पोखरामा नेपालमै पहिलो बहुउद्देश्यीय शीत भण्डार

सन्देश श्रेष्ठ
पोखरा । पोखरामा नेपालमै पहिलो बहुउद्देश्यीय शीत भण्डार स्थापना भएको छ । पोखरेली ३ किसानले नेपालमै पहिलो बहुउद्देश्यीय शीत भण्डार पोखराको चाउथेमा सञ्चालनमा ल्याएका हुन् । यो शीत भण्डार अत्याधुनिक र रसायनविहिन् रहेको दाबी गरिएको छ ।

शीत भण्डारमा लेखनाथ पौडेल, अमरबहादुर बानिया र राजेशकुमार कार्कीको लगानी रहेको छ । लगानीकर्ता तीनैजना किसान व्यवसायी हुन् । अमरबहादुर काठमाडौंमा फलफुल ब्यापार गर्छन् भने लेखनाथ र राजेशकुमारले साझेदारीमा तरकारी व्यवसाय गर्दै आएका छन् ।

६ करोड ५० लाखको लागतमा खुलेको ‘पोखरा कृषि शीत भण्डार’ ३ सय मेट्रिक टन क्षमताको छ । यस शीत भण्डारमा पोखरा शीत भण्डार प्रालिको ४ करोड र प्रदेश सरकारको साढे २ करोड लगानी छ । प्रदेश सरकारले शीत भण्डार निर्माणका लागि अनुदान रकम दिएको हो ।

jutta mela

शतप्रतिशत रसायनविहिन् रुपमा प्रयोगमा आउने शीत भण्डार फलफुल र तरकारी र बिउबिजन भण्डारण गर्ने शीत भण्डार हो । लामो समयसम्म फलफुल र तरकारी ताजा राख्न तथा नपाकेका फलफुल वैज्ञानिक तरिकाले रसायन विहिन् रुपमा पकाउनका लागि शीत भण्डारमा राख्न सकिने पोखरा शीत भण्डार प्रालिले जनाएको छ ।

यो ३ सय मेट्रिक टन क्षमताको शीत भण्डार भएको सञ्चालक लेखनाथ पौडेलले जानकारी दिए । उनका अनुसार यसमा स्याउ, सुन्तला, आँप, केरा, अम्बा, अनार, लिची, अंगुर, नासपातीलगायतलाई पकाउनका लागि राख्न सकिन्छ भने लामो समयसम्म ताजा राख्नका लागिपनि यसको प्रयोग गर्न सकिन्छ । त्यस्तै तरकारीपनि ताजा राख्नका लागि भण्डारमा राख्न सकिने उनले बताए ।

शीत भण्डारमा राखेर पकाइएको फलफुल स्वास्थ्यका लागि फाइदाजनक हुने दाबी गरिएको छ । त्यस्तै त्यसरी पकाइएको फलफुल प्राकृतिक रुपमा पाकेजस्तो पहेंलो देखिनुका साथै स्वादपनि बोटमै पाकेजस्तो हुने भण्डारीले दाबी गरे ।

यो शीत भण्डारमा राखेर पकाइएका फलफुल पूर्ण रुपमा रसायनविहिन् हुने भएकाले स्वास्थ्यका लागि राम्रो हुने शीत भण्डार निर्माण कम्पनी भारतीय एन.एस.ईञ्जिनियरिङका सञ्जीव चौहानले बताए । उनले जथाभावी रुपमा रसायन हालेर पकाएका फलफुलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै त्यसको विकल्पका रुपमा शीत भण्डार उपयुक्त भएको बताए ।

प्रदेश सरकारको अनुदानमा बनेको शीत भण्डारमा स्थानिय स्तरमा उत्पादित सामग्री मात्र राख्न प्रदेश सरकारले निर्देशन दिएको छ । भारत वा चिनबाट आयातित फलफुल तथा तरकारी भण्डारण नगर्न प्रदेश सरकारले भनेको छ ।

पोखरामा हालसम्म फलफुल तथा तरकारीको शीत भण्डार थिएन । पोखरामा आलुको शीत भण्डार भने यसअघी नै सञ्चालनमा छ । शीत भण्डार नहुँदा पोखरेलीले ईथोलिनलगायतका रसायनबाट पकाइएका फलफुलहरु प्रयोग गर्नुपर्ने बाध्यता थियो । शीत भण्डार निर्माणसँगै पोखरेलीले रसायनविहिन् फलफुल तथा तरकारी प्रयोग गर्न पाउने अपेक्षा गरिएको छ ।

शीत भण्डारसँगै गरीबी निवारण अभियान शुरु : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उत्पादन बढाउन र उत्पादित बस्तुको संरक्षणका लागि शीत भण्डार गरेर गरिबी निवारण गर्ने अभियान शुरु गरिएको बताएका छन् । पोखराको चाउथेमा निर्माण गरिएको ‘पोखरा शीत भण्डार’को उद्घाटन गर्दै उनले अब निर्वाहमुखी कृषिलाई व्यवसायीकरण र यान्त्रीकीकरण गरेर आधुनिकीकरण गर्नुपर्ने बताए ।

मुख्यमन्त्री गुरुङले बाँझो जमिनलाई हराभरा बनाउने चुनौति रहेको बताउँदै यसका लागि प्रदेश सरकारले करार खेती ऐन ल्याउन लागेको जानकारी दिए । साथै खण्डिकरण रोकेर चक्लाबन्दी गर्ने अभियानपनि प्रदेश सरकारले शुरु गरेको उनले बताए ।

मुख्यमन्त्री गुरुङले शीत भण्डार बिहे भोज अगाडि सुपारी बाँढेजस्तो मात्रै भएको बताएका छन् । उनले भने, ‘शीत भण्डार विकासको शुरुवात मात्र हो, जसरी विवाह भोज खानुअघी सुपारी बाँढिन्छ त्यसरी नै शीत भण्डारपनि सुपारी बाँढेजस्तो मात्र हो, भोज खानेगरी विकास गर्न त अझै धेरै गर्नु छ ।’ उनले शीत भण्डार निर्माण गरेर प्रदेशले ‘हुने बिरुवाको चिल्लो पात’ भने जस्तै पाइलट प्रोजेक्टको शुरुवात गरेको बताए । प्रदेश सरकारले के ग¥यो भन्नेलाई शीत भण्डारले जवाफ दिएको भन्दै उनले थपे, ‘अब स्थानिय जनताले शीत भण्डारमा प्रदेश सरकारको महशुष गर्नेछन् ।’

भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले किसानको उत्पादन शीत भण्डारमा आउने र यहाँबाट बजारमा जाने भएकाले किसानको उत्पादन खेर नजाने बताए ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले जनता उत्पादनतर्फ लाग्न थालेकाले उत्पादनका समस्या हल हुने क्रममा रहेपनि भण्डारको समस्या देखिने खतरा रहेका बेला शीत भण्डार निर्माण हुनु सुखद पक्ष रहेको बताए । खेर नजाने भएपछि अब किसानलाई उत्पादनमा लाग्न शीत भण्डारले प्रेरित गर्ने बताए ।

You might also like

Comments are closed.