‘पैसा बाँडेर विकास हुन्छ भन्नु गलत’

पोखरा । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदले पैसा बाँढ्नु गलत भएको बताएका छन् । पोखरामा शुक्रबारदेखि शुरु भएको अन्तर प्रदेश सभा अनुभव आदानप्रदान तथा अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन बनाउन गएका सांसदले संसद विकास कोषको नाममा पैसा बाँड्नु गलत भएको बताएका हुन् । ‘सांसदले पैसामात्रै बाँढ्ने भन्ने सोंचिएको छ । यो संघीयता र संसदीय मान्यता बिपरित छ,’ उनले भने ।

प्रतिनिधि सभाका सांसदले मागेपछि प्रदेश सभा सदस्यले पनि संसद विकास कोषको नाममा रकम मागेकोप्रति अध्यक्ष तिमिल्सिनाले असन्तुष्टी जनाए । उनले भने, ‘प्रतिनिधि सभा सांसदलाई दिनु नै गलत थियो, त्यहि देखेर प्रदेश सांसदले पनि पैसा मागे, हुँदाहुँदा अहिले महानगरपालिकाका वडाध्यक्षहरुलेपनि आफूखुशी पैसा बाँढ्न पाउनुपर्छ भन्न थालेका छन्, यो गलत हो ।’

अध्यक्ष तिमिल्सिनाले विकास विधीले आउँछ भन्ने प्रणाली बसाल्नुपर्नेमा जोड दिए । ‘आज कोही मन्त्री, सभामुख, प्रधानमन्त्री वा कुनै ठूलो पोष्टमा पुग्ने वित्तिकै दीपावली गर्न थालिएको छ,’ उनले भने, ‘त्यो दीपावली खुशी भएर होइन, विकास आउँछ भनेर गर्न थालिएको छ, तर विकास कुनै ठाउँ विशेषको व्यक्ति प्रधानमन्त्री वा सभामुख हुँदा मात्रै आउँछ भन्ने सोंचाई नै गलत छ ।’ उनले पैसा बाँढेर मात्र विकास हुन्छ, जनता आफ्नो हुन्छ भन्ने मान्यता नै गलत भएकोसमेत बताए । मन्त्री र प्रधानमन्त्री नभएपनि प्रणालीका आधारमा विकास आउँछ भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको उनले बताए ।

अध्यक्ष तिमिल्सिनाले कानुन र नियमावली बनाउँदा कसै न कसैलाई समस्या पर्ने भन्दै उनले आफूलाई समस्या प¥यो भन्दैमा जनताको हित हुने कुरामासमेत विरोध भइरहेको बताए । ‘कसै न कसैलाई घात नगरी सामुहिक फाइदाका लागि परिवर्तन हुँदैन,’ उनले भने । यातायात होस् वा निर्माण व्यवसायीको मुद्धामा स्वार्थी समूहले घेराबन्दी गर्दा सोंचेजस्तो गर्न नसकिएको बताए ।

अध्यक्ष तिमिल्सिनाले संघ, प्रदेश र स्थानिय तह मिलेर जानुको विकल्प नभएको बताए । कहिंकतै समस्या भए सहमति र सहकार्यका आधारमा समाधान खोजिनुपर्ने भन्दै पहिले देखिएका समस्याहरु अहिले अभ्यासका क्रममा मिल्दै गएको अनुभवसमेत उनले उल्लेख गरे ।

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले तनि तहको सरकारको अनुभूति अहिलेपनि जनताले गर्न नपाएको बताए । लक्षित वर्गलाई कानुन, विधी, नियमावली बनाएमात्र जनताले संघीयताको अनुभूत गर्ने उनको भनाई थियो । शेरचनले प्रदेश र स्थानिय सरकारलाई बलियो नबनाएसम्म जनताले संघीयताको अनुभू ितगर्न नसक्नेपनि ठोकुवा गरे ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य नगरे ‘समृद्ध नेपाल सुखी नेपाली’को संकल्प पूरा नहुने चेतावनी दिए । उनले तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्वका आधारमा अगाडि बढ्नुपर्ने आवश्यक्ता औंल्याए । मुख्यमन्त्री गुरुङले संघले प्रदेश सरकारको अस्तित्व स्वीकार्न अझैपनि आनाकानी गरिरहेको आरोप लगाए । प्रदेशसँग सम्बन्धित कानुन बनाउँदा प्रदेशलाई एक बचनपनि नसोध्नु त्यसको उदाहरण भएको उनको तर्क थियो । प्रदेश के चाहन्छ ? के आवश्यक छ ? भनेर नसोधिएकोप्रति उनले असन्तुष्टी जनाए । उनले संघले जग्गाको स्वीकृति नदिदा २३ वटा प्रोजेक्ट रोकिएको भन्दै यसैका कारण बजेट खर्चसमेत प्रभावित भएको बताए । संघ र प्रदेश बिच त्यस्तो कुन भूत छ र त्यसका कारण छलफल र सहकार्य हुन सकेन ? भनेर मुख्यमन्त्री गुरुङले प्रश्नसमेत गरे ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जबसम्म समानता हुँदैन तबसम्म संघीयता आवश्यक रहने बताए । उनले आर्थिक, सामाजिक र राजनीतिक समानताका लागि संघीयता आवश्यक रहेको उनको भनाई थियो । गण्डकी प्रदेशकै उपसभामुख सिर्जना शर्माले पूर्वाधार र अनुभव नहुँदापनि प्रदेशले राम्रै काम गरिरहेको बताइन् । आइतबारसम्म चल्ने कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखहरुको सहभागिता रहेको छ ।

You might also like

Comments are closed.