार्जन गरेर आएका कलाकारहरुको पेश लामो समयसम्म ठप्प हुँदा कलाकारहरु समस्यमा परेको भन्दै तमू कलाकारहरुले राहत कोष स्थापना गरि देश विदेशमा सबै संघ संस्था तथा व्यक्तिलाई सहयोगको लागि आव्हान गरेको थियो ।

सो राहतकोषमा तमू धि युके, तमू धि नेपाल, तमू ह्युल छोंज धि गण्डकी प्रदेश समिति, मिलन फाउन्डेशन, तमू धि साउदी अरब, तमू प्ये ल्हु संघ कतार गरि विभिन्न २१ वटा संघ संस्था तथा व्यक्तिहरुले आर्थिक सहयोग गरेको अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले नेपाल र नेपालीको भाषा, धर्म संस्कारलाई उजागर गर्ने र लोप हुने अवस्थामा पुगेको पुरानो भाकालाई जोगाउने कर्ममा लाग्ने कलाकारलाई राज्यले सधै उचित संरक्षण गर्ने बताए । अहिले देश कोभिडबाट मात्र नभई सलह र बाढी पहिरोबाट समेत उतिकै प्रभावित रहेको भन्दै विपतिको बेला सबै जना संयमिति हुनुपर्ने र यस विपत्तिबाट सबैले पाठ सिक्नुपर्ने बताए । कलाकारले आफूलाई सधैं माया र सम्मान गरेको भन्दै कलाकारलाई पर्ने दुःख र आपतमा पनि आफू सधैं कलाकारको साथमा रहने बताए ।

कार्यक्रममा संघका सल्लाहकार तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले सबैलाई मनोरञ्जन दिने कलाकार के खान्छा, कहाँ बस्छ उसलाई गाह्रो सारो के छ भनेर कसैलाई चासो नहुनु दुःखको कुरा भएको बताए ।
तमू धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङले अब कलाकारले सबै तमू संघ संस्थालाई एक बनाएर अगाडी बढनुपर्ने बताए ।

यस्तै तमू कलाकार संघ केन्द्रिय समितिका महासचिव गणेश गुरुङले नेताले १ घण्टा भाषण गर्नु भन्दा कलाकारले एउटा गीत गायो भने त्यो सबैले सम्झिने भन्दै नेतालाई पर्दा काम लाग्ने कलाकारलाई अवसर आउँदा नेताले पनि सहि ठाउँ दिनुपर्ने बताए । तमू कलाकारले आव्हान गरेको राहतकोषमा छोटो समयमा सोचे भन्दा धेरै सहयोग प्राप्त भएको भन्दै उनले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

संघका अध्यक्ष सुरेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ज्योती लोहनी गुरुङले
गरेकी थिईन् । । यसैबीच आजैदेखि तमू कलाकार संघ गण्डकीको कार्यालय तमू धिं नेपाल नयाँ बजारमा स्थापना भएको छ । तमू धिं नेपालले निःशुल्क रुपमा उपलब्ध गराएको भवनभित्र कलाकारको कार्यालय स्थापना भएको भन्दै संघले भवन उपलब्ध गराउने तमू धि नेपाल प्रति आभार व्यक्त गरेको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.