पोखरा सडक महोत्सव ‘भिजिट नेपालको ट्रेलर हो’

लक्ष्मण बराल
संयोजक
२१औं पोखरा सडक महोत्सव

रेवान पोखराको आयोजनामा अँग्रेजी नयाँ वर्षको स्वागतार्थ लेकसाइडमा २१औं सडक महोत्सव हुँदैछ । पुस १२ देखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवका आकर्षण, तयारी लगायत विविध विषयमा केन्द्रित रहेर संयोजक तथा रेवानका प्रथम उपाध्यक्ष लक्ष्मण बरालसँग आर्थिक आवाजले गरेको कुराकानीः

महोत्सवको तयारी कस्तो छ ?

महोत्सवको अन्तिम तयारी भइरहेको छ । स्टेज निर्माणको काम भइरहेको छ । खानाका स्टल निर्माण गर्ने कामहरु भइरहेका छन् । कलाकारहरु छनौट भइसकेका छन् । दिउँसोका लागि लोकदोहोरी कलाकार र हास्य कलाकार तथा रातिका लागि लाइभ व्याण्डहरु ल्याउने तयारी गरेका छौं । प्रचारप्रसारको काम पनि हामीले गरिसकेका छौं । पूर्व धरान, विराटनगरसम्म पुगेर, अनि चितवनदेखि काठमाडौंसम्मै पुगेर पाहुनाहरुलाई निम्तो गरेका छौं । महोत्सव अब समुद्घाटन गर्न मात्र बाँकी छ भन्दापनि फरक नपर्ला । महोत्सवको समुद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गर्दै हुनुहुन्छ ।

महोत्सवको मुख्य आकर्षणहरु के–के हुन् ?

महोत्सवको मुख्य विशेषताहरु भनेको सडकमै खाने, सडकमै रमाउने हो । पोखरामा रहेका स्तरीय होटलहरुको खानाका परिकारहरु सडकमै स्टल राखेर सेवा दिइने भएकाले यसको स्वाद लिन चाहनेहरुका लागि यो एउटा फरक अवसर हो । देशका प्रमुख जातिहरुको जातीय संस्कृति हेर्न पाउने, लोकदोहोरीदेखि हास्य कलाकारहरुको प्रस्तुति अनि रातिमा लाइभ व्याण्डको प्रस्तुतिमा झुम्न पाउनु पनि यसको मुख्य आकर्षण नै हो । महोत्सवको अवसर परेर हामीले भिजिट नेपाल २०२० को प्रदेश स्तरीय शुभारम्भ गर्नेपनि महोत्सवको मुख्य आकर्षणहरु हुन् ।

उसोभए महोत्सवले भिजिट नेपाल २०२० लाई पनि सहयोग पुग्छ ?

हामी भिजिट नेपाल २०२० मनाउँदै छौं । भिजिट नेपाल २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य राखेका छौं । त्यो त्यत्तिकै पूरा हुँदैन । त्यसलाई सफल बनाउन मेला, महोत्सव लगायतका एक्टिभिटजहरु गर्नुपर्छ भने नयाँनयाँ प्रोडक्टहरु भने लञ्चिङ गर्नुपर्छ । त्यसैले नेपालकै ठूलो मध्येको सडक महोत्सवले भिजिट नेपालको सहायक सिद्ध हुन्छ । भिजिट नेपाललाई महोत्सवले स्वागत गर्छ भने यो भिजिट नेपालको ट्रेलरजस्तै हो भने पनि हुन्छ । भिजिट नेपाललाई सफल बनाउन भनेरै हामीले यसपटक देशका प्रमुख सहरहरुमा गएर प्रचार–प्रसार पनि गरेका छौं ।

 

भिजिट नेपालको शुभारम्भ रेवानबाटै हुनेभयो । वर्षभरि नै सफल बनाउन चाहिं रेवानले कस्तो भूमिका खेल्छ ?

भिजिट नेपाल सफल बनाउन पोखरा सडक महोत्सव जस्ता कार्यक्रमहरु वर्ष भरिनै गरिरहनुपर्छ । त्यसका लागि राज्यले पनि नेतृत्व लिएर तालिका बनाएरै कार्यक्रम गर्नुपर्छ । हामी जस्ता संघसंस्थाले पनि सरकारलाई सघाउनुपर्छ । जस्तो हामीले पोखरा सडक महोत्सव सकिएको डेढ दुई महिना भित्रमा ३ दिने खाना महोत्सव पनि गर्दैछौं । अघिल्लो वर्ष यो १ दिनमा सिमित थियो भने यसलाई बढाएर यसपटक ३ दिने बनाउँदैछौं ।

 

संयोजकको नाताले महोत्सवलाई कस्तो बनाउने सपना देख्नु भएको छ ?

हामी २१औं सडक महोत्सव गर्दैछौं । यो बीचमा हामीले प्रत्येक पटक फरक गर्ने प्रयास गरिरहेका छौं । यसपटक पनि हामीले महोत्सवलाई शभ्य र भव्य बनाउन कुनैपनि कसर छाडेका छैनौं । महोत्सवको चार्मिङ घटिरहेको अवस्थामा पोखरा सडक महोत्सवले घट्दो चार्मिङलाई माथि उठाउनेमा हामी ढुक्क छौं । हामीले अघिल्लो वर्ष सहभागी भएको सांस्कृतिक समूहलाई यसपटक सहभागी नगराई नयाँ समूहलाई सहभागी गराउनेछौं । धेरैभन्दा धेरै क्रियाकलाप गर्ने तयारी गरेका छौं । सबैभन्दा महत्वपूर्ण भनेको चाहिं यहि महोत्सवबाट भिजिट नेपाल २०२० को शुभारम्भ गर्ने तथा रत्न मन्दिर सर्वसाधारणका लागि खोल्ने नै महोत्सवको महत्वपूर्ण पाटो हो ।

महोत्सव भव्य र शभ्य रुपमा सफल बनाउन पोखरेलीलाई के आग्रह गर्नुहुन्छ ?

महोत्सव सम्पूर्ण पोखरेलीको हो । रेवान त आयोजक मात्र हो । २०औं संस्करणसम्मको महोत्सवमा सबैको सहयोग मिलेकाले नै सफल भएको हो । यो २१औं सडक महोत्सव सफल बनाउन सम्पूर्ण पोखरेलीको सकारात्मक सोंचसहित सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

You might also like

Comments are closed.