पोखरा, २३ फागुन
१०९ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा पोखरा चेम्बर अफ कमर्सले विभिन्न क्षेत्रका ७ जना महिलालाई सम्मान गरेको छ । सम्मानित महिलाहरुमा पर्यटनमा इन्दिरा बराल, शिक्षा क्षेत्रबाट उमा लामिछाने, सहकारीबाट कमला देवी गीरी, उद्यमशिलता तर्फ राजकुमारी पन्थी, संचारतर्फ नरमाया रसाइली, कलाकारीता तर्फ मिलन शेरचन र यातायातबाट ट्याक्सी चालक विष्ण कुँवर रहेका छन् ।
उनीहरुलाई गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरी चुमानले दोसल्ल र सम्मान पत्रले सम्मानद्धारा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै चुमानले महिला पुरुष भनेर विभाजित मानसिकताबाट नभइ सभ्य र समतामुलक समाजका लागि सबै जुट्नु पर्ने बताए । लैङ्गिक विभेदको अन्त्य गर्न सके सभ्य समाजको निर्माण हुने उनको भनाइ थियो । पछिल्लो समय हरेक क्षेत्रमा महिलाको गर्विलो उपस्थिती रहेको भन्दै उनले सामाजिक, आर्थिक, सांस्कृतिक एवं राजनैतिक सशक्तिकरणबाट अघि बढ्नु पर्ने धारणा राखे ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद प्रभा कोइराला र पुष्पा केसीले महिलाको श्रमलाई अर्थमा रुपान्तरण गर्नुपर्ने बताए । विहान देखि बेलुका सम्म काममा खटिने गृहिणी महिलाको श्रमको मूल्यांकन नहुँदा उनीहरु माथि विभेद भएको उनीहरुको भनाई थियो ।
सम्मानित ब्यत्तित्व इन्दिरा बरालले सम्मानले थप जिम्मेवारी बनाएको बताइन् । कर्मक्षेत्रमा निरन्तर लागिरहँदा प्राप्त सम्मानले थप ऊर्जा मिलेको उनको भनाई थियो । व्यवसायी संस्था चेम्बरअफ कमर्सले सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्दै लैङ्गिक समानताका लागि एकतावद्ध भएर हिंसा विरुद्धको अभियानमा सधै सहकार्य गर्ने चेम्बरका अध्यक्ष किसान सुनारले सुनाए । सोहि अवसरमा गीता तिवारीको संयोजकत्वमा १३ सदस्यीय चेम्बर अफ कर्मस महिला समिति गठन गरिएको छ ।
Comments are closed.