पर्यटक बसअन्तर्गत ट्राभल क्षेत्रमा ३ अर्ब लगानी !

पोखरा । कोरोना कहर अगाडि पोखराबाट दैनिक ३५ वटा पर्यटक बसहरु छुट्थे । काठमाडौं, बेशिसहर, सुनौली, सौराहा जाने बसहरु प्राय खाली सिट गन्तव्यमा जानु पर्दैन्थ्यो । तर, यतिबेला कोरोना भाइरस संक्रमण त्रासका कारण लामो समयदेखि दैनिक ४ वटा बसमात्रै चल्ने गरेको व्यवसायीहरु बताउँछन् । यतिबेला काठमाडौं र सुनौलीका लागि मात्रै बस छुट्ने गरेका छन् ।

४१औं विश्व पर्यटन दिवसका अवसरमा नेपाल एशोसिएसन अफ ट्रभल एण्ड टुर एजेन्टस् (नाट्टा) गण्डकी प्रदेशले पोखरामा पर्यटन दिवस मनाउने क्रममा व्यवसायीहरुले अहिलेको अवस्थाका बारेमा प्रष्ट पारेका हुन् । पर्यटक बसअन्तर्गत ट्राभल क्षेत्रमा हाल ३ अर्ब रुपैयाँको लगानी रहेको व्यवसायीहरु बताउँछन् ।

‘यो लगानी जोखिममा परेको हामीले महसुस गरेका छौं,’ एक व्यवसायीले भने । कोरोनाका कारण काठमाडौं बाहेक अन्य क्षेत्रमा पर्यटक बस जान नसके पनि छिट्टै यात्रु तथा पर्यटकहरु वृद्धि भइ पुरानै अवस्थामा व्यवसाय फर्कनेमा आफूहरु आशावादी रहेको व्यवसायीहरु बताउँछन् ।

पर्यटक दिवसमा विविध कार्यक्रम

कोरोना भाइरस महामारीको कारण पर्यटन क्षेत्र ठप्प भएको बेला पर्यटन बसपार्क र पर्यटन बोर्ड गण्डकी प्रदेश अगाडि हात धुनका लागि पानीसहितको ट्याङ्की राखिएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

नाट्टा गण्डकीका पूर्व अध्यक्ष तथा काउन्सिलका संयोजक ओम पाण्डेले साबुनपानीले हात धोएर सो अभियान उद्घाटन गरेका थिए । कार्यक्रममा उनले पोखराबाट भित्रिने र बाहिरिने पर्यटकको लागि सो निकै उपयोगी हुने बताए ।

पोखरा भित्रिने र बाहिरिनेहरुका लागि सुरक्षा सतर्कताका लागि सो व्यवस्था गरिएको प्रथम उपाध्यक्ष हरिराम अधिकारीले बताए । नाट्टाले आइतबार नै सिटी टुर गाइड एशोसिएसन पोखरालाई १५ हजार नगद दिएको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको भवन निर्माणका लागि ५० हजार रुपैयाँ भवन निर्माण समितिका अध्यक्ष दिलीप श्रेष्ठलाई हस्तान्तरण गरिएको कोषाध्यक्ष राजेश पहारीले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.