नेपालमा बिमाको पहुँच बढ्ने क्रम जारी छ : अध्यक्ष चापागाईं

पोखरा । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले नेपालमा बिमाको पहुँच बढ्ने क्रम जारी रहेको बताएका छन् । हालसम्म ७१ लाख नेपाली अर्थात २४ प्रतिशत जनताको जीवन बिमा भएको तथ्यांक रहेको उनले जानकारी दिए ।

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निम्स) पोखरा च्याप्टरले शनिबार पोखरामा आयोजना गरेको स्मारिका बिमोचन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बिमाप्रति आकर्षण बढिरहेको बताए । ‘बिमालाई व्यापक बनाउने सरकारको लक्ष्य छ,’ उनले भने, ‘सरकारको सोही लक्ष्य अनुसार बिमाको कभरेज पनि बढिरहेको छ ।’ नेपालमा घुम्ती बिमा भइरहेको र आगामी दिनमा पनि घुम्ती बिमालाई अझै व्यापक बनाइने अध्यक्ष चापागाईंले बताए ।

jutta mela

कोभिड–१९ को प्रकोपसँगै सुरु भएको कोरोना बिमा गराउनेहरु ५ लाख ६१ हजार पुगेको उनले जानकारी दिए । कोरोना बिमाबाट करिब ३५ करोड रुपैयाँ प्रिमियम संकलन भएको उनले बताए । साउन १ गतेबाट कोरोना बिमामा दिइने भनिएको अनुदानको मापदण्ड बनाउने काम भइरहेको चापागाईंले जानकारी दिए ।

कार्यक्रममा बोल्दै डेभलपमेन्ट बैंकर एसोसिएसन नेपालका अध्यक्ष गोविन्द ढकालले बिमाभन्दा बाहिर धेरै क्षेत्र रहेकाले सरोकारवालाहरुको पहलमा बिमाको पहुँच बढाउनुपर्ने धारणा राखे । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण तिवारीले बिमाप्रति आकर्षण बढ्नु राम्रो पक्ष भएको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले इन्स्योरेन्स मेरो लागि हो भनेर जनताले बुझ्नुपर्ने धारणा राखे । सर्भेयर एसोसिएसन गण्डकीका अध्यक्ष सुरेन्द्र गोदारले ऋण लिनका लागि मात्रै बिमा गर्ने प्रचलन रहेकाले सम्पत्ति र जीवनको सुरक्षाका लागि बिमा गर्नुपर्छ भन्ने सोचको विकास आवश्यक रहेको बताए ।

निम्सका पोखरा च्याप्टर अध्यक्ष कविराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निम्स पोखराका पूर्व अध्यक्ष सुनयना पालिखे, निवर्तमान अध्यक्ष केशवराज ढकाल, उपाध्यक्ष दीपकराज तिवारी, सचिव तेजप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

निम्स कास्कीद्वारा प्रकाशन गरिएको स्मारिका सोही कार्यक्रमको अवसरमा बिमोचन गरिएको छ । उक्त स्मारिका निम्स कास्कीको दस्ताबेज बन्ने विश्वास निम्स कास्कीको छ ।

You might also like

Comments are closed.