पोखरामा ७० प्रतिशत यौन व्यवसाय घरैमा

सन्देश श्रेष्ठ

पोखरामा पनि घरमै यौन व्यवसाय हुने गरेको खुलाशा भएको छ । सि.एस.डब्लु.एनले गरेको सर्भेक्षणमा पोखरामा ७० प्रतिशत यौन व्यवसाय घरमै हुने गरेको तथ्य उजागर भएको हो । सि.एस.डब्लु.एन.ले २०१८ मा गरेको सर्भेक्षणमा यौनकर्मीको कोठा, यौन अड्डा वा कोठीलगायतमा ७० प्रतिशत यौन कारोबार हुने गरेको देखिएको थ्री एञ्जल्स नेपालका कार्यकारी निर्देशक राजेन्द्र गौतमले मंगलबार सिविन नेपालले पोखरामा आयोजित ‘पर्यटकद्वारा बालबालिका माथि हुने यौन दुब्र्यबहार सम्बन्धी छलफल’ कार्यक्रममा जानकारी गराएका हुन् । घर बाहेक पर्यटन तथा मनोरञ्जन क्षेत्रमा १७ प्रतिशत, सडकमा २ प्रतिशत र अन्यमा १ प्रतिशत यौन कारोबार हुने गरेको उनले जानकारी गराए ।

पोखरामा दुई वर्षको अवधीमा मानव बेचबिखन झण्डै तीन गुणाले बढेको उनले दाबी गरे । गौतमका अनुसार सन् २०१६ मा ९९६ जना मानव बेचबिखन भएकोमा २०१८ मा त्यसको संख्या बढेर ३ हजार पुगेको उनले बताए । त्यसमा २० देखि २३ प्रतिशतसम्म बालबालिका संलग्न रहेको उनको भनाई छ । घरबाहेक होटल, मसाज, पार्लर, सैलुन, नाइट क्लब, बारलगायतमा मानव बेचबिखन बढी मात्रामा हुने उनले बताए । पोखरामा भएका यौनकर्मी मध्ये २३ प्रतिशत स्वेच्छिक रुपमा लागेको पाइएको सर्भेक्षणमा उल्लेख रहेको गौतमले जानकारी गराए । उनका अनुसार ४२ प्रतिशत कलेज अध्ययन गर्ने विद्यार्थी रहेको तथ्यांकले देखाएको छ । ६० प्रतिशत यौन व्यवसायी साथीको प्रभावका कारण यौन पेशामा संलग्न भएको देखिएको उनले बताए । ३० प्रतशित त आफ्नै परिवार वा श्रीमानबाट यौन पेशामा लागेको देखिएको उनले बताए ।

सर्भेक्षणले मानव बेचबिखनमा आफन्त, अपरिचित, श्रीमान, केटा साथी ब्वायफ्रेण्ड, छिमेकी, साथी, जागिर दिने निजी कम्पनी र बालबालिकासमेत प्रयोग भएको देखाएको छ ।

पछिल्लो क्रममा पर्यटकहरुले बालबालिकालाई फकाएर यौन कृयाकलापमा संलग्न गराउने, यौन दुब्र्यबहार, बलात्कार लगायतका कार्यहरु गर्ने बढेको गौतमले बताए । विशेष गरेर उनीहरुले बालबालिकालाई खान दिएर, घुम्न लगेर, कपडाहरु किनिदिएर, पैसा दिएर नजिक हुने र नजिक भएको मौका पारेर त्यसका गलत फाइदा उठाउने गरेको पाइएको उनको भनाई छ ।

गौतमले ६ देखि १० वर्षसम्मका ८ प्रतिशत, ११ देखि १५ वर्षसम्मका ७१ प्रतिशत र १६ देखि १८ वर्षका बालबालिका माथि २१ प्रतिशतले यौन दुब्र्यबहार हुने गरेको जानकारी दिए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी बासु त्रिपाठीले पर्यटन क्षेत्रमा हुने बाल यौन दुब्र्यबहार रोक्न सबै लाग्नुपर्ने बताए । पर्यटनमा असर नपर्नेगरी समस्याको समाधान खोजिनुपर्ने उनको भनाई छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेलले बालमैत्री कानुन भएपनि ब्यबहारमा लागु नभएको बताउँदै बाल यौन दुब्र्यबहार रोक्न अभिभावक आफै सचेत हुनुपर्ने बताए । साथै उनले पर्यटकले देख्नेगरी सार्वजनिक ठाउँमा बाल यौन दुब्यबहार अक्षम्य छ भन्दै त्यस्तो गरेमा नेपालको कानुन अनुसार कस्तो कार्वाही हुन्छ भन्नेबारे लेखेर फ्लेक्स राख्नुपर्ने बताए । पैसाको लोभमा, पिज्जा खाने लोभ वा मिठाईको लोभमा बालबालिका फस्ने गरेको बताउँदै त्यसमा पर्यटन सम्बद्ध व्यवसायीहरुलेपनि ध्यान दिनुपर्ने बताए ।

इन्सेक पोखराका प्रमुख शिव खकुरेलले बाल यौन दुब्र्यबहारसहित मानव बेचबिखन सम्बन्धी कानुन प्रष्ट देखिने गरी राख्नुपर्ने बताए ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धीसागर पुरीले बाल यौन दुब्यबहारदेखि मानव बेचबिखनलगायतबाट बच्न व्यक्ति स्वयम् र अभिभावक सचेत हुनुपर्ने बताए । अशिक्षा र गरिबीका कारण यस्ता घट्ना घट्ने बताउँदै यसको न्यूनिकरणका लागि सबैले हातेमालो गर्ने र केहि शंकास्पद गतिविधी भए प्रहरीलाई खबर गर्ने बानीको विकास गर्नुपर्ने बताए ।

पश्चिमाञ्चल होटल संघका बरिष्ठ उपाध्यक्ष लक्ष्मण सुबेदीले मानव बेचबिखनको शुरुवात ट्याक्सीबाट शुरु भएर होटलसम्म पुग्ने गरेकाले मुहानबाटै शुद्धीकरण अभियान थाल्नुपर्ने बताए । उनले गलत गर्नेलाई हदैसम्मको कार्वाही गर्नुपर्ने बताउँदै न्यूनीकरणका लागि होटल संघले सघाउने प्रतिबद्धता जनाए ।

सिविन नेपालका अध्यक्ष माधव प्रधानले बढ्दो बाल यौन दुब्र्यबहार र मानव बेचबिखनको न्यूनीकरणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । उनले सचेतना जगाउने उद्देश्यले कार्यक्रम गरेको प्रष्ट पारे ।

You might also like

Comments are closed.