कृष्णप्रसाद दुलाल, अध्यक्ष, नाडा अटोमोबाइल्स एसोसिएसन आफ नेपाल
कोरोना संक्रमण जोखिम बढेसँगै यतिबेला राजधानी काठमाडौं उपत्यकासहित देशका प्राय शहरमा निशेधाज्ञा जारी गरिएको छ । कोभिडका कारण बारम्बार लकडाउन र निशेधाज्ञा जारी गरिदा रोगले भन्दा भोकले मर्ने अवस्था आउन लागेको भन्दै व्यवसायीहरुले भने बिरोध गर्दै आइरहेका छन् । निशेधाज्ञा जारी गरिए अबज्ञा गर्नुपर्ने अवस्था आइसकेको नाडा अटोमोबाइल्स एसोसिएसन आफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् । दुलालसँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत छ :
कोभिड महामारी बढेसँगै राजधानीसहित प्राय शहरमा निशेधाज्ञा जारी छ । निशेधाज्ञाप्रति यहाँको धारणा के छ ?
कोरोना महामारीका कारण गरिएको बदाबन्दी र निशेधाज्ञाले सबैलाई प्रत्यक्ष असर पारेको छ । बन्दाबन्दी र निशेधाज्ञाले कोरोना महामारी कम भएको छ जस्तो लाग्दैन । र, घट्नेवाला पनि छैन । निशेधाज्ञा त एक प्रोपोगान्डा मात्र भएको छ । अब सुरक्षित भएर व्यवसाय सञ्चालन गर्नुको विकल्प छैन ।
काठमाडौंमा भदौ २४ गतेसम्म निशेधाज्ञा जारी छ । फेरी थपिने सम्भावना पनि छ । के भन्नुहुन्छ ?
२४ गतेपछि पनि पुनः निशेधाज्ञा थपिएमा अटो व्यवसायीले अवज्ञा गर्नेछन् । केन्द्र मात्र नभई जिल्ला जिल्लाका व्यवसायीले पनि निशेधाज्ञा नगर्न आग्रह गरेका छन् । विद्रोह गर्ने अवस्था आउनु हुँदैन । सुरक्षित तरिकाले अगाडि बढ्न पाउनुपर्छ भन्ने हाम्रो माग हो । सरकारले व्यवसायीका समस्या बुझेर त्यसै अनुशार काम गर्नुपर्छ ।
निशेधाज्ञा खुलाउँदा कोरोना संक्रमण झन् बढ्न सक्छ । यस्तो अवस्थामा झन् समस्या सिर्जना हुँदैन ?
कोरोना नियन्त्रणका लागि लकडाउन र निशेधाज्ञा मात्रै विकल्प हो भन्नेतर्फ राज्य जानु हुँदैन । सरकारले स्वास्थ्य निर्देशिका जारी गरेको छ । सोही निर्देशिकाको कार्यान्वयन गर्दै व्यवसाय सञ्चालन गर्नु र दैनिकी चलाउनुको विकल्प छैन । सरकारले बनाएका मापदण्ड हामी पालना गर्छौं । मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, दुरी कायम गर्ने जस्ता कुराको हामी पालना गर्छौं । मानिस रोगले भन्दा भोकले मर्ने अवस्था आइसकेको छ । भोका मानिसको संख्या बढिरहेको छ । यसतर्फ राज्यको ध्यान जानु आवश्यक छ ।
निशेधाज्ञा खोले पनि व्यवसाय सञ्चालन हुनसक्ने सम्भावना देख्नुहुन्छ ?
पहिला पनि ३ महिना लकडाउन गरेर खोलिएको थियो । खुलेपछि व्यवसायमा केही सुधार भएको थियो । छोटो समय पछि फेरी निशेधाज्ञा शुरु भयो । व्यवसायीको अवस्था पनि बिग्रन थाल्यो । त्यत्तिकै बसेर पनि त जीवन चल्दैन । खुलेपछि केही न केही त हुन्छ । बिस्तारै व्यवसाय अगाडि बढ्न थाल्छ । सुरक्षित तरिकाले काम गर्न पाउनुपर्छ । खानेकुरा नै सकिने अवस्था आएको छ । कोरोना भन्दा ठुलो रोग पनि त लाग्न सक्छ । कतिपय अन्य बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपरेको अवस्था समेत छ ।
यो समयमा राज्यले निर्वाह गरेको भूमिकाप्रति तपाईंको धारणा के छ ?
केही समयको लागि निशेधाज्ञा ठिकै हो । नेपालमा त ६ महिना हुन लागिसक्यो । निशेधाज्ञा गरिरहने हो भने कोरोना भन्दा अरु कारणले मानिसको मृत्यु हुन्छ । कोरोना नियन्त्रणमा सरकारले आफ्नो तरिकाले गरिरहेको छ । त्यसमा हाम्रो कुनै गुनासो छैन तर लकडाउन र निशेधाज्ञा नै यसको विकल्प हो भन्ने हामीलाई लाग्दैन । सरकार लकडाउन गरेर पन्छिएको अवस्था छ । लकडाउन गर्नु भनेकोे काम नगर्नुको संज्ञा हो । यो एउटा वहाना मात्र हो ।
अन्त्यमा के भन्नुहुन्छ ?
विश्वभर फैलिएको कोरोनाको मारमा हामीहरु पनि परेका छौं । अब सुरक्षित भएर अगाडि बढ्नु नै पर्छ । सकेसम्म जोगिने हो । कोरोना लागेपनि आत्तिनुपर्ने त होइन । सुरक्षित तरिकाले आइसोलेसनमा बस्ने, आफ्नो ख्याल गर्ने हो भने सन्चो पनि भइहाल्छ । अहिले निशेधाज्ञा छ । २५ गते भित्र भ्याट विवरण बुझाउनु पर्छ अनि हामीले के गर्ने ? १ दिन ढिला भएपनि फाइन तिर्नुपर्छ । अब व्यवसाय खोलौं । स्वास्थ्य मापदण्ड तथा निर्देशिका पालना गरौं । राज्य पनि जिम्मेवार बनोस् भन्ने मेरो आग्रह छ ।
Comments are closed.