पाँच करोड खर्चेर भ्रमण वर्षको उद्घाटन, २४ हजारलाई निम्ता

काठमाडौं : भिजिट नेपाल २०२० उद्घाटन भव्य हुने भएको छ । जनवरी १ का दिन सरकारले ५ करोड बढी खर्चेर भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्न लागेको हो ।

अधिकतम २० लाख पर्यटक भित्र्याउने गरी तयारी थालेको सरकारले भ्रमण वर्ष उद्घाटन समारोहका लागि मात्र कुल ५ करोड ३ लाख ८५ हजार रुपैयाँ छुट्याएको छ ।

यसअघि कार्यक्रमका लागि भ्रमण वर्ष २०२० मुल आयोजक समितिले २ करोड रुपैयाँ छुट्याएकोमा सो बजेटले नपुग्ने भएपछि थप बजेटको व्यवस्था गर्दै ५ करोड ३ लाख ८५ हजार रुपैयाँ पु-याइएको हो ।

jutta mela

गत भदौ १० गते बसेको समितिको पाँचौ बैठकले भ्रमण वर्षको औपचारिक सुभारम्भका लागि भन्दै २ करोड छुट्याएको थियो । तर उद्घाटन समारोहमा थप कार्यक्रम समावेश हुने भएपछि खर्च बढ्न गएको समितिले बताएको छ ।

कार्यक्रममा विविध सांस्कृतिक झाँकी प्रदर्शनसहित नेपाली कला, संस्कृति, भेषभूषा बाजागाजा, नित्यसँगै वृहद् साङ्ले मार्चपास गरिने छ । साथै उत्त्साहपूर्ण कार्यक्रमका लागि ड्रोन मार्फत आकाशमा राष्ट्रिय झण्डा सहित भ्रमण वर्षको लोगो प्रर्दशन गरिने छ । यस्तै नेपाली सेनाको हेलिकटर मार्फत पनि राष्ट्रिय झण्डा र भ्रमण वर्षको ब्यान सहित पुष्पबृष्टि गर्ने कार्यक्रम तय भएको छ ।

स्टेज व्यवस्थापनका लागि २ करोड बजेट

भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रमको स्टेज व्यवस्थापनमा मात्र २ करोड माथि खर्च हुने भएको छ । भ्रमण वर्ष २०२० को सचिवलयले तयार गरेको बजेट तालिका अनुसार कार्यक्रमको उद्घाटन समारोहको स्टेज तथा प्राविधिक व्यवस्थापनका लागि २ करोड माथि खर्च हुने भएको हो । कार्यक्रमको स्टेज(मञ्च), प्रस्तुति स्क्रिन, साउण्ड सिस्टम लगायत विविध प्राविधिक क्षेत्र यस भित्र पर्नेछन् ।

समितिले मुल स्टेजका लागि १५ लाख ८२ हजार, भीआईपी बस्ने स्थानका लागि १९ लाख ६९ हजार ५ सय ९०, प्रेस तथा व्याकस्टेज व्यवस्थापनका लागि ११ लाख ७ हजार, डकुमेन्टेसन, सुरक्षा तथा प्राधिक व्यवस्थापनका लागि १५ देखि २० लाख छुट्याएको छ ।

त्यस्तै, कार्यक्रम प्रस्तुत गरिने डिजिटल स्क्रिनका लागि ५० लाख, लाइट व्यस्थापनका लागि ४० लाख र साउण्ड सिस्टमका लागि २० लाख खर्च गर्ने गरी रकम छुट्याएको छ । यी बाहेक अतिरिक्त उर्जा÷जेनेरेटर लगायतको शीर्षकमा समेत समितिले बजेट छुट्याएको छ ।

निजी, सरकारी(आयोजक), गरी दुई भागमा खर्चको शीर्षक छुट्याएको सचिवालयले निजी क्षेत्रको क्रियाकलापबाट कुल तीन करोड ६० लाख ८० हजार ६ सय ५० रुपैयाँ २८ पैसाको खर्च निकालेको छ  । त्यस्तै, आयोजकको तर्फबाट हुने गतिविधिका लागि एक करोड ४५ लाख छुट्याइएको छ । यो भ्याट सहितको रकम हो ।
जनवरी १ का दिन त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा वर्ष २०२० को भव्य उद्घाटन हुनेछ ।

२४ हजारलाई निम्तो
नेपाल भ्रमण २०२० समुद्घाटन कार्यक्रमका लागि मात्र २४ हजारलाई निम्तो पठाइएको छ । कार्यक्रममा सहभागिताका लागि स्वदेशी तथा विदेशी पाहुनासहित विशिष्ट व्यक्तित्वहरुका लागि करिब २४ हजारलाई निमन्त्रणा कार्ड पठाइएको सचिवालय सचिव बच्चुराम श्रेष्ठले जानकारी दिएका छन् ।

स्वदेशी सरकारी तथा गैरसरकारनी संघसंस्था, मन्त्रालय, विभाग लगायत विदेशी राजदूत, मन्त्री तथा विशिष्ट पाहुनाहरुलाई निमन्त्रण पठाइएको उनको भनाइ छ ।

‘हामीले निम्ता पठाउनुपर्ने सबै स्वदेशी तथा विदेशी क्षेत्र निकाय तथा व्यक्तित्वहरुलाई निमन्त्रणा पठाइसकेका छौँ । करिब २४ हजार निमन्त्रणा कार्ड वितरण भएको छ,’ श्रेष्ठले भने, ‘सबै आए दशरथ रंगशालाले धान्ने अवस्था रहँदैन । निम्ता गरेका मध्ये आधाआधिको उपस्थिति हुन्छ भन्ने हाम्रो अनुमान हो । तर अधिक उपस्थिति भए बाहिरको चोक र आर्मीको मैदानबाट पनि हेर्न मिल्ने गरी स्टेज स्क्रिनको व्यवस्था गर्ने गरी व्यवस्था मिलाएका छौं ।’

यता सचिवालय प्रमुख सुरज वैद्यले उद्घाटन समारोहमा दशरथ रंगशालाले धान्न नसक्ने अवस्था आउन सक्ने बताए । स्वदेशी तथा विदेशी पाहुनाको उल्लेखनीय उपस्थितिले दशरथ रंगशालाको क्षमताले नभ्याउने उनको विश्लेषण छ ।

‘भ्रमण वर्ष २०२० प्रति सबैमा उत्साह छ । यो उत्साह नेपालीहरुमा मात्र होइन विदेशीहरुमा समेत उत्तिकै देखिन्छ । जसले गर्दा भ्रमण वर्ष २०२० उद्घाटन कार्यक्रममा उल्लेखनीय मात्रामा पाहुनाको उपस्थिति हुने देख्छु ।’ वैद्यले भने, ‘आगन्तुकको चापलाई कसरी व्यस्थापन गर्न सकिन्छ भनेर हामी तयारी गरिरहेका छौँ ।’

कार्यक्रममा करिब ४० देशका विदेशी पाहुना तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने भएको छ । त्यसका लागि सरकारले निमन्त्रणा पठाइसकेको छ । यता स्वदेशी सरकारी तथा गैरसरकारी निकायहरुका एक सय हाराहारीका संघ–संस्थाहरुले कार्यक्रममा मार्च पास गर्ने छन् ।

कार्यक्रमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले राष्ट्रिय धुनसहित मार्च पास र भिजिट नेपाल २०२० को कलात्मक डेमो प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ ।

You might also like

Comments are closed.