पर्यटक आकर्षित गर्न क्यासिनो र जुवा सञ्चालन गरौंः मुख्यमन्त्री गुरुङ

पोखरा । आन्तरिक पर्यटन वर्ष २०१९ मूल आयोजक समिति घोषणा सभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आन्तरिक पर्यटन वर्षको कार्यक्रम सञ्चालन गर्न ढिला भएको भन्दै अब तिव्र रुपमा काम अघि बढाउन निर्देशन दिए । उनले भने, ‘६ महिना ढिलो गरेर समितिले पूर्णता पायो, अब तिव्र रुपमा काम गर्न म निर्देशन दिन्छु ।’ उनले आगामी आर्थिक वर्षभित्र पर्यटनको गुरुयोजना बनाउनपनि निर्देशन दिए । चालु आर्थिक वर्ष भित्रै गुरुयोजना बनाउने भनेका थियौं,‘तर यो वर्ष सकिएन, अब आगामी आर्थिक वर्ष भित्रै गुरुयोजना बनाईसक्नुपर्छ, त्यसका लागिपनि म निर्देशन दिन्छु ।’

मुख्यमन्त्री गुरुङले पर्यटक आकर्षित गर्न क्यासिनो सञ्चालन गर्नुपर्ने बताए । मकाउसहितका देशमा क्यासिनो र जुवाकै कारण वर्षेनी लाखौं पर्यटक जाने गरेको र उनीहरुको आम्दानीको मूख्य श्रोत नै जुवा र क्यासिनो भएको बताउँदै उनले गण्डकी प्रदेशमा पनि प्रक्रिया पु¥याएर क्यासिनो सञ्चालन गर्न दिनुपर्ने बताए । उनले क्यासिनोका कारण घरबार बिग्रेको, परिवार विखण्डन भएको धेरै सुनिएको बताउँदै अब त्यसलाई ब्यबस्थित गरेर सञ्चालन गर्न सके त्यो आम्दानीको गतिलो माध्यम बन्ने बताए । यद्वपी उनले नेपालीलाई निशेध गरेर विदेशीलाई मात्रै क्यासिनो खेल्न दिनुपर्ने नियम बनाउनुपर्नेमा जोड दिए । क्यासिनो खेल्ने पर्यटकले पैसापनि धेरै खर्च गर्छ,‘उनले भने,‘क्यासिनोले सरकारलाई करपनि बढी तिर्छ, पर्यटकपनि धेरै आउँछन्, जति धेरै बस्यो उति धेरै पैसा तिर्छन्, जति धेरै सुत्यो उति धेरै पैसा पायो, तर यो नेपालीका लागि होइन, विदेशीलाई हो ।’

मुख्यमन्त्री गुरुङले पर्यटनको हब पोखरा नै भएको बताए । पोखरा पर्यटकीय हिसाबले राजधानी नै हो,‘उनले भने,‘टुरिजमको हब भनौं कि इपी सेन्टर, त्यो पोखरा नै हो ।’ उनले उनले पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन जरुरी रहेको बताए । पोखरामा आउने पर्यटकको बसाई लम्ब्याउन सकिएको छैन,‘उनले भने,‘पर्यटकको बसाई लम्ब्याउन पर्यटकीय प्रोडक्ट थप्नुपर्छ, प्रदेश सरकार त्यसैको तयारीमा छ ।’

मुख्यमन्त्री गुरुङले ग्रामिण पर्यटन र होमस्टेलाई जोड दिदा सहरी पर्यटन व्यवसायीहरु तर्सिन नहुने बताए । प्रदेश सरकार सहर छाडेर गाउँमात्रै केन्द्रत छैन,‘उनले भने,‘ग्रामिण पर्यटनलाई बलियो बनाउँदा सहरी पर्यटन व्यवसायी रिसाउनु हुँदैन, गाउँमा पर्यटक जाँदा सहरमा पर्यटक कम हुँदैन ।’ गण्डकी प्रदेशलाई पर्यटनकै माध्यमबाट समृद्धीमा लैजाने बताउँदै उनले सहरी क्षेत्रमा मात्रै सिमित हुन नहुने बताए ।

मुख्यमन्त्री गुरुङले पर्यटन क्षेत्रमापनि माफिया रहेको बताए । उनले फेक रेस्क्यू त्यसैको उदाहरण रहेको उल्लेख गरे । पर्यटनमा रहेको माफियाका कारण अन्र्तराष्ट्रिय जगतमा राम्रो सन्देश नगएको भन्दै यसको अन्त्य गर्न जरुरी रहेको औंल्याए ।

You might also like

Comments are closed.