‘पोखरा इन्जिनियरिङ कलेज दक्ष जनशक्ति उत्पादन गर्न सफल छ’

चीजकाजी गुरुङ
प्रशासन प्रमुख
पोखरा इन्जिनियरिङ कलेज, फिर्के

सन् १९९९ मा पोखरामा स्थापना भएको पोखरा इन्जिनियरिङ कलेजले ४ वर्षे बिई सिभिल, बिई कम्प्युटर र ५ वर्षे ब्याचलर अफ आर्किटेक्चर कार्यक्रम सञ्चालन गरिरहेको छ । पोखरा विश्वविद्यालयबाट सम्वन्धन लिएर सञ्चालित कलेजमा इन्जिनियरिङ अध्ययन गर्नका लागि पोखराबाट मात्र नभई देशभरबाट आउँछन् । कलेजका विशेषता, विद्यार्थीको आकर्षण तथा इन्जिनियरिङ अध्ययनका विषयमा कलेजका प्रशासन प्रमुख चीजकाजी गुरुङसँग आर्थिक आवाजले गरेको कुराकानी :

पोखरा इन्जिनियरिङ कलेजमा कुन–कुन विषयको पढाई हुन्छ ?
१९९९मा पोखरा इन्जिनियरिङ कलेज स्थापना भएको हो । पोखरा विश्वविद्यालयबाट सम्वन्धन लिएर ४ वर्षे बिई सिभिल, बिई कम्प्युटर र ५ वर्षे ब्याचलर अफ आर्किटेक्चर गरी ब्याचलरमा हामीले ३ वटा कार्यक्रम सञ्चालन गरिरहेका छौं । आइटी विश्वव्यापी रुपमा नै लोकप्रिय छ । त्यससँगै सिभिल र आर्किटेक्चरको माग पनि राम्रो छ । अहिले हाम्रोमा धेरै चाप सिभिल ईन्जिनियर अध्ययन गर्नेको छ । सिटिइभिटीको सम्बन्धनमा ३ वर्षे डिप्लोमामा सिभिल र कम्प्युटर, १८ महिने टिएसएलसी सिभिल विषयको अध्यापन पनि गराइन्छ । बेलुकीको कार्यक्रममा पोखरा विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहमा दुई वर्षे एम.एस्सी. कन्सट्रक्सन म्यानेजमेन्ट विषयको अध्यापन गराइन्छ ।

इन्जिनियरिङ पढेका विद्यार्थीका लागि अवसर कस्तो छ ?
शान्ति स्थापनासँगै राजनीतिक स्थिरता भएमा र संघीयताको ढाँचामा राज्य व्यवस्था गएको वर्तमान परिप्रेक्षमा विकासका काम अगाडि बढ्छन् । ठुला ठुला संरचना निर्माण हुने क्रम बढिरहेको छ । जसको लागि आवश्यक जनशक्ति पुग्ने अवस्था छैन । अहिलेसम्म उत्पादन भएका दक्ष जनशक्ति विदेश पलायन भएका छन् । त्यसैले पनि अबका उत्पादनलाई नेपालमा नै राम्रो अवसर छ । हरेक क्षेत्रमा इन्जिनियरहरुको माग छ, बेरोजगार बस्नुपर्दैन ।

jutta mela

ब्याचलर अफ आर्किटेक्चरका विशेषताहरु केके छन् ?
प्लानिङ तथा डिजाइन आर्किटेक्चरले गर्छन् र त्यसको स्टक्चर सिभिल इन्जिनियरले गर्छन् । आर्किटेक्ट हामीले २०१७ बाट शुरु गरेका हौं । यसको स्कोप पनि धेरै राम्रो छ । स्थानीय तह तथा प्रदेश सरकारले आर्किटेक्टले डिजाईन गर्ने, सिभिलले हेर्ने र स्ट्रक्चरले स्ट्रक्चर हेर्ने खालको नीति नियम बनाउँदैछन् । यस्तो भएमा टाउन प्लानिङ हुन्छन् र विकास निर्माणका काम पनि राम्रोसँग हुन्छन् । अझ पनि कतिपय अवस्थामा सिभिलले नै सबै काम गर्ने गरेका छन् । नियम कडाइका साथ लागु भएको खण्डमा जसरी स्टक्चर ईन्जिनियरको सिग्नेचर नभई स्ट्रक्चर पार्टका काम हुँदैनन् त्यसै गरी आर्किटेक्टको सिग्नेचर नभई नक्सा पास हुँदैन । पोखरामा आर्किटेक्चर अध्यापन गराउने हामी पहिलो कलेज हो । अहिलेसम्म पनि आर्किटेक्चर अन्त संचालन भएको छैन । वि.ई. सिभल, वि.ई. कम्प्युटर, वि.ई. ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन कोर्ष हामीले बिगत लामो समयदेखि सञ्चालन गरिरहेका छौं ।

कलेजमा विद्यार्थीको आकर्षण कस्तो छ ?
पोखरा इन्जिनियरिङ कलेजमा विद्यार्थीको आकर्षण राम्रो छ । सिभिल इन्जिनियरिङको २ सेक्सन छ । आर्किटेक्टको १ र कम्प्युटरको पनि १ सेक्सन छ । दक्ष तथा अनुभवी प्राध्यापकबाट अध्यापन गराउँदै आइरहेका छौं । फुल टाइमर प्राध्यापक हुनुहुन्छ । केही पार्ट टाइमर र आफ्नो कन्सल्टेन्सी चलाएका फ्रिलेन्सर पनि हुनुहुन्छ ।

प्राविधिक शिक्षा भएकाले ल्याब लगायत पूर्वाधारको अवस्था कस्तो छ ?
इन्जिनियरिङ काउन्सिल, शिक्षा मन्त्रालय र पोखरा विश्वविद्यालयले अवलोकन गरेपछि मात्र कार्यक्रम दिने हो । उपयुक्त ल्याब नभएमा कार्यक्रम खारेज पनि हुन्छ । हामीसँग ल्याब प्रशस्त छ । आवश्यकता अनुशार हामीले अत्याधुनिक ल्याबसहित सबै भौतिक पूर्वाधारकोे व्यवस्था गरेका छौं । पारिवारिक वातावरणमा पूर्ण प्राविधिक शिक्षाका लागि हामी अग्रणी छौं । प्रसस्त मात्रामा फिल्ड पनि गराइन्छ ।

पोखरा इन्जिनियरिङ कलेजमा नै विद्यार्थी किन भर्ना हुने ?
पोखरा इन्जिनियरिङ कलेज सबै भन्दा पुरानो कलेज हो । हामीसँग अनुभव पनि धेरै छ । राम्रो म्यानपावर मात्र हामी हायर गर्छौ । हाम्रोलाई भन्दा राम्रोलाई प्राथमिकता दिन्छौं । हामीसँग ठाउँ पनि प्रशस्त छ । सिटी एरियामा नै संचालन गरेका छौं । सैद्धान्तिकसँगै प्रयोगात्मक शिक्षणलाई प्राथिमिकता दिन्छौं र व्यवहारिक ज्ञान पनि दिन्छौं । हामी दक्ष जनशक्ति उत्पादन गर्न सफल छौं । हाम्रा विद्यार्थी आफ्नो क्षेत्रमा सफल भएको हामीले पाएका छौं । यहाँ आएर भर्ना भएको विद्यार्थीलाई सफल बनाउने जिम्मेवारी हाम्रो हुन्छ । यहाँबाट अध्ययन पुरा गरेका विद्यार्थीहरु अहिले देश तथा विदेशमा धेरै राम्रो अवसर पाइरहेका छन् । गुणस्तरीय शिक्षाका लागि विद्यार्थीको रोजाईमा पोखरा इन्जिनियरिङ कलेज पर्न सफल छ ।

You might also like

Comments are closed.