नाटक ‘अटलबहादुरको आतंक’ मञ्चन सुरु, नाट्य विधालाई अगाडी बढाउन साथ दिन्छौ : मन्त्री गुरुङ

पोखरा, ८ साउन ।

पोखरा थिएटरको तेस्रो प्रस्तुतीको नाटक ‘अटलबहादुरको आतंक’ सोमबारदेखि पोखरामा मञ्चन सुरु भएको छ । नाटक मञ्चन कार्यक्रमको शुभारम्भ कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ प्रमुख अतिथि थिए । मन्त्री गुरुङले नाटकले उपस्थित दर्शकको मन जित्न सफल भएको बताए । आफुले लामो समयपछि नाटकघरमा बसेर नाटक हेर्ने अवसर पाएको भन्दै उनले गण्डकी प्रदेश सरकारले नाट्य एकेडेमी खोल्नको निमित्त बजेट छुट्टाइएको बताए । नाटक विधालाई माथी उठाउन नाटकघर सञ्चालन गरेकोमा उनले खुशी व्यक्त गरे । ‘यो विधालाई माथि उठाउन गण्डकी प्रदेश सरकार साथमा रहनेछ’ मन्त्री गुरुङले भने । नाट्य क्षेत्रलाई अगाडी बढाउन सकारात्मक सोच र सकारात्मक सुझाबको आवश्यकता पर्ने उनको भनाइ थियो । निर्देशक, लेखक, कलाकार तथा पोखरा थिएटर सञ्चालकले गरेको मेहनतबाट आफु प्रभावित भएको उनले बताए ।

खगेन्द्र लामिछानेको लेखन निर्देशनमा मञ्चन भएको नाटकले दर्शकलाई नाटकको नयाँ स्वाद चखायो । नाटकलाई उत्कृष्ट बनाउदै दर्शकलाई स्टेजतर्फ ध्यान केन्द्रित गराइराख्न कलाकारले गरेको मेहनत दर्शकको लागि रुचिकर थियो । बेला–बेलामा नाटकका विषयवस्तु, डाइलग, कलाकारको अभिनय मनपराउँदै दर्शकले हाँसोको फोहोरा छोड्दाको माहोल झनै रमणिय बन्यो ।

डेढ घण्टा लामो नाटकमा माओत्से गुरुङ, प्रकाश घिमिरे, प्रमिला तुलाचन, दिलप्रसाद गुरुङ, गोविन्द रमण पराजुली, वर्षाकेशव पराजुली, विभु भुषाल, बबिता मल्ल ठकुरी, विश्वराज पौडेल, अञ्जु दाहाल, सुर्य सुवेदी, सम्झना सिर्पाली, योजना पहारी, धुर्व रोका, धिरेन्द्र पुन, प्रतिक घिमिरेको अभिनय गरेका छन् । उनीहरुले अभिनय मार्फत दर्शकलाई आर्कषण गर्न सफल बनेका छन् ।

परिवर्तन कार्कीको संयोजनमा मञ्चन भएको यो नाटक साउन १६ गते सम्म हरेक साँझ ५ बजेबाट पोखरा गैह्रापाटनको गन्धर्व नाटकघरमा दैनिक मञ्चन हुनेछ । शनिबार अतिरिक्त सो १ बजे हुनेछ भने थिएटरसँगको समन्वयमा बुकिङ सो समेत देखाउने तयारी भएको आयोजकले जनाए । नाटक हेर्नका लागि विद्यार्थीका लागि २ सय, सर्वसाधरणका लागि ३ सय र पाँच सय रुपैयाँको टिकट लाग्नेछ ।

lcci
You might also like

Comments are closed.