नेवारी संस्कारमा प्रयोग गरिने सामानहरु नेवा सांस्कृतिक संग्रहालयमा

सन्देश श्रेष्ठ
पोखरा, ८ साउन । पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रुपमा नेवा सांस्कृतिक संग्रहालय थपिएको छ । प्रकृतिले भरिपूर्ण पोखरामा पर्यटकीय गन्तव्यको रुपमा नेवा सांस्कृतिक संग्रहालय थपिएको हो । नेवा खलः कास्कीले निर्माण गरेको नेवा सांस्कृतिक संग्रहालय नेवा छेँ भवन भीमसेनटोलमा निर्माण गरिएको हो ।

पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको नेवा सांस्कृतिक संग्रहालय नेवा छेँ भवनको सबैभन्दा माथिल्लो तलामा राखिएको छ । नेवा छेँ भवनको भुईंतलालाई भोज खाने ठाउँ र दोश्रो तलालाई सभाहलको रुपमा विकास गरिएको छ ।

संग्रहालयमा नेवारी परम्परामा प्रयोग गर्ने सम्पूर्ण सामान राखिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । उनका अनुसार संग्रहालयमा नेवारी परम्परामा न्वारानदेखि मृत्यू संस्कारसम्म प्रयोग हुने सम्पूर्ण सामान राखिनेछ । संग्रहालयमा आधाजसो सामानहरु राखिसकिएका छन् । केहि राख्ने क्रम जारी छ । बाँकी अपुग सामान भने कहाँबाट ल्याउने भन्ने टुंगो लागिसकेको छैन ।

संग्रहालयमा हाल राखिएका सामानहरु सबै सौजन्य प्राप्त भएको अध्यक्ष पालिखेले बताए । उनले भने,‘संग्रहालयलाई दाताहरुले स्वेच्छाले नेवारी संस्कारमा प्रयोग गरिने सामानहरु दिनुभएको छ, केहि सामान पछि थप्छौं ।’ उनले संग्रहालयमा राखिएका सामानहरु केहि उपहार भएको त केहि आवश्यक परेको समयमा फिर्ता गर्नेगरी राखिएको बताए ।

नेवा संग्रहालय बनाउन पर्यटन वोर्डले ३ पटक गरेर ८५ लाख रुपैयाँ सहयोग गरेको अध्यक्ष पालिखेले जानकारी दिए । उनका अनुसार शुरुमा २५ लाख दिएको पर्यटन वोर्डले पछि १० लाख र अन्तिममा ५० लाख गरी कुल ८५ लाख दिएको छ । सो रकम संग्रहालयमा राखिने संस्कारजन्य सामान राख्ने ¥याक, कोठाको डेकोरेसन, एसी र सीसी टिभी जडानका लागि खर्च भएको उनको भनाई छ । संग्रहालय भित्रै तायामचाः बाह्रभैरव नाचलगायत सम्पूर्ण नेवारी कर्मकाण्ड बारेको अडियोभिडियोसमेत राखेर संस्कार संस्कृति अन्वेषक, विद्यार्थी र पर्यटकलाई देखाइने उनले जानकारी दिए ।

नेवा संग्रहालय मात्र नभई नेवा छेँ आफैमा पनि पर्यटकीय गन्तव्य हो । भीमसेन दुवादश गुठीको ३ रोपनी जग्गामा ७ करोडको लागतमा बनेको यो भवन कलात्मक छ । भवनमा ऐतिहासिक झ्यालहरु प्रयोग गरिएको नेवा खलः कास्कीका उपाध्यक्ष तथा संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिए । उनका अनुसार सो झ्यालहरु अनुमानित २ सय ५० वर्ष पुराना हुन् भने यी झ्यालहरु भक्तपुरबाट झिकाइएको हो । भवन निर्माणका लागि प्रयोग गरिएको ईटापनि भक्तपुरबाट ल्याइएको हो । जुन इटा सामान्य इटा भन्दा बलियो हुन्छ भने यसको मूल्यपनि दोब्बर पर्ने संस्कृतिविद् श्रेष्ठले बताए ।

भवनको दक्षिण पूर्वी परिसरमा फलैंचा निर्माण गरिएको छ । नेवारी परम्परामा सत्तल वा पाटीजस्तै फलैंचा प्रयोग हुने गरेकाले सो फलैंचा पछिल्लो पुस्तालाई पनि थाहा होस् भनेर निर्माण गरिएको श्रेष्ठले बताए ।

नेवा छेँ भवन र नेवा संग्रहालय आगामी ६ महिनाभित्र पूर्ण रुपमा सम्पन्न हुने नेवा खलः कास्कीका अध्यक्ष पालिखेले बताए । भवन र संग्रहालय पूर्ण रुपमा सम्पन्न गर्न अझै २ करोड लाग्ने र सो रकम सहयोगको रुपमा संकलन गर्ने प्रयास भइरहेको उनको भनाई छ ।

नेवा छेँ भवन र नेवा सांस्कृतिक संग्रहालय निर्माणसँगै पोखराको गणेशटोलदेखि विन्ध्यबासिनी मन्दिरसम्मको क्षेत्र सम्पदा क्षेत्र (हेरिटेज साइट)को रुपमा विकास भएको संस्कृतिविद् श्रेष्ठले बताए । उनका अनुसार गणेश मन्दिर, नेवा छेँ मा प्रयोग गरिएको पुरातात्विक तथा ऐतिहासिक झ्याल, भीमसेन मन्दिर, विन्ध्यबासिनी मन्दिर सबै २ सय ५० वर्ष भन्दा पहिलेका पुरातात्विक तथा ऐतिहासिक स्थलहरु भएकाले यो सम्पदा स्थलका रुपमा विकास हुनपुग्ने उनको तर्क छ ।

नेवा छेँ भवन र नेवा सांस्कृतिक संग्रहालय निर्माण सम्पन्न भएर अवलोकनका लागि खुल्ला भएमा पर्यटकको बसाई लम्विने विश्वास गरिएको छ । संस्कृतिविद् श्रेष्ठले संग्रहालय खुल्ला हुने वित्तिकै पर्यटकको बसाई आधा दिनदेखि एक दिन लम्विने बताए ।

यसैबीच, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, पर्यटन वोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया, सामाजिक विकास मन्त्रालयका उपसचिव दीर्घनारायण अधिकारीलगायतले बुधबार संग्रहालयको अवलोकन गरे । अवलोकनपछि बोल्दै मन्त्री लम्सालले नेवा संग्रहालय पर्यटकीय गन्तव्यका रुपमा विकास हुने विश्वास व्यक्त गरे । उनले संग्रहालय निर्माण सम्पन्न गर्न प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिए । उनले संग्रहालयमा राखिने ऐतिहासिक सामानहरु स्वेच्छाले नदिए किनेर भएपनि राख्न नेवा खलःलाई सुझाव दिए । जवाफमा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले ऐतिहासिक सामानहरुको मूल्य नै नहुने र ति सामानहरु किन्दापनि महंगो पर्ने तर आफूहरुसँग आर्थिक अभाव भएकाले मन्त्रालयले नै सहयोग गर्नुपर्ने बताएका थिए ।

You might also like

Comments are closed.