पर्यटनको परिभाषा फेरियो, अब ‘लक्जरियस’ भन्दा सुरक्षा प्राथमिकतामाः अध्यक्ष राणा

सृजना राणा
अध्यक्ष, होटल एसोसिएसन नेपाल

कोरोना महामारीको त्राससँगै नेपालमा गत चैतदेखि लकडाउन गरियो । लकडाउनसँगै नेपालको पर्यटन व्यवसाय ठप्प भयो । नेपालका सम्पूर्ण होटलहरु पनि बन्द भए । सरकारले यतिबेला लकडाउनको अन्त्य भएको घोषणा गरेसँगै साउन १५ बाट होटलहरु खुल्ने निर्णय गरेको छ । यो परिस्थितिमा होटल व्यवसायीहरु पनि होटल खुलाउन तयार अवस्थामा छन् । होटल खुलेपनि पर्यटक आउने सम्भावना छैन ।

कोरोना महामारीले असर पारेको होटल व्यवसाय पुरानो अवस्थामा आउन समय लाग्छ । लकडाउन खुलेसँगै होटल सञ्चालनको लागि पनि विभिन्न नियम तथा मापदण्ड बनाइएको छ । यसको पालना गर्नुपनि आवश्यक छ । यसको लागि तालिम प्रदान गर्ने काम पनि शुरु भएको छ । सुरक्षित तथा व्यवस्थित तरिकाले होटल संचालन गर्नुपर्छ । हामीहरु पनि सोही तयारीमा छौं ।

jutta mela

यतिबेला पर्यटनको परिभाषा नै फेरिने अवस्था छ । पहिला होटल जति लक्जरियस त्यति राम्रो मानिन्थ्यो, अब जति सुरक्षित भयो त्यति नै राम्रो भन्ने कुरा आउन थालेको छ । हामी सबैले होटल सञ्चालन गर्दा सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्नैपर्छ ।

नेपालमा पर्यटक कसरी र कति भित्रिन्छन् भन्ने कुराको अन्योलता छ । बाहिरबाट आउने पर्यटक केही समय प्राय ठप्प नै हुन्छ भन्ने लाग्छ । आन्तरिक पर्यटक भने अब विस्तारै समय मिलाएर बाहिर निस्कने सम्भावना देखिन्छ । काठमाडौं भन्दा बाहिर बिस्तारै होटलहरु आन्तरिक पर्यटकको भरमा सञ्चालन गर्न सकिन्छ ।

२०२० मा पर्यटन व्यवसाय चल्ने सम्भावना छैन । हामीले अब २०२१ को तयारी गर्ने हो । २०२१ मा पनि कोरोना महामारीको अवस्था हेरेर मात्र पर्यटकको आँकलन गर्न सकिन्छ । अवस्था राम्रो बनेमा भने केही सहज हुनेछ भन्ने विश्वास छ ।

घुम्ने मानिसको बानी बनेको छ । परिस्थिति सहज भएमा पक्कै पर्यटनमा सुधार आउला भन्ने लाग्छ । नेपाल विश्वभरका पर्यटकको गन्तव्य स्थानको रुपमा पर्न सफल पनि छ । प्राकृतिक रुपमा नेपाल उत्कृष्ट छ । भौतिक तरिकाले पनि राम्रोसँग होटल सञ्चालन गर्नु आवश्यक छ । होटल संघमा करिव ३ हजार ५ सय होटल हानमा आवद्ध छन् । (कुराकानीमा आधारित)

प्रस्तुति  : सुरेन्द्र पौडेल

You might also like

Comments are closed.