पोखरा उद्योग वाणिज्य संघमा अब कसको नेतृत्व ? सर्बसम्मत कि भोटिङ ?

सुरेन्द्र पौडेल
पोखरा । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिको कार्यकाल असोज पहिलो साता सकिदैछ । संघको बर्तमान कार्यसमितिको कार्यकाल सकिन डेढ महिनामात्रै बाँकी छ । चुनावको मिति घोषणा नगरेपनि परिस्थिति सहज भएमा असोज महिनाभित्र संघको ३३औं महाधिवेशन गर्ने तयारीमा बर्तमान कार्यसमिति छ । भदौ पहिलो साता बस्ने संघको कार्यसमिति बैठकले महाधिवेशनको चुनावी तालिका सार्वजनिक गर्ने सम्भावना बढी रहेको बताइएको छ ।

समयमा नै चुनाव हुनसक्ने सम्भावना बलियो रहेकाले संघभित्र चुनावी माहोल बढ्न थालेको छ । संघको अबको नेतृत्व लिन ३ जना आकांक्षीहरु भित्रभित्र लबिङमा व्यस्त छन् । नारायण कोइराला, विन्दु कोइराला सुवेदी र पवन प्रजापतीले खुलेरै अध्यक्षको लागि लबिङ गरिरहेका छन् । बर्तमान कार्यसमितिमा नारायण कोइराला वरिष्ठ उपाध्यक्ष, विन्दु कोइराला सुवेदी उपाध्यक्ष (उद्योग) र पवन प्रजापती उपाध्यक्ष (वाणिज्य) छन् ।

आफू निकटका व्यवसायी र पूर्व अध्यक्षहरुसँग समेत उनीहरुले भेटघाट र छलफललाई तिब्रता दिन सुरु गरिसकेका छन् । तीनै जनाले सर्वसम्मत आफू अध्यक्ष हुनुपर्ने दावीसमेत गरेका छन् । केही पूर्व अध्यक्षहरु र बर्तमान कार्यसमितिका केही पदाधिकारीहरुसमेत सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भनेर लागेपनि निर्वाचनबाटै नेतृत्व चुनिने सम्भाबना बढी देखिन्छ ।

jutta mela

अध्यक्षका आकांक्षी नारायण कोइरालाले अध्यक्ष हुनकै लागि आफू गत महाविधेशनमा वरिष्ठ उपाध्यक्ष बनेर संघमा काम गरेको स्मरण गर्दै आफ्नो विकल्प नरहेको बताउँछन् । ‘अध्यक्ष हुनका लागि तयारी अवस्थामा छु,’ उनले भने, ‘साथीहरु सबै सकारात्मक हुनुहुन्छ । मेरो नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुनेमा म विश्वस्त छु ।’ चुनाव भएपनि प्रतिस्पर्र्धाका लागि आफू तयार रहेको कोइरालाले बताए ।

अर्का आकांक्षी विन्दु कोइराला सुवेदीले संघमा अध्यक्षका लागि आफ्नो दाबेदार स्वभाविक भएको बताउँछिन् । ‘संघमा लामो समय काम गरेको अनुभव छ,’ उनले भनिन्, ‘संघले पहिलो महिला अध्यक्ष पाउने र इतिहास रच्ने अवसर पनि हामीले पाउँदैछौं ।’ चुनाव भएपनि प्रतिस्पर्धाका लागि आफू तयार रहेको उनले बताइन् ।

अध्यक्षका अर्का दाबेदार पवन प्रजापतीले संघको नेतृत्वका लागि आफू लाइनमा रहेको बताउँछन् । ‘म अध्यक्षको लाइनमा छु,’ उनले भने, ‘सकेसम्म सर्वसम्मतको लागि प्रयास पनि भइरहेको छ । भएन भने चुनाव लड्न पनि तयार छु ।’ अध्यक्षका तीनै जना आकांक्षीले भित्रभित्रै राम्रो प्यानल बनाउनका लागि समेत प्रयासरत देखिन्छन् । अध्यक्षका तीनै जना आंकाक्षीले भित्रभित्रै चुनावको तयारी गरेपनि पदाधिकारीका अन्य आकांक्षीहरु भने कुनैपनि अध्यक्षको पक्षमा खुलिसकेका छैनन् । उनीहरु पर्ख र हेरको स्थितिमा छन् ।

You might also like

Comments are closed.