पोखरा । पोखरा महानगरपालिका अन्तर्गत सञ्चालित व्यवसाय प्रवर्द्धन केन्द्र (बीपीसी) चार वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको छ । उद्यमशीलता तथा व्यवसाय विकासमार्फत समृद्ध पोखरा निर्माण गर्ने उद्देश्यका साथ वि.सं. २०७९ साल भदौ १८ गते स्थापना भएको यस केन्द्रले स्थापना कालदेखि नै स्थानीय उद्यमी, व्यवसायी तथा निजी क्षेत्रलाई सहजीकरण गर्दै आएको छ ।
निजी क्षेत्रसँगको सहकार्य, समन्वय र साझेदारीमा उद्यम तथा व्यवसाय प्रवर्द्धन, विकास र संवर्द्धन गर्दै उत्पादकत्व वृद्धि, सीपयुक्त जनशक्ति विकास र रोजगारी सिर्जनालाई केन्द्रले प्राथमिकताका साथ अघि बढाएको छ । केन्द्रले नवीन सोच र प्रविधिलाई प्रोत्साहन गर्दै स्टार्टअप प्रवद्र्धन, ब्रान्डिङ, प्याकेजिङ तथा डिजिटल मार्केटिङमार्फत बजार पहुँच विस्तारमा सहजीकरण गर्दै आइरहेको छ ।
स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै व्यवसाय प्रवर्द्धन केन्द्रले स्थानीय सरकार र निजी क्षेत्रबीचको सेतुका रूपमा केन्द्रले काम गरिरहेको बताएको छ ।
‘स्थानीय सरकार र निजी क्षेत्रबीचको महत्वपूर्ण सेतु तथा सहजीकरण केन्द्रका रूपमा व्यवसाय प्रवर्द्धन केन्द्रले आगामी दिनमा अझ प्रभावकारी र परिणाममुखी भूमिका निर्वाह गर्दै जानेछ । उद्यमशील, उत्पादनशील र आत्मनिर्भर पोखरा निर्माणको अभियानमा सहकार्य गर्दै ‘समृद्ध पोखरा, उद्यमशील पोखरा’ बनाउन हामी प्रतिबद्ध छौं,’ प्रमुख कार्यकारी अधिकृत नबराज अधिकारीले भने ।

पाँचौँ वर्ष प्रवेशको अवसरमा केन्द्रले आगामी दिनमा पनि बजारको मागअनुसारको सीपयुक्त जनशक्ति उत्पादन, नवप्रवर्तन र लगानी विस्तारमार्फत पोखराको स्थानीय अर्थतन्त्रलाई थप गतिशील, आत्मनिर्भर र समावेशी बनाउन आफ्ना गतिविधिहरूलाई अझ सशक्त रूपमा लैजाने जनाएको छ ।



Comments are closed.