नेचुरल सहकारीको सेवाकेन्द्र कालिमाटीमा विस्तार, प्रविधिमैत्री सेवा प्रदान

काठमाडौं । नेचुरल बचत तथा ऋण सहकारी संस्थाले तेस्रो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । काठमाडौंको कालिमाटीमा सञ्चालनमा ल्याइएको सेवाकेन्द्रको बिहीबार राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवि उप्रेतीले उद्घाटन गरे ।

कालिमाटी क्षेत्रका सदस्यहरुको मागलाई मध्यनजर गरी सहकारीले सेवा केन्द्र स्थापना गरेको कार्यकारी प्रमुख विकल्प पाठकले आर्थिक आवाजलाई जानकारी दिए ।

‘कालिमाटी क्षेत्रमा रहनुभएका हाम्रो धेरै सेयर सदस्य साथीहरुले सेवाकेन्द्र विस्तार गर्न सुझाव दिनुभएको थियो,’ पाठकले भने, ‘अब हामी कालिमाटी सेवाकेन्द्रबाट सदस्यहरुलाई छिटो, छरितो सहकारी सेवा प्रदान गर्नेछौं ।’

जोरपाटीमा प्रधान कार्यालय रहेको सहकारीको अन्य सेवा केन्द्रहरु काठमाडौंको साँखु र नयाँबजारमा छ । सम्पर्क कार्यालय काँडाघारीबाट पनि सेवा प्रदान भइरहेको छ । सहकारीमा ६ हजार भन्दा बढी सेयर सदस्य छन् ।

प्रविधिमैत्री सेवामा अग्रणी

नेचुरल सहकारीले प्रविधिमैत्री सेवा प्रदान गरिरहेको पाठकले जानकारी दिए । एटिएम, मोबाइल बैंकिङ, बैंक ट्रान्फर, क्युआरकोड पेमेन्ट लगायतका सेवा सहकारीले प्रदान गरिरहेको छ ।

‘विश्वव्यापी फैलिएको कोभिड महामारीले पनि सहकारीलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भने, ‘हामीले सहकारीलाई प्रविधिमैत्री बनाएका छौं र सेयर सदस्यहरुलाई पनि प्रविधिमैत्री बन्नका लागि प्रोत्साहन गरिरहेका छौं ।’

You might also like

Comments are closed.