दोश्रो खुल्ला व्यास अल्ट्रा म्याराथन प्रतियोगिता हुने

आर्थिक आवाज
तनहुँ, २४ पुष ।

व्यास नगरपालिकाले दोस्रो खुल्ला व्यास अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने भएको छ । सोमबार बसेको नगरपालिकाको नियमित बैठकले सहिद दिवसको अवसर पारेर आगामी माघ १६ गते दोश्रो खुला व्यास अल्ट्रा म्याराथन प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
व्यास– ५ को मानुङकोटदेखि व्यास –८ को पुलिमराङसम्म म्याराथन प्रतियोगिता गर्ने निर्णय गरेको हो । यसका लागी नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आयोजक मूल समारोह समिति र नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठको संयोजकत्वमा म्याराथन दौड प्रतियोगिता व्यवस्थापन एवम् सञ्चालन उपसमिति गठन गर्ने समेत निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

साथै बैठकबाट व्यास नगरपालिका वडा नं. ११ को रानीगाउँ क्षेत्रमा एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सो क्षेत्रमा रहेको करिब ७०० रोपनी क्षेत्रफल ओगटेको ब्लकमा एकीकृत जग्गा विकास कार्यक्रम लागू गर्ने गरी सम्भाव्यता अध्ययनका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको नगरपालिका स्रोतले जनाएको छ ।

त्यस्तै गरी बैठकले नगरक्षेत्र भित्रका करिब ३ हजार ५०२ वटा पोल गाढ्नका लागि वडा र टोलगत विवरण पठाउने बैठकले निर्णय गरेको हो । नगर क्षेत्रभित्र जीर्ण अवस्थामा रहेका काठे पोलहरु परिवर्तन गरी स्टिल पोलहरुको प्रयोग गरिनेछ । उक्त कार्यका लागि प्रदेश सरकारबाट प्रस्ताव स्कीकृत भई आएको हुँदा काठे पुल हटाउने निर्णय गरिएको हो ।

त्यस्तै, बैठकले राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७५ को अवसरमा यही पौष २८ देखि माघ १८ गतेसम्म विविध सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले आगामी माघ २८ र २९ गते चौथो नगरसभा गर्ने निर्णय समेत गरेको छ । साथै नगरपालिकाको विकास निर्माण तथा गुणस्तरीय सेवा प्रवाहका सम्बन्धमा व्यापक छलफल गरी सोको प्रभावकारी व्यवस्थापनका लागी अन्य विविध निर्णय भएको नगरपालिकाले जनाएको छ ।

You might also like

Comments are closed.