पहिलो महिना क्लबहरुको कार्य प्रगति उत्साहजनक छ

अर्जुन थापा
क्लस्टर प्रमुख
क्लस्टर नं. १६, लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

पदस्थापन कार्यक्रमको तयारी कस्तो छ ?
तयारी पूर्ण रुपमा पूरा भएर हामी पाहुनाहरुको स्वागतका लागि आतुर छौं । हाम्रो क्लस्टरका सम्पूर्ण क्लबहरु कार्यक्रमका लागि तयार भएर बसेका छन् । पाहुनाहरु पनि पोखरा आइसक्नु भएको छ । स्टेजदेखि खानपिनसम्मको व्यवस्था भइसकेको छ । हाम्रो कार्यक्रम एसआर केसी क्याटरिङ माटेपानीमा हुँदैछ । अपराह्न ४ बजेदेखि कार्यक्रम शुरु हुन्छ । पाहुनाहरुलाई हामी पुष्प गुच्छा र चकलेट दिएर स्वागत गर्दैछौं । यसरी स्वागत गर्दा प्रयोग गरिने फूल हाम्रो स्वदेशी उत्पादन हुनेछ । विदेशी खादा र माला हामी प्रयोग गर्दैनौं ।

पदस्थापन समारोहमा केके कार्यक्रम हुँदैछन् ?
पदस्थापन समारोहमा क्लबका प्रेसिडेन्ट तथा सदस्यहरु पदस्थापित हुनेछन् । कार्यक्रममा निबर्तमान अध्यक्षले आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्नुहुन्छ । त्यस्तै पदस्थापित अध्यक्षले आफ्नो कार्यकालको वार्षिक कार्य योजना प्रस्तुत गर्नुहुनेछ । कार्यक्रममा हामीले लायन्सका वर्तमान नेतृत्वलाई सम्मान गर्नेछौं भने दृष्टिविहिन् सृष्टि केसीलाई पनि सम्मान गर्दैछौं ।

jutta mela

क्लस्टर अन्तर्गतका क्लबहरुको एक महिने प्रगति कस्तो छ ?
कार्यकालको पहिलो महिना क्लबहरुको कार्य प्रगति उत्साहजनक छ । नयाँ ऊर्जा, नयाँ जोश लिएर काम गरिरहेका छन् । सबै क्लबले वार्षिक कार्य योजना बनाएका छन् । उक्त कार्य योजना सफल बनाउन क्लबहरुले काम शुरु गरिसकेका छन् । यद्वपि पदस्थापन पछि थप रफ्तारमा काम गर्ने योजनामा क्लबहरु छन् ।

केही क्लबहरुमा असन्तुष्टी पनि देखिएको छ । यो हामीले भन्दापनि माथिल्लो लेभल अर्थात नेतृत्वले नै पहलकदमी लिनुपर्ने विषय हो । अहिलेको असन्तुष्टीलाई बेलैमा समाधान गर्न नसके असहज परिस्थितिसमेत उत्पन्न हुनसक्ने देखिन्छ । त्यसैले नेतृत्वले यसलाई गम्भीरतापूर्वक लिएर समाधानमा पहलकदमी लिनुपर्छ ।

डिष्ट्रिक्टले लिएको लक्ष्य पूरा गर्न क्लबलाई तपाईंको आग्रह के छ ?

विश्वकै उत्कृष्ट डिष्ट्रिक्ट बन्ने लक्ष्यमा छ हाम्रो डिष्ट्रिक्ट । पहिलो महिनामै विश्वकै सर्वोत्कृष्ट डिष्ट्रिक्ट भइसकेको पनि छ । क्लब गठन, सदस्य बिस्तार गर्नेमा डिष्ट्रिक्ट आक्रामक ढंगले लागेको छ । त्यतिमात्र होइन डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले ल्याउनु भएको महिला सशक्तीकरणका लागि जागौं भन्ने अभियान पनि ल्याउनु भएको छ । त्यसैले यी सबै योजना पूरा गर्न सबै क्लब लाग्न जरुरी छ । केही असन्तुष्टीहरु भएपनि त्यागेर डिष्ट्रिक्टको लक्ष्य पूरा गर्न लाग्न म सबै क्लब तथा लायन्स साथीहरुलाई आग्रह गर्दछु । लायन्स सामाजिक कार्य गर्ने संस्था हो । आत्म सन्तुष्टीका लागि हामीले काम गर्ने हो नकि अरु कसैका लागि । अनि हामी लायन्स साथीहरु अन्य संस्थाहरु भन्दा फरक र उदाहरणीय हुनुपनि छ । त्यसैले सानातिना मनमुटावहरुलाई त्यागेर अघि बढ्नका लागि म आह्वान गर्छु ।

सामाजिक कार्यसँगै विकृति अन्त्यका लागि लड्ने बेला आयो कि भन्ने लाग्दैन ?
हो, लायन्समा राम्रा मात्रै छैनन् । नराम्रा कुराहरु पनि भित्रिएका छन् । लायन्स भनेको विशुद्ध सामाजिक कार्य गर्ने संस्था हो । सामाजिक सचेतनासँगै आफू भन्दा कमजोरलाई सहयोग गर्ने, उनीहरुको सशक्तीकरण गरेर अगाडि बढ्नका लागि सघाउने संस्था हो लायन्स । तर पछिल्लो क्रममा अनावश्यक होहल्ला गर्ने, आफैले आफैलाई सम्मान गर्ने, आफ्नै कार्यक्रममा आफै प्रमुख अतिथि हुनेलगायतका विकृतिहरु पनि भित्रिएका छन् । अब त्यसको अन्त्य गर्ने बेला आएको छ ।

त्यहि भएर हामीले अहिले खादा माला प्रयोगमा नियन्त्रण गरेका छौं । आफ्नो कार्यक्रममा आफै प्रमुख अतिथि बन्ने प्रचलन बन्द गर्दैछौं । त्यसका लागि क्लब बाहिरकालाई प्रमुख अतिथि, समाजमा महत्वपूर्ण योगदान दिएकालाई सम्मान, समाजका प्रभावशाली व्यक्तिलाई मोटिभेटर बनाएर कार्यक्रम गर्न शुरु गरेका छौं । लायन्सको कार्यक्रममा आफैले आफैलाई टोकन अफ लभ लिने दिने कार्यको बन्द गर्नेलगायतका सुधारका कार्यहरु शुरु गरिसकेका छौं ।

क्लबहरुलाई सामाजिक कार्यका लागि कसरी काम गर्न सुझाव दिनुहुन्छ ?
हामी सामाजिक काम गर्ने भनेरै आएका हौं । सामाजिक काम गर्दा पनि अन्य भन्दा पृथक भएर गर्ने, उदाहरणीय कार्य गर्नका लागि म आग्रह गर्दछु । सामाजिक काम त धेरैले गर्छन् तर हामीले अन्यले भन्दा पृथक र उदाहरणीय तरिकाले गर्न सक्नुपर्छ । सानातिना भन्दापनि समाजमा देखिने गरी ठूला कार्यमा क्लबहरुले काम गर्नुपर्छ । त्यसका लागि अन्य सामाजिक संघसंस्थासँग सहकार्य गर्न सकिन्छ । अब एउटा एउटा क्लबले छुट्टाछुट्टै भन्दा पनि सामुहिक रुपमा क्लबहरु मिलेर ठूलो काम गर्नतर्फ क्लबहरु लाग्नुपर्छ ।

You might also like

Comments are closed.