नवलपुरका रिजाल बने समाजवादी पार्टी गण्डकीको अध्यक्ष

एकल नश्लीय राज्यको अन्त्य गर्छौं : भट्टराई

पोखरा । समाजवादी पार्टी नेपालको गण्डकी प्रदेश कमिटी घोषणा भएको छ । नयाँशक्ति पार्टी र संघीय समाजवादी नेपाल (फोरम) बिच एकता भएपछि बनेको समाजवादी पार्टी नेपाल गण्डकी प्रदेश कमिटीको पोखरामा मंगलबार एक औपचारिक कार्यक्रम गरी घोषणा गरिएको हो ।

घोषित कमिटीको अध्यक्षमा साविक नयाशक्तिका मोती रिजाल (नवलपुर) चयन भएका छन् । कमिटीको ५ उपाध्यक्षमा नयाशक्तिका ३ र फोरमका २ जना रहेका छन् । उपाध्यक्षमा नयाशक्तिका गुणाखर बस्याल, हेमबहादुर थापा, रमेश पोखरेल) तथा फोरमबाट दीपक तामाङ, काशीमाया गुरुङ चयन भएका छन् ।

कमिटीको मुख्य सचिवमा फोरमका हेमन्त थापामगर चयन भएका छन् । त्यस्तै सचिवमा तारा नेपाली, रेखी गुरुङ र पार्वती जिसी चयन भएका छन् भने कोषाध्यक्षमा फोरमबाट भूवन रिजाल चयन भएका छन् ।

९९ सदस्यीय कमिटीमा नयाशक्तिका अध्यक्षसहित ५२ सदस्य र संघीय समाजवादी पार्टीका ४७ सदस्य रहनेगरी कमिटी घोषणा गरिएको समाजवादी पार्टीले जनाएको छ । घोषणा सभामा फोरमका पदाधिकारीसहित सबै सदस्य घोषणा भएपनि नयाशक्तिका ६ जना पदाधिकारीबाहेक अन्य सदस्यको नाम घोषणा गरिएन ।

एकल नश्लीय राज्यको अन्त्य गर्छौं ः भट्टराई

घोषणा सभालाई संक्षिप्त सम्बोधन गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालमा नश्लीय राज्य सञ्चालन भइरहेको आरोप लगाए । नेपालको बहुलतालाई अपमान गरेर एकल नश्लीय राज्य सञ्चालन भइरहेको उनको भनाई थियो । उनले समाजवादी पार्टीले एकल नश्लीय राज्यको अन्त्य गर्ने उद्घोष गरे ।

डा.भट्टराईले राज्य पुर्नसंरचनामा पुर्नबिचार गर्नुपर्ने बताए । राज्य पुर्नसंरचना आयोगले सिफारिस गरेअनुसारको दश जोड एक राज्य पुर्नसंरचना गर्नुपर्नेमा जोड दिए । सोहि राज्य पुर्नसंरचनाको जगमा टेकेर देशमा सुशासन, समृद्धि र समाजवादसम्म पुग्नुपर्नेमा उनले जोड दिए । उनले अबको वैकल्पिक शक्ति समाजवादी पार्टी भएको बताउँदै यसलाई सबैले मिलेर देश हाँक्ने शक्ति बनाउनुपर्नेमा जोड दिए ।

You might also like

Comments are closed.