पर्यटन व्यवसायीको आरोपः ‘बैंक तथा वित्तीय संस्थाले चाबी बुझाउन बाध्य बनाए’

पोखरा । पोखरेली पर्यटन व्यवसायीहरुले बंैक तथा वित्तीय संस्थाहरुले आफूहरुलाई चाबी बुझाउन बाध्य पारेको आरोप लगाएका छन् । पोखरेली पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले बुधबार पत्रकार भेटघाट गर्दै पर्यटन व्यवसाय ठप्प हुँदा पनि बैंक तथा वित्तीय संस्थाहरुले लोनको किस्ता र ब्याजका लागि ताकेता गरेर होटल तथा रेष्टुरेण्टको चाबी नै बुझाउन बाध्य बनाएको आरोप लगाएका हुन् ।

‘विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र लकडाउनका कारण पर्यटन व्यवसाय ठप्प छ,’ परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले भने, ‘यस्तो बेलापनि बैंक तथा वित्तीय संस्थाले लोनको किस्ता र ब्याज चाहियो भन्दै ताकेता गरिरहेका छन् ।’ उनले ताकेता जारी राखे अबको केहि दिनपछि लोन रहेको सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई होटल, रेष्टुरेण्ट वा आफ्नो जे व्यवसाय छ त्यसको चाबी नै बुझाउने बताए ।

‘तालाचाबी बुझाउन त हामीले व्यवसाय गरेका होइनौं,’ अध्यक्ष पोखरेलले भने, ‘तर बैंक तथा वित्तीय संस्थाले ठेल्दै ठेल्दै भीरमा ल्याइपु¥याएका छन् । अब खसाल्ने अवस्था नै आयो भने चाबी बुझाउनुको विकल्प रहँदैन ।’

अध्यक्ष पोखरेलले पर्यटन व्यवसाय डुबेमा बैंक तथा वित्तीय संस्था पनि डुब्ने चेतावनी दिए । आफू डुब्नबाट बच्न भएपनि बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीलाई डुब्नबाट बचाउनुपर्नेमा उनले जोड दिए ।

परिषदका उपाध्यक्ष गोपीबहादुर भट्टराईले कम्तिमा पनि अबको २ वर्ष बैंक तथा वित्तीय संस्थाहरुलाई पर्यटन व्यवसायीले लोन तथा ब्याज बुझाउन नसक्ने बताए । ‘हामीले तिर्दिन भनेको होइन । हामीले समथ थपिदिनुस् मात्र भनेका हौं, पछि त हामी जसरीपनि तिर्छौं,’ उनले भने । उनले लोनको किस्ता तिर्ने समयअवधी पुर्नतालिकीकरण मात्र गरिदिए पुग्ने बताए ।

पर्यटन व्यवसायीहरुले कम्तिमा २ वर्ष लोनको किस्ता र ब्याज तिर्ने समय थपिदिन आग्रह गरेका छन् । उनीहरुले कोरोना कहरका कारण व्यवसाय बन्द हुँदा त्यसको चिन्ता र तनाव भइरहेका बेला बैंक तथा वित्तीय संस्थाले लोनको किस्ता र ब्याजका लागि ताकेता गरेर थप मानसिक तनाब दिएको भन्दै त्यस्तो तनाब दिने काम बन्द गर्न अनुरोध गरेको छ ।

पोखरा पर्यटन परिषदले संघ सरकारले कोभिड–१९ बाट प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न छुट्याएको १ अर्बको पुनर्कर्जा कोष र ५० अर्बको व्यवसाय सञ्चालन कोष मध्ये धेरै भन्दा धेरै पोखराका लागि छुट्याउन माग गरेको छ । पोखरा पर्यटनको राजधानी भएको र यहाँ सबैभन्दा धेरै पर्यटन व्यवसाय भएकाले पोखराका लागि धेरै बजेट छुट्याउनुपर्ने अध्यक्ष पोखरेलले बताए । त्यस्तै, प्रदेश सरकारले विनियोजन गरेको १ अर्बको व्यवसायीक जीवन रक्षा कोषपनि कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रका लागि छुट्याउन माग गरिएको छ ।

परिषदले लोनको ब्याज घटाउन, घरभाडा छुट दिनुपर्नेलगायतका मागसमेत गरेको छ । पोखरामा ५ सय पर्यटक स्तरीय होटलहरु रहेका छन् भने खर्बौं रुपैयाँ यस क्षेत्रमा लगानी भएको छ । पोखरा पर्यटन परिषद पश्चिमाञ्चल होटल संघ, रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखरा, नाट्टा, पाटा, टान, युनिट्राभलगायत १२ वटा पर्यटन सम्बद्ध संघसंस्थाहरुको छाता संस्था हो ।

You might also like

Comments are closed.