दूधको महत्व

स्तनधारी प्राणी जगतमा दूधलाई अमृत मानिन्छ । दूध विना जीवनको सृष्टी नै असम्भव छ । जब नवजात शिशुले आमाको गर्भबाट जन्म लिन्छ उसलाई बचाउने पहिलो आहारा उसको आमाको दूध नै हो । यसलाई पुरक आहारको रुपमा लिइन्छ । दूधलाई शाकाहारीको विशेष भोजनको रुपमा लिइनुका साथै सामाजिक तथा धार्मिक दृष्टिकोणबाट पनि विशेष महत्वले हेरिन्छ । आमाको विगौती दूध नवजात शिशुको लागि अभृत समान मानिन्छ, जसले वच्चालाई जाडो, गर्मी, धुलो मैलो, रोग आदिबाट बचाउछ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । बिगौती दूधमा प्रशस्त मात्रामा शक्ति, प्रोटिन, भिटामिन, खनिजपदार्थ तथा एन्टी वडिज पाइन्छ र यसले पेट सफा गरी पाचन क्रिया बढाउन मद्धत गर्छ ।

सामाजिक तथा धार्मिक दृष्टिले पूजामा पञ्चामृत बनाउन, देवी देवतालाई चढाउन, चोखो भोजन गर्न, बालक, बृद्ध, रोगी सबैलाई पुरक आहार दूध हो । स्वच्छ र स्वस्थ बौद्धिक विकास गराउन दूध तथा दूधजन्म परिकारको पनि धेरै महत्व छ । मानव जातिले यसको महत्व बुझेर परापूर्व कालदेखि नै दूधलाई आफ्नो भोजनमा समावेश गर्नको लागि नेपालमा विशेष गरी गाई र भैंसी पालिएको थियो । हाल दुग्द्य उत्पादन व्यवसाय कृषिको अभिन्न अंग हुनुका साथै स्वरोजगार सृजना, आय आर्जनदेखि डेरी उद्योगको रुपमा समेत विकसित भइसकेको छ । दूध जीवनको लागि महत्वपूर्ण खाद्य वस्तु भएकाले राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान छ । बेरोजगारलाई तुरुन्त रोजगार सृजना गर्ने, बढ्दो शहरीकरणमा माग अनुसारको आपूति गराउने, अर्गानिक उत्पादन गरी मानव स्वास्थ्यको संरक्षण गर्ने, बजारीकरण नभएको ग्रामीण क्षेत्रमा दूधबाट उत्पादन गरिने विभिन्न परिकारहरुको विविधीकरण गरी स्वरोजगार सृजना गरी स्वरोजगार सृजना गर्ने र मानव स्वास्थ्यदेखि आत्मनिर्भर स्वरोजगार सृजना गरी देशलाई नै खाद्य सुरक्षा तथा पोषणमा सवल गराउने दूधको महत्वको व्याख्या गरेर सकिदैन । हाम्रा जिजुवाजेले भन्नुहुन्थ्यो अनिकाल परेमा लैनो गाई वा भैसी पाल्नुपर्छ । कुनै परिवारमा दैनिक खर्च हुने खाद्यान्यमा दुग्द्य परिकार खिर नै बनाउने हो भने पनि ७५ प्रतिशत खाद्य बचत हुन्छ र भोकमरीबाट बचिन्छ ।

यसको अलावा आन्तरिक तथा बाश्य पर्यटक र आम जनसमुदायमा उपभोगको लागि दूधबाट दही, घ्यु, छुर्पी, आइसक्रिम, खुवा, चकलेट, ललिपप जस्ता विभिन्न वस्तुको उत्पादन गर्न सकिन्छ । आयात प्रतिस्थापन गरी निर्यात गर्न सकिने सम्भाव्यता भएको दूध उत्पादन वृद्धिको लागि उन्नत नश्ल पशु, प्रजनन् विधी, आहारा, स्वास्थ्य, यन्त्रीकरण, बजारीकरण र प्राविधिक सेवा प्रदान हुने गरी दूध कोल्डस्टोर विकास गरी उत्पादन वृद्धि गर्नुपर्छ । यस क्षेत्रमा संलग्न कृषक तथा व्यवसायीलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि गर्नुपर्नै आजको आवश्यकता हो । गोठदेखि ओठ सम्म स्वच्छ स्वस्थ उत्पादन गर्न प्रेरण प्रदान गरौं ।

You might also like

Comments are closed.