नेकपा सरकारको कुशासन र भ्रष्टाचारले जनता निराश छन्ः पौडेल

पोखरा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाको कुशासन र भ्रष्टाचारले जनता निराश बनेको बताए । कांग्रेसको दोश्रो चरणको जनजागरणको कास्की क्षेत्र नम्बर २ मा मंगलबार वृक्षरोपण गरेर शुभारम्भ गर्दै उनले कम्युनिष्टको कुशासन र भ्रष्टाचारका कारण जनता निराश र असन्तोष बनेको बताए । नेकपाले सपना एउटा देखाउने तर सत्तामा पुगेर अर्कै काम गर्दा जनतामा असन्तोष र निराशा छाएको बताए ।

बरिष्ठ नेता पौडेलले नेकपाले सत्ताको सदूपयोग गर्न नसकेको टिप्पणी गरे । सरकार असफल भइसकेको बताउँदै उनले नेकपाको सरकारले पक्षपातको शासन गरिरहेको आरोप लगाए । सरकारले आफ्नो मान्छेलाई मात्रै पोषिरहेको छ,‘उनले भने,‘शाषक र शोषक जन्माउने काम नेकपाको सरकारले गरिरहेको छ ।’

बरिष्ठ नेता पौडेलले कांग्रेसले देशलाई बचाउने र बनाउने दुबै काम गर्ने बताए । उनले कांग्रेसलाई भोट नहाल्ने कांग्रेस हुन नसक्ने बताए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता पौडेलले नेकपाको सरकारले देशमा लुट मच्चाईरहेको आरोप लगाए । उनले दुई तिहाईको नेकपाको सरकारले न्यायालयदेखि अख्तियारसम्मलाई तर्साईरहेकोसमेत आरोप लगाए । दुई तिहाईको दवाबले अख्तियार र न्यायालयले राम्रोसँग काम गर्न नसकेको उनको भनाई थियो । ठूला माछा समात्दा अख्तियारको हात काँप्छ,‘उनले भने,‘त्यहि भएर अख्तियारले साना माछा अर्थात कर्मचारीलाई मात्रै समात्छ, ठूला माछा भनौदा सरकार र नेकपाका हर्ताकर्तालाई समात्नै सक्दैन ।’

कार्यक्रममा बोल्दै कांग्रेसका पुराना नेता शुक्रराज शर्माले पृथकताबादीले कांग्रेसको एजेण्डा समातेर सडकमा आएको बताउँदै कांग्रेसले अब आफ्नो एजेण्डा समात्न ढिलाई गर्न नहुने बताए । हिन्दू राज्यको माग कांग्रेसले समिात्नुपर्ने उनको आशय थियो ।

कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले कांग्रेस सुध्रिएर आएको सन्देश जनतालाई दिनुपर्ने बताए । उनले नेकपाको सरकारले कांग्रेसबाट निर्वाचित सांसदलाई बजेट नदिएर अन्याय गरिरहेको गुनासो गरे । नेकपाका सांसदलाई दोब्बर बजेट पारियो,‘उनले भने,‘तर हामी कांग्रेस सांसदलाई बजेट शून्य बनाइयो ।’

कास्की क्षेत्र नम्बर २ को आयोजनामा भएको वृक्षरोपण कार्यक्रममा बिपीको १०६ औं जन्म जयन्तीको अवसरमा १ सय ६ वटा नै बिरुवा रोपिएको थियो ।

You might also like

Comments are closed.