परमाणु अस्त्रको बटन मसँगै छः किम

उत्तर कोरियाली नेता किम जङ–अनले आफ्नो देश परमाणु अस्त्रसम्पन्न भएको दोर्होयाउँदै त्यसको ’बटन’ आफ्नो नजिकै रहेको चेतावनी दिएका छन् । उनले सम्पूर्ण अमेरिकी मूलभूमिमा प्रहार गर्न सक्ने सामथ्र्य भएका परमाणु अस्त्र उत्तर कोरियाले विकास गरिसकेकाले अब वाशिङटनले कहिल्यै पनि युद्ध शुरु नगर्ने बताए ।

तर उनले उत्तर कोरियाको सुरक्षामाथि जोखिम नभएसम्म परमाणु अस्त्रको प्रयोगको आदेश नदिने उल्लेख गरेका छन् । दक्षिण कोरियाका बारेमा सकारात्मक धारणा राख्ने क्रममा किमले वार्ताका लागि आफू सकारात्मक भएको बताए ।

एउटा अवज्ञाकारी सन्देशमा किमले सम्पूर्ण अमेरिका अब आफ्नो परमाणु अस्त्रको पहुँचमा रहेको भन्दै अमेरिकाले कहिल्यै पनि युद्ध शुरु गर्न नसक्ने बताए । उनले भने, ‘परमाणु अस्त्रको बटन जतिबेला पनि मेरो साथमै हुन्छ ।’

किमले आफूले भनेका कुरा धम्की मात्र नभई वास्तविकता भएको पनि उल्लेख गरेका छन् । आगामी फेब्रुअरीमा दक्षिण कोरियामा आयोजना हुने शीतकालीन ओलिम्पिक्समा प्रतिनिधिमण्डल पठाउनेबारे आफूले सोचिरहेको जनाएका छन् ।

दक्षिण कोरियाले लामो समयदेखि सो प्रतियोगितामा प्योङयाङको सहभागिता हुँदा त्यसले कोरियाली प्रायद्वीपमा जारी तनाव कम गर्न सहयोग गर्न सक्ने बताउँदै आएको छ । बिबिसीबाट

You might also like

Comments are closed.