‘पर्यटन क्षेत्रमा संस्कार जरुरी’

आर्थिक आवाज
पोखरा । पर्यटन क्षेत्रको विकासका लागि आतिथ्यता सत्कारसँगै पुर्वाधार विकासमा जोड दिनुपर्ने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले बताएकी छन् । महिला पर्यटन व्यवसायी मञ्चको वार्षिक साधारण सभामा मन्त्री पुनले पर्यटकको अधिकारलाई हनन हुनेगरी बसपार्कमा पुगेर पर्यटकको हात समाएर तान्ने संस्कार तोड्नु पर्ने बताइन् ।

उनले पर्यटन क्षेत्रको विकासका लागि संस्कारयुक्त आतिथ्यताको जरुरी औल्याइन । पर्यटन क्षेत्रमा महिलाको योगदान अतुलनीय रहेको तर आर्थिक रुपान्तरणसँग नजोडिएकाले महिलाको योगदान गौण बनिरहेको उनको भनाइ छ ।

पर्यटन वर्ष २०२० का लागि गण्डकी प्रदेश संयोजक अग्नि कँडेलले स्वर्ग जस्तो पोखराप्रति राज्यले चासो नदिँदा यसलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार गर्न नसकिएको बताए ।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, वडा नं ६ लेकसाइडका अध्यक्ष जगत पहारी, मितेरी आमा समूहका अध्यक्ष मिरा पौडेल, संस्थाका सल्लाहकार पम्फा पहारी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष मिना भट्टराई लगायतले पर्यटन लेकसाइडलाई विवादित बनाएर होइन साझा समस्यामा समाधान खोजेर दीर्घकालीन योजनाकासाथ अघि बढ्न सुझाव दिएका थिए ।

सो कार्यक्रमा महिला पर्यटन व्यवसायी विष्णु गुरुङ एकताको सम्पादनमा प्रकाशित “साहासी महिला” पुस्तकको मन्त्री पुनले विमोचन गरिन् । हरेक क्षेत्रमा रहेका महिलाको योगदानलाई लिपिवद्ध गर्ने सके महिलाको कामको मुल्यांकन हुने सम्पादक गुरुङले बताइन् ।

संस्थाका अध्यक्ष जमुना पराजुलीले पर्यटन क्षेत्रको विकास र महिलाको व्यावसायिक पहिचानका लागि पहल गर्दै संस्थाले विभिन्न क्षमता विकास र प्रर्वद्धनात्मक कार्य गर्दै आइरहेको जानकारी दिइन् । संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले लामो संघर्ष पछि महिला पर्यटनक्षेत्रमा एकवद्ध भएर अघि बढ्दै गएको धारणा राखिन् । सचिव उमा भण्डारीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

You might also like

Comments are closed.