नागढुंगा–मुग्लिन सडक अब चार लेनमा विस्तार नहुने, यस्तो छ कारण

पोखरा, १ जेठ । नागढुंगा–मुग्लिन सडक अब चार लेनमा विस्तार नहुने भएको छ । कुल ९५ दशमलव ५ किलोमिटर लामो सो सडक निर्माणको योजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि रद्द गरेको छ । त्यसको विकल्पमा सिस्ने खोलादेखि धार्केसम्म नयाँ सडक निर्माण गरिने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । उनका अनुसार त्यसबाहेक साबिककै सडकलाई मर्मत–सम्भार तथा नयाँ पुल थपेर यातायात आवागमनलाई दु्रत बनाइने योजना छ ।

निर्माण हुने तयारीमा रहेको नागढुंगा–सिस्नेखोला टनेलपछि धार्केसम्म ११ किलोमिटर लम्बाइको छुट्टै नयाँ सडक निर्माण गरिनेछ । त्यो सडक धार्के पुगेपछि पुनः नागढुंगा–मुग्लिन सडकमा जोडिनेछ । विभागका महानिर्देशक शर्माका अनुसार त्यसपछिको सडकलाई भौगोलिक अवस्थितिअनुसार काटेर विस्तार गर्न कठिन छ । तर, आवागमनलाई दु्रत बनाउन धार्केदेखि मुग्लिनसम्मको ८० दशमलव ५ किलोमिटर सडक भने सुधार गरिनेछ । त्यसका लागि विभिन्न स्थानमा बस, ट्रक रोक्ने ठाउँ निर्माण गरिनेछ । बस्तीहरूमा बाटो काट्ने बटुवा (पेडेस्ट्रियन) पुल निर्माण गरिनेछ भने दुई सडक आएर एकै ठाउँमा मिल्ने बिन्दुमा आवश्यक व्यवस्थापनको काम गरिने विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले बताए ।

अहिलेकै सडकलाई विस्तार गरेर चार लेन बनाउन कठिनाइ भएको सडक विभागको भनाइ छ । विभागले गरेको अध्ययनअनुसार पहिरो जाने, विस्तार कार्यका लागि लामो समयावधि लाग्ने र खर्च बढी हुने तथा चलिरहेको सडकमा काम गर्दा धेरै अवरोध आउनेछ । त्यसबाट बच्न नयाँ सडक निर्माण गर्ने तयारीमा विभाग छ ।

You might also like

Comments are closed.