पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, १० पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुने सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेवान पोखराको आयोजनामा २१औं संस्करणको सडक महोत्सव यही पुस १२ देखि १६ गतेसम्म हुँदैछ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लेकसाइडस्थित खुल्ला सडकमा महोत्सव हुनेछ । कोमागाने पार्कमा समेत सांस्कृतिक सहित अन्य गतिविधि हुनेछन् । महोत्सवको अवसरमा अँग्रेजी नयाँ वर्ष २०२० लाई समेत स्वागत गरिने रेवान पोखराका अध्यक्ष भीमसेन भुजेलले बताए ।

भिजिट वर्ष २०२० लाई लक्षित महोत्सवमा पर्यटकीय गतिविधि सञ्चालन गरिने महोत्सव संयोजक लक्ष्मण बरालले बताए । देशका विभिन्न प्रदेशका सांस्कृतिक प्रस्तुति महोत्सवमा प्रदर्शन गरिने सहसंयोजक नरेश भट्टराईले जानकारी दिए । पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न महोत्सव सहयोगी हुने अर्का सहसंयोजक वसन्त गौतमले बताए ।

jutta mela

महोत्सव अवधिभर पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको भिड लाग्ने रेवान पोखराका सचिव विकास भट्टराईले बताए । ‘महोत्सव अवधिभर पोखराका सम्पूर्ण होटलहरु भरिभराउ हुनेछन्,’ उनले भने, ‘नेपालमै पृथक खालको महोत्सव हामीले पोखरामा आयोजना गर्दै आइरहेका छौं । यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’ रेवानले आयोजना गरेपनि समग्र पोखराको प्रतिष्ठासँग महोत्सव जोडिएको उनले बताए ।

महोत्सवमा कास्की तथा आसपासका जिल्लामा उत्पादित बस्तुहरुको प्रदर्शनी गरिनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, पर्यटन खेलकुद, हस्तकला प्रदर्शनी, बालउद्यान, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, लोकदोहोरी, लाइभ कन्सर्ट पनि महोत्सवको आकर्षण बन्ने बताइएको छ । विभिन्न देशका सांस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत हुनेछन् । महोत्सवको तयारीलाई तिब्र बनाइएको बरालले जानकारी दिए ।

You might also like

Comments are closed.