पुलिसलाई हराउँदै मनाङले चुम्यो आहा ! रारा गोल्डकपको उपाधि

सन्देश श्रेष्ठ
पोखरा । नेपाल पुलिस क्लवलाई टाइब्रेकरमा स्तब्ध पार्दै मनाङ मस्र्याङ्दी क्लवले आहा ! रारा गोल्डकपको उपाधि जितेको छ । मनाङले पुलिसलाई ४–३ गोल अन्तरले पराजित गर्दै छैटौं पटक उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको समयमा दुबैतर्फ गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा गोलकिपर अशोक बरालले २ वटा पेनाल्टी सुट रोकेपछि मनाङको भाग्य खुलेको हो । बरालले पुलिसका अजित भण्डारी र तेज तामाङको प्रहार रोक्दै मनाङलाई छैटौंपटक च्याम्पीयन बनाए । पुलिसका भोला सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले भने गोल गरे ।

बिजयी मनाङका अञ्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रञ्जन विष्टले गोल गरे । मनाङका निशान लिम्वु भने टाइब्रेकरमा गोल गर्न चुके । उनले दाया साइड च्यापेर प्रहार गरेको पेनाल्टी सुट बिपक्षी गोलकिपर रोसन खड्काले डाइभ हानेर रोके ।

jutta mela

बिजेता मनाङले नगद १० लाख १ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता पुलिसले भने नगद ५ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

प्रतियोगितामा उपबिजेता बनेको नेपाल पुलिस क्लवका अजित भण्डारी सर्बोत्कृष्ट खेलाडी बने । उनले अप्रिला स्कुटर प्राप्त गरे । अन्य सबै उत्कृष्टमा भने बिजेता टिम मनाङमस्र्याङ्दी क्लवका खेलाडीहरु बने । मनाङका नितिन थापा उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपरमा अशोक बराल, उत्कृष्ट स्ट्राइकरमा अञ्जन विष्ट, उत्कृष्ट डिफेन्डर सुरज विके र उत्कृष्ट प्रशिक्षकमा फुजा टोपे बनेका हुन् । उनीहरुले नगद २५÷२५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सर्बाधिक गोलकर्ता ५ जना बने । नेपाल पुलिस क्लवका भरत शाह, निरकुमार राई, मनाङ मस्र्याङ्दी क्लवका अञ्जन विष्ट, थ्रीस्टारका सुसन श्रेष्ठ र त्रिदेव गुरुङले समान २÷२ गोल गर्दै सर्बाधिक गोलकर्ता बनेका हुन् । सर्बाधिक गोलकर्तालाई नगद २५ हजार भएकाले उनीहरुलाई दामासाहीले ५÷५ हजार प्रदान गरियो ।

बिजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवाल, प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसी, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, सहारा क्लव पोखराका अध्यक्ष केशबबहादुर थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

सहारा क्लव पोखराको आयोजनामा गत फागुन २२ गतेदेखि शुरु भएको प्रतियोगिता १० दिनसम्म चलेको थियो ।

You might also like

Comments are closed.