पोखरामा हावामा कावा खाँदै चराझैं उड्न सकिने हट एयर बेलुनको सेवा शुरु

 

सन्देश श्रेष्ठ
पोखरा, २ मंसीर

के तपाईं चरा झैं आकाशमा उडेर पोखरा अवलोकन गर्न चाहनु हुन्छ ? कि आकाशबाटै माछापुच्छ्रे हिमालसहित अन्नपूर्ण हिमश्रृंखला तथा फेवाताल दृश्यावलोकन गर्न चाहनुहुन्छ ? यदी तपाई त्यस्तो चाहना राख्नु हुन्छ भने तपाईंको लागि खुशीको खबर छ । तपाईंको चाहना अनुसार नै पोखरा, माछापुच्छ्रे हिमाल, अन्नपूर्ण हिमश्रृंखला, फेवाताललगायतका मनोरम दृश्यहरुको दृश्यावलोकनका लागि पोखरामा हट एयर बेलुन सञ्चालनमा आएको छ । जसमा चढेर तपाईं हावामा कावा खाँदै माथी उल्लिखित सबै ठाउँहरु नजिकबाट नियाल्न पाउनुहुने भएको छ । यो सञ्चालनसँगै पोखरामा साहसीक मनोरञ्जनको नयाँ आयाम थपिएको छ भने पर्यटकले नयाँ तरिकाले मनोरञ्जनको स्वाद लिन पाउने भएका छन् ।

jutta mela

बेलुन नेपाल प्रालिले हट एयर बेलुन सञ्चालनमा ल्याएको हो । शनिबारदेखी सञ्चालनमा ल्याएको यो बेलुनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बेलुनमा आफै उडेर बेलुनको उद्घाटन गरे ।

हाल २ वटा बेलुनबाट सेवा शुरु गरेको बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रविण महर्जनले जानकारी दिए । उनका अनुसार एउटा बेलुनमा ८ जनासम्मको क्षमता हुन्छ । बेलुन स्पेनको अल्ट्रा म्याजिक कम्पनीबाट खरिद गरेर ल्याइएको उनले बताए । एउटा बेलुनले अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय क्षेत्र धम्पुस र अर्को बेलुनले पोखरा महानगरपालिका वडा नम्बर २३ बाम्दीबाट उडान भर्ने प्रबन्ध निर्देशक महर्जनले बताए । त्यसरी उडान भरेका बेलुन हेमजा र मर्दी खोलाको किनारमा अवतोरण हुने उनले जानकारी दिए ।

बेलुनको उडान सुरक्षित हुने उनले दाबी गरे । उडानलाई सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त बेलुन पाइलट ल्याइएको उनले बताए । बेलुनमा सवार यात्रुको २० हजार डलर बराबरको बिमा गरिने कम्पनीले जनाएको छ ।

बेलुनमा उड्न बिदेशी पर्यटकलाई प्रति व्यक्ति १ सय ६० डलर शुल्क लाग्ने बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रविण महर्जनले जानकारी दिए । नेपाली पर्यटकका लागि भने प्रति व्यक्ति ११ हजार रुपैयाँ लाग्ने उनले बताए ।

हट एयर बेलुन शुभारम्भ पछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले हट एयर बेलुनको उडानले पर्यटनमा बृद्धि ल्याउने विश्वास व्यक्त गरे । उनले भने,‘यो मनोरञ्जनको मज्जा लिने नयाँ साधन हो, यस्तै यस्तै गतिविधिले पर्यटनमा बृद्धी ल्याउँछ ।’ उनले गण्डकी प्रदेशले २०२२ सम्ममा प्रति वर्ष २० लाख पर्यटक भित्राउने घोषणा गरेको स्मरण गर्दै त्यो अभियानलाई हट एयर बेलुनले सघाउने बताए ।

२ वटा हट एयर बेलुनबाट सेवा शुभारम्भ गरेको बेलुन नेपाल प्रालिले निकट भविष्यमै बेलुन थप्ने जनाएको छ । तर त्यसअघी हट एयर बेलुनबाटै स्काइ डाइभ, बञ्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य साहसीक कार्यक्रम ल्याउने बेलुन नेपाल प्रालिका प्रबन्ध निर्देशक प्रविण महर्जनले जानकारी दिए ।

बेलुन नेपाल प्रालिले बेलुन सेवा सञ्चालनको लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ईजाजत लिएको जनाएको छ । उसले हट एयर बेलुन सञ्चालनको लागि डेढ करोड खर्च गरेको र लगानी बढाउँदै लैजाने प्रालिका प्रबन्ध निर्देशक महर्जनले बताए ।

 

You might also like

Comments are closed.