निजी विद्यालय र कलेजले चिनीया भाषा पढाउने

सन्देश श्रेष्ठ
पोखरा, ६ जेठ । पोखराको एक निजी विद्यालय र कलेजले चिनीया भाषा पढाउने भएका छन् । पोखरा गैह्रापाटनस्थित कुमुदिनी होम्स सेकेण्डरी स्कुल र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) ले आफ्ना विद्यार्थीहरुलाई चिनीया भाषा पढाउने भएका हुन् ।

कुमुदिनी होम्स र एनटीएचएमसीले सबै विद्यार्थीलाई चिनीया भाषा पढाउन लागेको भने होइन । कुमुदिनी होम्सले कक्षा ५, ६ र ७ का विद्यार्थी तथा एनटिएचएमसीले अन्तिम सेमेस्टरका विद्यार्थीलाई मात्र चिनीया भाषा पढाउन लागेको कुमुदिनी होम्सका अध्यक्ष तथा एनटिएचएमसी व्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । विद्यालयमा हप्तामा ३ दिन र कलेजमा दैनिक रुपमा कक्षा सञ्चालन हुने उनले बताए । चिनीया भाषा पढाएपनि त्यसको परीक्षा भने नलिइने उनको भनाइ छ । ‘हामीले भाषा मात्र पढाउन खोजेका हौं,’ उनले भने, ‘यसको परीक्षा पनि हुँदैन र परीक्षाको नतिजामा पनि असर पार्दैन ।’

मावि तहमा चिनीया भाषा पढाउँदा पढाइमा असर पर्नसक्ने देखेर सानो कक्षाबाट शुरुवात गरेको उनले बताए । उनले भने, ‘कक्षा ८ मा जिल्ला स्तरको परीक्षा हुन्छ, कक्षा १० मा एसईई परीक्षा हुन्छ, जसले गर्दा विद्यार्थीलाई चाइनिज भाषा पढाउँदा उनीहरुको अध्ययनमा असरपर्ने डर हुन्छ, त्यसैले हामीले कक्षा ५, ६ र ७ मा पढाउने निधो गरेका हौं ।’ उनले साना विद्यार्थीमा भाषा सिक्ने क्षमता राम्रो हुने भएकाले पनि सानो कक्षामा चाइनिज भाषा पढाउन लागिएको उनको भनाई छ ।

jutta mela

विद्यार्थीहरुलाई चिनीया भाषा चिनीयाले नै पढाउने अध्यक्ष पालिखेले बताए । उनका अनुसार चिनीया भाषा चाइनिज इभा र सोफियाले पढाउने छन् । इभाले कुमुदिनी होम्स र सोफियाले एनटीएचएमसीमा अध्यापन गराउने उनले जानकारी दिए । इभा र सोफियाले स्वयम्सेवकको रुपमा (भोलन्टियरली) काम गर्नेछन् । काठमाडौंमा रहेको चाइना कल्चर सेन्टरले भाषा पढाउनका लागि इभा र सोफियालाई भोलन्टिरली खटाएको पालिखेले बताए । तलब नदिएपनि उनीहरुलाई खाने र बस्ने ब्यबस्था भने स्कुल र कलेजले गरिदिने उनले जानकारी दिए ।

चाइनिज भाषाको भविष्य देखेकाले चिनीया भाषाको कक्षा सञ्चालन गरेको अध्यक्ष पालिखेले बताए । चाइनिज बिना पर्यटन अब चल्दैन–उनले भने,‘त्यसैले चाइनिज भाषा बोल्ने दक्ष जनशक्ति अहिलेको आवश्यक्ता हो, त्यसैले उनीहरुलाई चिनीया भाषाप्रति रुची जगाउने र भाषा सिकाएर दक्षा बनाउने योजना हो ।’ उनले जापानी भाषापनि सिकाउने योजना रहेको सुनाए । जापानले नेपाली कामदार लैजाने भनेको र नेपालीको रुचीपनि जापानतर्फ भएकाले त्यसलाई सहज बनाउनका लागि भाषा कक्षा सञ्चालन गर्न लागेको उनको भनाई छ ।

कुमुदिनीका विद्यार्थीद्वारा सहयोग

कुमुदिनी होम्सका विद्यार्थीहरुले कास्कीका दुई विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन् । कुमुदिनी होम्सका विद्यार्थीहरुले आफ्नो खाजाको पैसा कटाएर कास्कीको माछापुच्छ्रे गाउँपालिका सार्दीखोला खाँदरजुङस्थित वाराही प्रावि र पुरुञ्चौर लप्सीटाकुरास्थित हिमालयन प्राविलाई शैक्षिक सामग्री सहयोग गरेका हुन् । वाराही प्रावि खाँदरजुङलाई २२ हजार ५५ र हिमालयन प्राविलाई २१ हजार ८ सय ६५ रुपैयाँ बराबरको कपी, इरेजर, पेन्सिल, पेन्सिल कटरलगायतका शैक्षिक सामग्री सहयोग गरेको कुमुदिनी होम्स सेकेण्डरी स्कुलका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उनले विद्यार्थीलाई समाजसेवाप्रति आकर्षित गराउनुका साथै विपन्न तथा गरीबलाई सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउनका लागि आफूले सकेको सहयोग गर्न आह्वान गरेर अर्थ संकलन गरेको र सो रकमले शैक्षिक सामग्री सहयोग गरेको बताए ।

यसैबीच, लोटस फाउण्डेसन जर्मनीले हिमालयन प्रावि लप्सीटाकुरा पुरुञ्चौर र वाराही प्रावि खाँदरजुङ, सार्दिखोलालाई जनहि १ लाख ८ हजार रुपैयाँ सहयोग गरेको छ । त्यहाँका विद्यार्थीलाई वार्षिक रुपमा खाजा खुवाउनका लागि लोटस फाउण्डेसन जर्मनीका अध्यक्ष रैनर कुबेराले पठाएको सो रकम कुमुदिनी होम्सका अध्यक्ष अशोक पालिखेले वाराही प्राविका प्रधानाध्यापक माधवप्रसाद गौतम र हिमालयन प्राविका रामप्रसाद आचार्यलाई हस्तान्तरण गरे ।

You might also like

Comments are closed.