पर्यटन व्यवसायी महिलालाई स्वास्थ्य प्रोटोकल सम्बन्धी प्रशिक्षण

पोखरा ।

साउन १५ देखि सञ्चालनमा आएका पर्यटन क्षेत्रका व्यवसायी महिलाले कोभिड– १९, को सङ्क्रमणबाट जोगिन अपनाउनु पर्ने स्वास्थ्य सतर्कताका बारेमा तालिम लिएका छन् ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा र पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा आफ्ना सदस्यहरुलाई स्वास्थ्य सुरक्षा सचेतना सम्बन्धी प्रशिक्षण दिइएको मञ्चका अध्यक्ष जमुना पराजुलीले जानकारी दिईन् । पराजुलीले भनिन् “लामो समयको बन्दाबन्दी पछि सञ्चालन हुन लागेको पर्यटन व्यवसायलाई कसरी स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय सञ्चालन गर्ने सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्रशिक्षण दिएका हौ ।”

कोरोना जोखिम बढिरहेकै अवस्थामा सञ्चालन हुन गइरहेका होटल, रेष्टुरेण्ट, .ट्रेकिङ्ग लगायतका अन्य व्यवसाय सञ्चालन गर्दा विश्व स्वास्थ्य संगठनले जारी गरेको ‘हेल्थ प्रोटोकल’लाई अपनाएर कसरी व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा इन्टरनेशनल मेडिकेयर एण्ड एसिस्टेन्स सेन्टरका डाइरेक्टर डा. मुकेश मल्लिकले प्रशिक्षण दिएका थिए । उनले कोरोना असावधानिका कारण फैलने भन्दै व्यवसाय सञ्चालन गर्दा प्रारम्भिक तहदेखिनै सेवा प्रवाहको अन्तिम अवस्थासम्म ध्यान दिनुपर्ने र सेवा प्रवाह गर्दा आवश्यक स्वास्थ्य सामग्री, त्यसको प्रयोग, सामाजिक दुरीका बारेमा केन्द्रित रहेर प्रस्तुती राखे । डा. मल्लिकले घरमै स्यानिटाइजर बनाउन सकिने विधिका बारेमा समेत सिकाएका थिए ।

कार्यक्रममा मञ्चका सल्लाहकार देवका पहारीले विषम् परिस्थितिमा सञ्चालन हुन थालेको पर्यटन व्यवसायलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य प्रोटोकलको प्रशिक्षण निकै प्रभावकारी भएको भन्दै पालनमा जोड दिन आग्रह गरिन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले व्यवसायमा सानो सानो लापर्वाहीले ठूलो क्षती ब्यहोर्नु पर्ने अवस्था आउने हुँदा स्वास्थ्य सतर्कता पूर्व तयारीका साथ व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा पर्यटन व्यवसायमा संलग्न विभिन्न क्षेत्रका ५० व्यवसायी महिला सामाजिक दुरी कायम गरेर कार्यक्रम सहभागी भएको सचिव उमा भण्डारीले जानकारी दिईन् ।

You might also like

Comments are closed.