पोखरा–देहरादुन बस सञ्चालन हुने

पोखरा, वैशाख २९

पोखरा–देहरादुन सिधा बस सेवा सञ्चालन हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले पोखरा–देहरादुन बस सेवा सञ्चालन गर्ने भएको हो । भारतीय धार्मिक पर्यटक र नेपाली तीर्थयात्रीलाई लक्षित गर्दै पोखरा–देहरादुन बस सेवा सञ्चालन गर्न लागेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पृथ्वी राजमार्ग बस समिति अन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले हप्तामा एक दिन पोखरा–देहरादुन बस सेवा सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । सुविधासम्पन्न बस पोखराबाट बुधबार पूर्वाह्न साढे ११ बजे छुट्ने र देहरादुनबाट शनिबार छुट्ने मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशबहादुर अधिकारीले जानकारी दिए ।

jutta mela

पोखराबाट झन्डै १३ सय किलोमिटर दुरीको देहरादुनसम्म २४ घण्टामा यात्रुलाई पु¥याउने गरि बस सेवा सञ्चालन गरिने अधिकारीले बताए । यहि शनिबारबाट सेवा सञ्चालनमा आउने उनले जानकारी दिए । उनका अनुसार पहिलो बस देहरादुनबाट शनिबार छुट्नेछ भने पोखराबाट जेठ ८ गते बस छुट्नेछ ।

पोखरा–देहरादुन बस सेवा सञ्चालनले पर्यटनमा सघाउ पुग्ने अपेक्षा गरिएको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले बताए । मोर्डन इरा टुर्स एण्ड ट्राभल्सका अध्यक्ष केशबबहादुर अधिकारीले सिधा बस सञ्चालनले देहरादुन जाने धार्मिक पर्यटक, शिक्षा, स्वास्थ्य र रोजगारीका लागि जानेलाईपनि सहज हुनेछ । धार्मिक पर्यटनको माध्यमबाट भारतको हरिद्वार, ऋषिकेशसहित नेपालको मुक्तिनाथसम्म आउजाउ गर्ने तीर्थयात्रीलाई सहजता थप्नेछ उनको भनाई छ ।

पहिलो चरणमा साताको एकपटक छुट्ने बस सेवा यात्रु बढेको खण्डमा बढाउन सकिने उनले बताए । अहिले ३५ सिट क्षमताका एसी बसबाट सेवा दिन थालेको उनले बताए । एकतर्फी यात्रुको भाडा भारतीय रुपियाँ २७ सय पर्नेछ । भारतको उत्तराखण्ड राज्यको देहरादुनमा झन्डै ५ लाख नेपालभाषी रहेको र धार्मिक पर्यटकको आउजाउमा सहज पुग्ने गरि सेवा बिस्तार गर्न थालेको उनले बताए ।

समितिले जेठ महिनाभित्रै भारतको पटनासम्म पनि पोखरादेखि सिधा बस सेवा संचालनको तयारी गरेको समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । मोर्डन इराले नै एक दशकअघि देखि पोखरा–दिल्ली बस सेवा सञ्चालनमा ल्याएको थियो । हाल पोखरा दिल्ली रुटमा दैनिक २ वटाका दरले संचालन हुने गरेका छन् ।

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल–भारतबीचको सिधा यातायातबाट कामका लागि आउजाउ गर्ने नेपाली युवाले पनि लाभ लिएको बताए । ‘सेवा प्रभावकारी बनाउने हो भने यसले सबैलाई फाइदा हुन्छ,’ अध्यक्ष अधिकारीले भने, ‘पोखरा मात्र नभई आसपासका अन्य सहरले पनि लाभ लिएका छन् ।’

You might also like

Comments are closed.