सुरेन्द्र पौडेल
पोखरा, २७ असार । ‘पहाडकी रानी’को उपमाबाट परिचित तनहुँको ग्रामीण पर्यटकीय गन्तव्य बन्दिपुरसम्म अब केबलकारबाट जान सकिने भएको छ । पृथ्वी राजमार्गको ठूलढुङगादेखि बन्दिपुरसम्म सिधा रोपवे केवलकार परियोजना निर्माण हुने भएको हो । परियोजनाको साउन ४ गते शुक्रबार शिलान्यास हुँदैछ । सडकमार्ग हुँदै बन्दिपुर पुग्ने पर्यटकलाई केबलकार बनेपछि आवतजावत गर्न नयाँ माध्यम थप हुनेछ ।
आरकेडी रियलस्टेट एण्ड कन्ट्रक्सन लिमिटेड अन्तर्गतको बन्दिपुर केबलकार प्रालिले केबलकार निर्माण गर्न लागेको हो । केबलकार निर्माणका लागि ५६ करोड रुपैयाँ लाग्ने आरकेडीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । केबलकारमा आरकेडीको ८० प्रतिशत र २० प्रतिशत तारानाथ उपाध्यायको लगानी रहनेछ । ‘बन्दिपुरको पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्य अनुसार केबलकार निर्माण गर्न लागिएको हो,’ उनले भने ।
१ वर्ष ३ महिना भित्र केबलकार निर्माण सक्ने कम्पनीको लक्ष्य छ । केबलकारको क्षमता प्रति घन्टा ३ सय जनाको रहनेछ । ‘जान आउन ४ सयदेखि ५ सय रुपैयाँसम्म शुल्क लाग्नेछ,’ उनले भने, ‘बन्दिपुर क्षेत्रको पर्यटन प्रवद्र्धनमा परियोजनाले महत्वपूर्ण योगदान पु¥याउनेछ ।’ सिआरएस कम्पनीले केबलकार निर्माण गर्नेछ । केबलकारको लम्बाई १ हजार ६ सय मिटरको छ । पहिलो चरणको काम सकेपछि बन्दिपर बजारभन्दा माथिको थानीमाइ मन्दिरसम्म केबलकार बिस्तार गरिने लक्ष्य रहेको शर्माले बताए । ‘थानीमाइसम्म केबलकार पु¥याउँदा थप एक किलोमिटर लम्बाई बढ्नेछ,’ उनले भने ।
तल्लो स्टेसनमा फनपार्क तथा स्विमिङ पुलसमेत बनाउने कम्पनीको तयारी छ । तल्लो स्टेसनबाट सिद्ध गुफासम्म मनोकेबलको सुविधा पनि उपलब्ध गराइने उनले बताए । स्विमिङ पुल र मनोकेबलका लागि थप २० करोड रुपैयाँ लगानी गरिने शर्माले जानकारी दिए । केबलकार चालु भएको ६ वर्ष भित्रमा लगानी फिता गर्ने कम्पनीको विश्वास छ । स्थानीय जनताका लागि विशेष प्याकेजमा जान आउने सुविधा उपलब्ध गराइने शर्माले बताए । ‘स्थानीयलाई सेयर पनि उपलब्ध गराइनेछ,’ उनले भने ।
आरकेडी कम्पनी अन्तर्गतकै पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले ६ अर्र्ब लागतमा अर्को केबलबार समेत निर्माणको तयारी गरेको छ । पोखराको खपौदीदेखि पञ्चासेसम्म स्काइवे र केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययनको ४० प्रतिशत काम सम्पन्न भएको शर्माले जानकारी दिए । १४ किलोमिटर लामो उक्त केबलकारलाई गौरवको आयोजनाका रुपमा लिइएको छ ।
Comments are closed.