पोखरा अन्र्तराष्ट्रिय म्याराथनमा १४ देशका ७ हजार दौडिने

पोखरा । पोखरामा आउँदो शनिबार पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना हुँदैछ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा प्रत्येक वर्ष फागुनको पहिलो शनिबार हुने पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिताको १४ औं संस्करण यस वर्ष फागुन ३ गते शनिबार हुने भएको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले विहीबार पत्रकार भेटघाट आयोजना गरी जानकारी दिएको हो । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय भएको मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्धेश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा यस वर्ष ७ हजार बढी दौडिने आयोजकले दाबी गरेको छ । रन फर फनसहित विभिन्न ९ इभेन्टमा प्रतिष्पर्धा हुने प्रतियोगितामा ७ हजार दौडिने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले बताए । रन फर फनमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, गण्डकी प्रदेशका सातै जना मन्त्रीहरु, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, प्रदेश सांसदहरु कृष्ण थापा, मोहन रेग्मी, पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, धावक पाण्डव महतोलगायत दौडिने उनले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत ४२.१९५ किलोमिटरको म्याराथन तर्फ नेपालसहित १४ देशका खेलाडीले प्रतिष्पर्धा गर्ने अध्यक्ष गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथनमा दौडिन १३ देशका २१ जना खेलाडी पोखरा आइसकेका छन् । म्याराथनमा महिलाले पनि सहभागिताका लागि नाम दर्ता गराएको उनले बताए । म्याराथनमा नेपालसहित जापान, फ्रान्स, अष्ट्रेलिया, ईण्डोनेसिया, ट्यूनिसिया र वेलायत (युके)का खेलाडीले प्रतिष्पर्धा गर्ने उनले बताए । प्रतियोगितामा चीनबाटसमेत दौडिन आउने पूर्व प्रतिबद्धता भएपनि अन्तिम समयमा नआउने जानकारी आएको अध्यक्ष गुरुङले जानकारी दिए । कोरोना भाइरसका कारण यस वर्ष उहाँहरु नआउने हामीलाई जानकारी दिइएको छ,‘उनले भने,‘आगामी वर्षदेखि भने नियमित आउने भन्नु भएको छ ।’

jutta mela

प्रतियोगिता अन्तर्गत म्याराथनबाहेक खुल्ला १० किलोमिटर महिला तथा पुरुष, ५ किलोमिटर छात्र तथा छात्रा, अपाङ्गता भएकाहरुका लागि महिला तथा पुरुष ह्विल चेयर प्रतियोगिता र दृष्टिविहिन् एक सय मिटर महिला तथा पुरुष दौड प्रतियोगिता हुने भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ ।

मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुपनै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउने, खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न र वर्षको एक दिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने आफूहरुको उद्धेश्य रहेको बताए । प्रदेश सरकारले पोखरा म्याराथनलाई गौरवको रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाएकोपनि उनले बताए ।

अध्यक्ष गुरुङले पोखरा म्याराथनलाई आगामी ३ वर्षभित्र एशोसियसन अफ इन्तरनेसनल म्याराथन सोसाइटी (एम्स)मा दर्ता गरिने बताए । एम्समा दर्ता गर्नका लागि चौंडा र खुल्ला बाटो हुनुपर्ने मापदण्ड भएको र पोखराका सडकमा गाडी चल्न नदिई दौडाउने हो भने मापदण्ड पुग्ने भएकाले त्यसका लागि सरकारसहित सरोकारवालासँगको सहकार्यमा उक्त कार्य गरिने बताए । पोखरा म्याराथनको रुटहरु हिमालको काखमा रहेर ऐतिहासिक मठ, मन्दिर, गुम्बा, मस्जिदलगायतको वरीपरी रहेकाले संसारकै लागि यो उत्कृष्ट र नौलो हुने भएकाले यस्तो ठाउँमा दौडिन पाउनु धावकका लागि सौभाग्य भएको उनको भनाई छ । उनले प्रतियोगिहरुलाई घर अगाडि आईपुग्दा पोखराका वडा नम्बर १ देखि १७ सम्मका स्थानियले घडा र कलश राखेर पञ्चे बाजासहित स्वागत गर्ने जानकारी दिए ।

पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले तीन वर्षदेखि मुख्य प्रायोजन गर्दै आइरहेको छ । प्रतियोगिताको प्रमुख संरक्षकमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र संरक्षकमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी रहेको आयोजकले जनाएको छ ।

म्याराथनमा प्रथम हुनेले नगद २ लाख, दोश्रो हुनेले १ लाख, तेश्रो हुनेले ७५ हजार र चौथो हुनेले सान्त्वना रुवस्प नगद १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । अघिल्लो संस्करणसम्म १ लाखको पुरस्कारको राशी बढाएर यस वर्ष दोब्बर बनाइएको हो । त्यस्तै, १० कि.मी. पुरुष–महिला दौडमा प्रथमले १५, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो हुनेले ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । प्रतियोगितामा ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन महिला तथा पुरुष दौडमा प्रथम हुनेले ५, दोश्रो हुनेले ३ र तेश्रो हुनेले २ हजार प्राप्त मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.