थ्रीस्टारपनि आहा! रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । साबिक बिजेता थ्रीस्टार क्लब पोखरामा जारी आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको खेलमा थ्रीस्टार भारतको गान्तोक फुटबल क्लवलाई ३÷० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारका लागि सुसनले २ मिनेटमा २ गोल गरे भने सञ्जोक राईले १ गोल गरे । थ्रीस्टारले अब फाइनल प्रवेशका लागि फागुन २८ गते नेपाल पुलिस क्लवको सामना गर्नेछ ।

प्रतिष्पर्धात्मक खेलमा थ्रीस्टारले ७९ औं मिनेटमा गोलको खाता खोलेको थियो । थ्रीस्टारका लागि सञ्जोक राईले गोल गर्दै गोलको खडेरी तोडेका हुन् । थ्रीस्टारले दोश्रो र तेश्रो गोल भने खेलको अन्तिम २ मिनेटमा ग¥यो । सुसनले दोश्रो हाफको थपिएको ३ मिनेटको ईञ्जुरी समयको दोश्रो र तेश्रो मिनेटमा गोल गरेका हुन् ।

सोमबारको खेलमा थ्रीस्टारका लागि २ गोल गर्ने खेलाडी सुसन श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टिम नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र संकटा क्लव बिच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लव पोखराले जनाएको छ ।

You might also like

Comments are closed.