पोखरामा जुनियर रेफ्री कोर्ष शुरु

पोखरा । पोखरामा फुटवल रेफ्री कोर्ष तालिम शुरु भएको छ । अखिल नेपाल फुटवल महासंघ (एन्फा)को प्राविधिक सहयोग तथा कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा पोखरामा ७ दिने रेफ्री कोर्ष तालिम शुरु भएको हो । तालिमको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एकराज गिरीले रेफ्री इन्सटक्टर सुरेन्द्र शिखाकारलाई ‘लज अफ दी गेम’ पुस्तक हस्तान्तरण गरेर उद्घाटन गरे ।

पोखरामा झण्डै १५ वर्षपछि हुन लागेको यो तालिम जुनियर रेफ्री कोर्ष हो । यसमा गण्डकी प्रदेशका ८ वटा जिल्लाका प्रशिक्षार्थीहरु सहभागि छन् । प्रत्येक जिल्लाबाट ३ देखि ४ जना गरी २५ भन्दा बढी प्रशिक्षार्थी सहभागि रहेको एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । मनाङ, मुस्ताङ र पर्वतबाट भने जानकारी गराउँदा गराउँदै पनि सहभागि हुन नआएको उनले बताए ।

७ दिने रेफ्री कोर्षमा सैद्धान्तिक र अभ्यास दुबै सिकाइने रेफ्री ईन्सटक्टर सुरेन्द्र शिखाकारले बताए । रेफ्री कोर्षमा फिटनेस, अनुशासन र लगनशिलता आवश्यक पर्ने उनले बताए । रेफ्री कोर्ष गर्छु भनेर मात्रै हुँदैन,‘उनले भने,‘त्यसका लागि फिटनेस मेन्टेन गर्नुपर्छ, अनि अनुशासन र लगनशिलता आवश्यक छ ।’ जुनियर रेफ्री कोर्षले फिफा रेफ्री बन्ने बाटो खोल्ने उनले स्पष्ट पारे । जुनियर रेफ्री कोर्ष नै फिफा रेफ्रीको प्रस्थान विन्दु हो,‘उनले भने,‘यो कोर्ष उत्तिर्ण गरेपछि सिनियर रेफ्री कोर्षहुँदै फिफा रेफ्री कोर्ष गर्न सकिन्छ ।’

jutta mela

रेफ्री कोर्षको फिफा रेफ्री सुदेश पाण्डे, सुरेन्द्र शिखाकार, किरण गिरीलगायतले प्रशिक्षण दिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश अध्यक्ष एकराज गिरीले रेफ्री बन्न सजिलो नहुने भन्दै यसका लागि ठूलो तपस्या आवश्यक रहेको बताए । लव खत्री, सुदेश पाण्डेजस्तै तपाईंहरुपनि बन्नुहोस्,‘उनले भने,‘तर त्यहाँसम्म पुग्न त्यत्ति सजिलो भने छैन, त्यसका लागि तपाईंहरुले कडा मेहनत गर्नुपर्छ, अनुशासित र निश्पक्ष बन्नुपर्छ ।’

गण्डकी प्रदेश फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेले लामो समयपछि रेफ्री कोर्ष हुन लागेको भन्दै अब यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले १५ वर्षपछि आफ्नो कार्यसमितिले रेफ्री कोर्ष गर्न सफल भएको र आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । साथै उनले चाँडै नै मनकामना केबलकार पोखरा कप आयोजना गर्नेपनि घोषणा गरे ।

You might also like

Comments are closed.